Logo
|
Saturday 28th September 2024
Logo

epaper

आज साउने सक्रान्ति: साँझ घर घरमा लुतो फाल्ने प्रचलन

वास्तवमा लुतो के हो ? रातको समयमा यो किन आक्रमक हुन्छ ? उपचार र रोकथामबारे छाला रोग विशेषज्ञको सुझाव



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज साउने सक्रान्ति अर्थात लुतो फाल्ने दिन । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ । .

महिलाहरुले साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउने र शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको महत्व रहेको ग्रन्थहरुमा उल्लेख छ । साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनाभर शिवालयमा दर्शनार्थीको अत्यधिक भीड हुने गर्छ ।

हाम्रो देश कृषि प्रधान भएकाले नेपालको प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ ।

परम्पराअनुसार भलायो, कुकुरडाइनो, लुतेझार, कागती, निबुवा, अम्बा, अनार, नसपाती लगायतका फलफूलसहित राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने प्रचलन छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।

असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दादलगायतका छालसम्बन्धि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ । वास्तवमा लुतो के हो ? यसबारे जानकारी गराउने कोशिस गरेका छौं ।

यो रोग प्रायः गर्मी महिनामा शरीरमा सरसफाइको कमीले आउने गर्छ । लुतो ‘सार्कोप्टिस स्क्याबी’ जीवाणुले ल्याउँछ । वरिष्ठ छाला रोग विशेषज्ञ डा. सबिना भट्टराइका अनुसार, यदि शरीर फोहोर भएमा लुतोका किटाणु शरीरभित्र छिर्छन् ।

लुतोका किटाणुले रातिको समयमा रगत चुस्ने भएकाले लुतो राति बढी चिलाउँछ । यो रोगका किटाणुले कमलो र न्यानो भागमा गएर रगत चुस्न मन पराउँछन् ।

यसले नरम छालालाई बढी संक्रमित गर्छ । यो सरुवा रोग हो । यसरी लुतो संक्रमण हुन एक महिना लाग्छ ।

लुतो कसरी चिन्ने ?

एलर्जी, जुम्रा एवं किराले टोकेको भन्दा लुतो अलि फरक हुन्छ । शरीर न्यानो भएको बेलामा लुतो चिलाउँछ । कहिलेकाहीँ कन्याउँदा–कन्याउँदै घाउ भएर पाक्न सक्छ । लुतो नरम छाला भएको ठाउँमा आउँछ । लुतो पनि भिन्न–भिन्न प्रकारका हुन्छन्। यो पसिना धेरै आउने ठाउँमा बढी आउँछ। सरुवा रोग भएकाले एक पटक हामीले चिलाएर त्यही हातले अर्को ठाउँमा चिलाउँदा लुतो सर्ने डा. भट्टराई बताउनुहुन्छ ।

उपचार विधि

डा. भट्टराइका अनुसार, लुतोको उपचार सम्भव छ । लुतोको किटाणु एकदेखि दुई दिनसम्ममा मर्छन् । लुतो लागेको मानिसले लगाएको लुगा राम्रोसँग धोएर घाममा सुकाउनुपर्छ । यसबाट लुतो निख्रिनसक्छ ।

चिकिस्सकको सल्लाह बमोजिन लुतोको उपचार गर्नुपर्छ र यो निको हुन्छ । यसका साथै सरसफाइमा ध्यान दिन जरुरी छ ।

लुतो लाग्न नदिन के गर्ने ?

लुतो आउन नदिन सरसफाइमा ध्यान दिन जरुरी छ । लुतो आएको व्यक्तिले राम्रोसँग नुहाएर चिकित्सकको सल्लाह बमोजिन औषधि सेवन गरी सफा लुगा लगाएमा रोग निको हुने डा. भट्टराइ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्