Logo
|
Thursday 26th December 2024
Logo

epaper

भयावह सडक दुर्घटना: नेपालमा बार्षिक ७ हजारले ज्यान गुमाउने



सडक दुर्घटनाबाट विश्वमा हरेक वर्ष लगभग ११ लाख ९० हजार मानिसको जीवन समाप्त भइरहेको छ । वर्षेनी २ देखि ५ करोड व्यक्ति सडक दुर्घटनाको घातक चोटबाट ग्रस्त छन् । धेरैलाई अपाङ्गता बनाएको छ । सडक ट्राफिक दुर्घटनाले व्यक्ति, परिवार र सिंगो राष्ट्रलाई आर्थिक क्षति त पुर्याइरहेको छ । साथै अधिकांश देशहरूलाई कुल गार्हस्थ उत्पादनको ३% आर्थिक भार पनि बढाइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदासडक दुर्घटनाका कारण वर्षेनी देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसङ्ख्या गुमाइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा कति व्यक्तिको दुर्घटनाबाट मृत्यु हुन्छ र कति अपाङ्ग हुन्छन् भन्ने कुनै आधिकारिक तथ्याङ्क छैन । तर अस्पतालमा बिरामीको संख्या भने उल्लेख्य छ ।

सडक दुर्घटनामा हातखुट्टा, टाउकाको चोट, पेल्भिक इन्जुरी, लिम्ब फ्र्याक्सनलगायतका धेरै चोट लाग्ने गरेको पाइन्छ । टाउकाको चोट खतरनाक मानिन्छ । तत्काल शल्यक्रिया गर्न नसक्दा टाउकोका चोट लागेका बिरामीहरु ज्यान गुमाउन पुग्छन् । शल्यक्रिया समयमै भए पनि शारीरिक अपाङ्गतामा बाँच्न पुगेका बिरामीहरु पनि निकै छन् ।

अत्यधिक गति, सडकको दूरावस्था, सडक बत्तीको नराम्रो अवस्था, बाटो काट्ने गलत तरिका, गति रोक्ने गलत ठाउँ, गाडीको मर्मत नगर्नु, सडक चिन्हहरुको हेलचेक्र्याईं, थकाई, मद्यपान, मानिस र जनावरको असाधारण व्यवहार दुर्घटनाका कारण अन्तर्गत पर्छन् । सबै उमेरका व्यक्तिहरुमा सवारी साधनको चोटपटक गम्भीर र मृत्युजन्य हुनसक्छन् ।

संयुक्त राष्ट्रसंघीय प्रतिवेदनहरूले नेपालमा सवारी दुर्घटनाका कारण वर्षमा न्यूनतम ३ हजार ९२८ जनाको ज्यान जाने गरेको देखाएको छ । बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड र अमेरिकाको वासिङ्टन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको ‘नेपालमा चोटपटक भार’ सम्बन्धी अध्ययनले यातायात दुर्घटनाबाट वर्षमा औसत ७ हजारले ज्यान गुमाउने गरेको तथ्य देखाएको छ । अनुसन्धानकर्ताहरूले नेपालको सडक दुर्घटना सम्बन्धी तथ्याङ्क इन्ष्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन (आईएचएमई) बाट लिएका थिए ।

आईएचएमईले नेपालको स्वास्थ्य मन्त्रालयका साथै अन्य सरकारी तथा गैरसरकारी निकायबाट लिएको तथ्याङ्कलाई तथ्याङ्कशास्त्रको माध्यमबाट विश्लेषण गरेर राख्ने गरेको छ । २३ पुस २०७६ मा ब्रिटिश मेडिकल जर्नल (बीएमजे) मा प्रकाशित उक्त अध्ययन प्रतिवेदन अनुसार, यातायात सम्बन्धी दुर्घटनाका कारण नेपालमा वार्षिक मृत्यु हुनेको संख्या न्यूनतम ४ हजार ४८० र अधिकतम ११ हजार २१४ छ ।

