Logo
|
Tuesday 11th March 2025
Logo

epaper

विश्व फिजियोथेरापी दिवस २०२४ः ‘एक तिहाई समस्या फिजियोबाट निको’



नेपाल हेल्थ न्युज, काठमाडौँ । आज विश्व फिजियोथेरापी दिवस । विश्वभर फिजियोथेरापीको महत्व उजागर गर्न र स्वास्थ्य सेवामा फिजियोथेरापिस्टहरूको योगदानलाई सम्मान गर्ने उदेश्यले हरेक बर्षको सेप्टेम्बर ८ तारिखका दिन यो दिवस मनाइन्छ ।

यसवर्षको विश्व फिजियोथेरापी दिवसको थीम ‘व्यायाम र ढाडको तल्लो भागको दुखाइ’ तय गरिएको छ । सन् १८१३ मा स्वीस जिम्न्यास्ट हेनरिक लिगं ले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेर यसको सुरुवात गरेका थिए ।

फिजियोथेरापी सेवा प्रायः सबै खालका रोग, बच्चादेखि बृद्धबृद्धालगायत सबै उमेर समूहका व्यक्तिलाई जरुरी हुने कन्सल्ट्यान्ट फिजियोथेरापिष्ट डा. उषा गुरुङ बताउनुहुन्छ ।

उहाँका अुनसार खेलकुदमा लाग्ने चोटपटक, दुर्घटना पश्चात्को समस्या, जटिल दुखाई, हाडजोर्नी, डिस्क, स्पाइन, नशा, न्युरो, मुटुलगायत धेरै समस्यामा यसको आवश्यकता पर्छ । कसैकसैमा भिटामिन डी, बी १२ कमी भएमा समस्या आउनसक्छ । त्यस्तै थाइराइडले पनि समस्या गर्न सक्छ । साथै प्यारालाइसिस, नशा च्यापिएको, विभिन्न जोर्नीको दुखाई, मुख बाँगिएको, मुटुको शल्यक्रिया गरेपछि पनि फिजियोथेरापीको जरुरत पर्नसक्छ ।

कन्सल्ट्यान्ट फिजियोथेरापिष्ट डा. उषा गुरुङ


‘स्पाइन, नशा, डिस्क आदिकोे शल्यक्रियापश्चात् सामान्य जीवनमा फर्कन, मांशपेशीलाई मजबुद गराउन र विकृति सुधारका लागि फिजियोथेरापी गर्नुपर्छ ।’ उहाँले भन्नुभयो–‘मस्तिष्कघात भएर पूर्ण रुपमा प्यारालाइसिस भई ओछ्यानमा रहेका बिरामीलाई उठाउन, सोसाइटीमा पुनः स्थापित गराउन, क्षमता बढाउन फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले सबैभन्दा पहिला समस्याको जड पहिचान हुनुपर्छ ।’

कन्सल्ट्यान्ट फिजियोथेरापिष्ट डा. गुरुङका अनुसार शल्यक्रिया गर्नुपूर्व र शल्यक्रिया पश्चात् बिरामीको अवस्था हेरेर फिजियोथेरापी गरिने छ । प्रायः ८० देखि ८५ प्रतिशत घटनाहरु बिना सर्जरी फिजियोथेरापीबाटै निको हुने गर्छन् । फिजियोथेरापीमा एक्सरसाइज, म्यानुल थेरापी, इलेक्ट्रो थेरापी, हाइड्रा थेरापी प्रयोग हुने गर्छ ।

फिजियोथेरापीमा मसल स्टुमुलेटर, टेन्स, आईएफटी, ट्रयाक्सन, अल्ट्रासोनिकलगायत विद्युतीय मेशिनहरुको प्रयोग हुन्छन् । एक्सरसाइजका लागि उपयोग हुने सामान थेरा ब्यान्ड, स्विस् बल, पुल्ली, सोल्ठर ह्विल, फिङ्गर ग्रिपर आदि हुन् । यी मेशिनहरुले दुखाई कम गराउने, मांशपेसीहरु खुम्चेको खुलाउने, सुन्नेको कम गराउने, रक्त सञ्चार राम्रो गराउने, नशा तन्काउने, नचलेको र कमजोर मांशपेशीलाई चलाउने र बलियो गराउँछन् ।

प्रतिक्रिया दिनुहोस्