Logo
|
Saturday 28th September 2024
Logo

epaper

तीन वर्षमा यसपाली क्यान्सर वेडमा जन्मदिनः आफ्ना बिरामीको जन्मदिनमा डा. अरुणको खुशीयाली

६३ वर्षीया आमा रमाले आँखाभरी आँशु बनाएर भक्कादिँदै भन्नुभयो—‘मेरो छोराको उपचार सफल होस् । छोराको काखमा मर्न पाऊँ’ ।



नेपाल हेल्थ न्युज काठमाडौं । साउनको अन्तिम दिन थियो । साँझ करिब ६ बजेतिर क्यान्सर विशेषज्ञ डा. अरुण शाहीलाई भेट्न यो स्तम्भकार नर्भिक हस्पिटल पुगेको थियो । उहाँले ओपिडीका बिरामी जाँच गरिसकेर दुईजना मेडिकल रिप्रिजेन्टेटिभ (एमआर) लाई क्यान्सरको इभिडेन्स बेस प्राक्टिसका बारेमा बताइरहनुभएको थियो ।

संजितको जन्मदिनमा डा. अरुण शाही

एकछिनपछि चिया पिउन हामी बाहिर निस्कियौं । तर डाक्टरसँग अर्जेन्ट काम भएकाले चिया पिउन क्यान्टिन छिरेनौं । एमआरलाई बिदा गरेर पुनः डा. अरुण र म उहाँको चेम्बरमा फर्कियौं ।

डा. अरुणसँगको एकछिनको भलाकुसारी पछि करिब ६.४५ बजेतिर तेस्रो तलामा भर्ना भएका एकजना क्यान्सरका बिरामीको जन्मदिन मनाउने निम्तो आयो । डा. अरुणको आग्रहमा म पनि गएँ । ललितपुर महानगरपालिका सुनाकोठी २७ का संजित थापाको जन्म दिन रहेछ । उहाँ ४४ वर्ष पुग्नुभएछ । उहाँ अस्पताल भर्ना भएर ठूलो आन्द्राको कोलोन क्यान्सरको उपचार गरिरहनुभएको छ ।

जन्मदिनमा आमा रमा थापा, श्रीमती सुनि थापा, कान्छो छोरा लाभांश थापालगायत एकदुइजना अन्य आफन्तको पनि उपस्थिति देखेँ । केक तयारी अवस्थामा राखिएको थियो । डा. अरुण पुगेपछि केक काटियो । डा. अरुण निकै ह्याप्पी देखिनुहुन्थ्यो । शुभकामना आदानप्रदान भयो । हामीले क्यान्सर विशेष अंकको २ वटा जनस्वास्थ्य सरोकार मासिक पत्रिका उपहार दियौं ।
यसपाली साउन ३२ को महिना परेकाले संजित थापाले ३ वर्षपछि मात्र जन्मदिन मनाउन पाउनुभएको थियो । प्रायः ३२ गते जन्मनेहरुले जन्मदिन दिन मनाउन वर्षौं पनि कुर्नुपर्छ ।


संजितका आमा, श्रीमती र २ वटा छोरा छन् ।

बिरामी छोरालाई जन्मदिनमा के आशिर्वाद दिनुहुन्छ भन्ने प्रश्नमा ६३ वर्षीया आमा रमाले आँखाभरी आँशु बनाएर भक्कादिँदै भन्नुभयो—‘मेरो छोराको उपचार सफल होस् । छोराको काखमा मर्न पाऊँ’ ।


श्रीमती सुनीले भन्नुभयो— ‘जानकारी गराएर रोग आउने रहेनछ । जे जस्तो समस्या आउँछ, त्यसको अगाडि हामीले लड्दै जानुपर्छ । समस्यामा आत्तिएर मनोबल गिराउन हुँदैन । जीवन एउटा संघर्ष हो पलपलमा इन्ज्वाई गर्नुपर्छ र पलपलमा बाँच्नुपर्छ ।’
बाबाको जन्मदिनमा के शुभकामना दिन्छौ भनेर छोरा लाभांशलाई पनि सोधेका थियौं । उहाँले भन्नुभयो—‘बाबाको मनोबल उच्च छ । बाबाले क्यान्सरलाई ढाल्नसक्नुहुन्छ । क्यान्सर रोएर जान्छ ।’


उनी धापाखेलको रिजेन्ट रेसिडेन्टल स्कुलमा कक्षा १० मा अध्ययन गर्छन् ।


डा. अरुण भन्नुहुन्छ—‘अहिले संजितको कोलोन क्यान्सर तेस्रो चरणमा छ । उहाँको शल्यक्रिया राम्रो भएको छ । क्योर हुन्छ । अब १२ पटक किमो लगाउनुपर्छ । त्यसपछि यो निर्मुल हुन्छ । यसले ज्यान लिँदैन र आत्तिन पर्दैन ।’


यो रोग करिब ६० वर्ष भन्दा माथिकालाई हुने गर्छ । यो उमेरमा उहाँलाई हुनु व्याड लक भएको डा. अरुणले बताउनुभयो ।

कोलोन क्यान्सरको संकेत
डा. अरुणका अनुसार, ठूलो आन्द्राको क्यान्सरमा ज्वरो आउने समस्या त हँुदैन । तर ढाड दुख्ने, दिसा कब्जियत हुने, पातलो दिसा आउने, पेट दुख्ने, वजन घट्दै जाने हुनसक्छ । पहिला उहाँलाई पनि त्यस्तै भएको थियो होला । ख्याल नगरिएको हुनसक्छ ।

संजितलाई २ महिनाअघि १०४ डिग्री ज्वरो आएको थियो । सिटामोल खाँदा पनि ज्वरो घटेन । ढाड पनि दुखेको थियो । नेपाल मेडिसिटीमा ३ दिन भर्ना हुनुभयो । त्यसको एक महिनापछि कोलोनोस्कोपी गर्दा ठूलो आन्द्राको कोलोन क्यान्सर पहिचान भयो । अहिले करिब अढाई महिनादेखि नर्भिकमा डा. अरुणसँग उपचार गराइरहनुभएको छ । अहिले आफूलाई पनि निकै कम्फर्टेवल भइरहेको संजितले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्