आईएचएमईको प्रतिवेदनले नेपालमा सबै खालको दुर्घटनामा परेकामध्ये ४० वर्षभन्दा कम उमेरका ७० प्रतिशत शारीरिक रूपमा अशक्त हुने देखाएको छ । सन् २०१३ मा इन्टरनेशनल जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित सडक दुर्घटनाले पु¥याएको आर्थिक भार सम्बन्धी अध्ययन प्रतिवेदनले सडक दुर्घटनाका कारण वार्षिक रूपमा नेपालको कुल गार्हस्थ्य उत्पादनको ६.३० प्रतिशत रकम क्षति हुने गरेको देखाएको छ ।

यति संवेदनशील विषय हुँदाहुँदै सडक सुरक्षा र दुर्घटना न्यूनीकरण राज्यका निकायको प्राथमिकतामा परेको छैन । तालुकवाला निकाय नै सडक सुरक्षामा गैरजिम्मेवार देखिने गरेका छन् ।

स्वीडेनले सडक दुर्घटनाबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्यसहित ‘भिजन जीरो’ ऐन पारित गरिसकेको छ भने अष्ट्रेलियाले ‘टुवार्डस् भिजन जिरो’ ऐन पारित गरेको छ । बेल्जियम सरकारले छुट्टै इन्ष्टिच्यूट नै बनाएर नागरिकलाई सडक सुरक्षाबारे सिकाउँदै आएको छ । अन्य युरोपेली मुलुकहरूले प्राथमिक तहबाटै विद्यालयको पाठ्यक्रममा सडक सुरक्षाको विषय समेटेका छन् । नेपालमा पनि सडक सुरक्षाबारे पाठ्यक्रममै राखेर तथा नियमित अभियान चलाएर शिक्षा दिनुपर्ने सरोकारवालाहरुको भनाइ रहेको छ ।

  • सडक दुर्घटनाका कारण हरेक वर्ष करिब ११ लाख ९० हजार मानिसको मृत्यु हुने गरेको छ ।
  • ५–२९ वर्षका बालबालिका र युवाहरूको मृत्युको प्रमुख कारण सडक दुर्घटनाबाट हुने चोट हो ।
  • विश्वको सडकमा हुने मृत्युमध्ये ९२% कम र मध्यम आय भएका देशहरूमा हुने गर्छ । यद्यपि यी देशहरूमा विश्वका ६०% सवारी साधन रहेका छन् ।
  • सडक दुर्घटनामा हुने मृत्युमध्ये आधाभन्दा बढी पैदलयात्री, साइकल चालक र मोटरसाइकल चालकहरू पर्दछन् ।
  • सडक ट्राफिक दुर्घटनाले अधिकांश देशहरूलाई कुल गार्हस्थ उत्पादनको ३% आर्थिक भार बढाइरहेको छ ।
  • संयुक्त राष्ट्र संघको महासभाले सन् २०३० सम्ममा हरेक देशमा सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको विश्वव्यापी संख्या आधा घटाउने महत्वाकांक्षी लक्ष्य राखेको छ ।

श्रोतः विश्व स्वास्थ्य संगठन

जोखिममा को छन् ?
विश्व स्वास्थ्य संगठनका अनुसार, सडक दुर्घटनाबाट हुने मृत्युमध्ये ९० प्रतिशतभन्दा बढी कम र मध्यम आय भएका देशहरूमा हुने गर्दछ । सडक दुर्घटनाबाट हुने मृत्यु दर अफ्रिकी क्षेत्रमा सबैभन्दा बढी र युरोपेली क्षेत्रमा सबैभन्दा कम रहेको छ । ५—२९ वर्ष उमेर समूहका बालबालिका र युवाहरूको मृत्युको प्रमुख कारण सडक दुर्घटनाबाट हुने चोट मानिएको छ ।

सडक दुर्घटनामा हुने मृत्युमध्ये दुई तिहाइ काम गर्ने उमेर समूह १८–५९ वर्ष उमेर समूहमा पर्दछन् । सडक दुर्घटनामा महिलाको तुलनामा पुरूषको मृत्यु हुने सम्भावना ३ गुणा बढी रहेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।

जोखिम कारक
यातायात प्रणाली प्रयोगकर्ताहरूको आवश्यकता प्रति उत्तरदायी र मानवीय त्रुटिहरू क्षमा गर्ने हुनुपर्छ । सडक सुरक्षित प्रणाली दृष्टिकोणले सबै सडक प्रयोगकर्ताहरूको लागि सुरक्षित यातायात प्रणाली सुनिश्चित गर्ने लक्ष्य राख्छ । यो दृष्टिकोणले गम्भीर चोटपटक लाग्ने मानिसहरूको जोखिमलाई ध्यानमा राखिएको हुन्छ र यो प्रणाली मानवीय त्रुटिलाई समायोजन गर्न डिजाइन गरिएको हुनुपर्छ । यस दृष्टिकोणको आधारशिलाहरू सुरक्षित सडक र सडक किनारा, सुरक्षित गति, सुरक्षित सवारी साधन, सुरक्षित सडक प्रयोगकर्ताहरू भएको विश्व स्वास्थ्य संगठनको ठम्याएको छ ।

तीब्र गति
सवारीको औसत गतिमा हुने गरेको बृद्धि दुर्घटना र दुर्घटनाको गम्भीरता दुवैसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । उदाहरणका लागि, औसत गतिमा प्रत्येक १% बृद्धिले घातक दुर्घटना जोखिममा ४% वृद्धि र गम्भीर दुर्घटना जोखिममा ३% वृद्धि हुने विश्व संगठनले जनाएको छ ।

रक्सी र अन्य साइकोएक्टिभ पदार्थको प्रयोग
रक्सी र कुनै पनि साइकोएक्टिभ पदार्थ वा ड्रग्स प्रयोग गरेर ड्राइभिङ गर्दा दुर्घटनाको जोखिम बढ्छ । यसबाट मृत्यु वा गम्भीर चोटपटक लाग्ने संभावना अत्यधिक हुन्छ ।

हेल्मेट, सिट बेल्ट प्रयोग
विश्व स्वास्थ्य संगठनले भनेको छ—‘सही हेल्मेट प्रयोगले दुर्घटनामा मृत्युको जोखिम ६ गुणा कम र मस्तिष्कमा चोटपटक लाग्ने जोखिम ७४% सम्म कम गर्न सक्छ । सिट–बेल्ट लगाउनाले सवारी साधनमा सवार व्यक्तिको मृत्युको जोखिम ५०% सम्म घटाउन सक्छ ।

विचलित ड्राइभिङ
सडक सुरक्षामा मोबाइल फोनको प्रयोग बढ्दो चिन्ताको विषय बनेको छ । सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने चालकको तुलनामा मोबाइल फोन प्रयोग गर्ने चालकहरू दुर्घटनामा पर्ने सम्भावना लगभग ४ गुणा बढी हुन्छ । ड्राइभिङ गर्दा मोवाइल फोनको प्रयोगले ब्रेक लगाउन, ट्राफिक संकेतहरू पालना गर्न, सवारीलाई लेन र कम गतिमा राख्न गाह्रो बनाउँछ । टेक्स्ट म्यासेज गर्दा दुर्घटनाको जोखिम बढ्छ ।

असुरक्षित सडक पूर्वाधार
सडकको डिजाइनले पनि सवारी सुरक्षामा ठूलो प्रभाव पार्छ । सबै सडक प्रयोगकर्ताहरूको सुरक्षालाई ध्यानमा राखेर सडकहरू डिजाइन गर्नुपर्छ । यसको अर्थ पैदलयात्री, साइकल यात्री र मोटरसाइकल चालकका लागि पर्याप्त सुविधा उपलब्ध गराउनु हो । फुटपाथ, साइकल लेनहरू, सुरक्षित क्रसिङ बिन्दु र अन्य ट्राफिक नियमहरुले चोटपटकको जोखिम कम गर्न महत्वपूर्ण हुन भूमिका निर्वाह गर्छ ।

असुरक्षित सवारी साधन
दुर्घटनाबाट बच्न र गम्भीर चोटपटक लाग्ने सम्भावना कम गर्न सुरक्षित सवारी साधनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सवारी सुरक्षामा संयुक्त राष्ट्र संघका धेरै नियमहरू छन् जुन उत्पादन मापदण्डहरू सम्बन्धित देशहरुले लागू गरेमा सम्भावित धेरैको जीवन बचाउन मद्धत गर्नेछ । यसमा इलेक्ट्रोनिक स्थिरता नियन्त्रण (ओभर–स्टेरिङ् रोक्ने) समावेश गर्न र सबै सवारी साधनहरूमा एयरब्याग र सिट–बेल्टहरू जडान गरिएको सुनिश्चित गर्न उल्लेख छ ।

दुर्घटनापछि अपर्याप्त हेरचाह
सडक दुर्घटनामा संलग्न व्यक्तिहरूको पहिचान र हेरचाहमा हुने ढिलाइले चोटपटकको गम्भीरता बढाउँछ । दुर्घटना पछिको समय अत्यन्तै संवेदनशील हुन्छ । मिनेटको ढिलाइले पनि जीवन र मृत्यु बीचको भिन्नता बनाउन सक्छ । दुर्घटना पछि समयमै अस्पतालमा हेरचाहको पहुँच सुनिश्चित गर्न आवश्यक छ । यसका लागि अस्पतालको गुणस्तर सुधार र विशेषज्ञ प्रशिक्षण कार्यक्रमहरुको भूमिका महत्वपूर्ण हुन्छ ।

ट्राफिक कानूनको अपर्याप्त कार्यान्वयन
यदि मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सिट बेल्ट लगाउने, गतिको सीमा, हेल्मेट र बालबालिकालाई निषेध गर्ने ट्राफिक नियमहरू लागू गरिएन भने सडक सवारी मृत्यू र चोटपटकमा अपेक्षित कमी ल्याउन सकिदैन ।

रोकथाम
संगठनका अनुसार, समग्र रूपमा सरकारले सडक सुरक्षालाई सम्बोधन गर्न पहल गर्नुपर्छ । यसका लागि यातायात, प्रहरी, निजी क्षेत्र र नागरिक समाज संगठनहरूको संलग्नता आवश्यक छ । सडक, सवारी साधन र सबै सडक प्रयोगकर्ताहरूको सुरक्षालाई सम्बोधन गर्ने कार्यहरू आवश्यक छ । साथै स्वास्थ्य र शिक्षाले महत्वपूर्ण भूमिका खेल्छ ।

सुरक्षित पूर्वाधार डिजाइन गर्ने, सडक सुरक्षाका लागि भूमि–उपयोग यातायात योजनामा समावेश गर्ने, सवारी साधनहरूको सुरक्षा सुविधाहरू सुधार गर्न सकिन्छ । यसका साथै सडक ट्राफिक दुर्घटनाका पीडितहरूको लागि दुर्घटना पछि हेरचाह बढाउने, प्रमुख जोखिमहरू सम्बन्धी कानूनहरू तोक्ने र लागू गर्ने, र जनचेतना जगाउन जरूरी छ ।

संयुक्त राष्ट्र संघको सडक सुरक्षा २०२१–२०३० योजनाका लागि डब्लुएचओले सचिवालयको रूपमा काम गर्दछ जसले २०३० सम्ममा सडक दुर्घटनाबाट हुने मृत्यु र चोटपटकलाई कम्तीमा ५०% घटाउने लक्ष्य राखेको छ । यसमा राष्ट्रिय सडक सुरक्षा निकायका प्रमुखहरूको विश्वव्यापी सञ्जाल बोलाउने एवं प्राविधिक सहायता प्रदान गर्न विश्वव्यापी स्थिति रिपोर्टहरू उत्पादन गर्दै जाने लगायतका विषय समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्