Logo
|
Saturday 12th October 2024
Logo

epaper

स्वास्थ सेवामा आम पहुँचका लागि सुदृढ स्वास्थ प्रणाली कस्तो हुनुपर्छ ?



स्वास्थ सेवामा पहुँच भन्नाले स्वास्थ सेवाको उपभोग कतिजनाले कसरी गरिरहेको छ अर्थात पहुँचले उपभोगसंग सम्बन्ध राख्दछ । नेपालको संविधानमा स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गर्दै आम जनताको पहुँच सम्बन्धमा मुख्य दुईवटा स्पष्ट व्यवस्था गरेको छ । पहिलो, कसैलाई पनि आस्कमिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन । दोस्रो, प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने छ भनी उल्लेख गरेको भए पनि व्यवहारमा उतार्न सकेको देखिँदैन ।

नेपालमा एक लाख जीवित शिशुको जन्म हुँदा १५१ आमाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । कहिलेकाहीँ कतिपय ठाउँमा सिटामोलको पनि हाहाकार भएका सुन्ने गरेका छौं । स्वास्थ सेवामा पहुँचका लागि स्वास्थ प्रणाली, जनताको आम्दानी र स्वास्थ सेवाप्रतिको सचेतना जस्ता कुराले प्रभाव पारिरहेको हुन्छ ।

स्वास्थ प्रणाली भन्नाले स्वास्थ्य सेवा प्रदान गर्नका लागि केन्द्रदेखि वडासम्म रहेको स्वास्थ प्रदायक संस्थासाथै स्वास्थ मन्त्रालय अन्तर्गत विभिन्न विभाग डिभिजन समेतलाई बुझ्न सकिन्छ ।

यहाँ स्वास्थ प्रणालीको कुरा गर्दा आम जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने स्वास्थ सेवा प्रदायक संस्थाहरुको मात्र कुरा गर्न खोजिएको छ । हामी कहाँ केन्द्रिय र संघीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य उपचार केन्द्र अर्थात माथिदेखि तलसम्म रहेका स्वास्थ सेवा प्रदायक संस्था स्वास्थ प्रणाली भित्र पर्ने गर्दछ ।

नेपालको स्वास्थ प्रणालीलाई दक्षिण एशियामा नै राम्रो स्वास्थ प्रणाली मानेको छ । स्वास्थ प्रणाली मात्र राम्रो भएर हुँदैन सवल प्रणाली हुन चाहिने आवश्यक कुराहरू बिना प्रणाली स्वंमले राम्रो नतिजा दिन सक्दैन । हाम्रो स्वास्थ प्रणाली मानव अस्थिपञ्जर जस्तो छ । अस्थिपञ्जरले मानव शरीरको चित्र वा बनोटलाई राम्ररी चित्रण गरेपनि अस्तिपञ्जर स्वंम आफैले केही गर्न सक्दैन ।
स्वास्थ प्रणालीभित्र रहेका स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले राम्ररी सेवा दिन आवश्यक भौतिक संरचना, जनशक्ति र मेशिन औजार उपकरण अत्यावश्यक पर्दछ । सरसर्ती हेर्दा कुनै ठाउँमा भौतिक संरचना छ भने जनशक्ति छैन, कुनै ठाउँमा जनशक्ति छ भने मेशिन औजार उपकरण छैन, कुनै ठाउँमा त आवश्यक संरचना नै छैन । यस्तो अवस्थामा स्वास्थ सेवा प्रदायक संस्थाहरुलाई गाली गरेर के नै उपलब्धि हुन्छ । पहिले त स्वास्थ प्रणालीलाई नै सवल बनाउनु पर्ने देखिन्छ ।

स्वास्थ प्रणाली सवल नहुनाका धेरै कारण भएता पनि बजेटक अभावको कारण नै महत्वपूर्ण कारण रहेको देखिन्छ । विश्व स्वास्थ संगठनले १०.५ प्रतिशत बजेट स्वास्थ सेवामा विनियोजन हुनुपर्दछ भनें पनि नेपालमा आ.ब. ०८१/८२ मा कुल बजेटको ४.६४ प्रतिशत बजेट मात्र स्वास्थ क्षेत्रका लागि छुट्याएको छ । हामीले स्वास्थ्य प्रणालीको कुरा गर्दा यस प्रणाली अन्तर्गत के कति स्वास्थ सेवा प्रदायक संस्था रहेका छन् त्यसबारे पनि उल्लेख गर्नुपर्ने हुन्छ ।

आर्थिक वर्ष २०७०/८० मा जम्मा १७ हजार २१४ स्वास्थ सेवा प्रदायक संस्था रहेको पाइन्छ । जसमध्ये २१५ अस्पताल, १८७ प्राथमिक स्वास्थ्य उपचार केन्द्र, ३ हजार ७७८ हल्थपोस्ट, ७ हजार ५८२ आधारभूत स्वास्थ्य सेवा केन्द्र, २४६अस्पताल (५–१५शैया ), ३३३ अस्पताल (२५–५०शैया),७० अस्पताल (१००–३०००) शैया) ,२८ विशिष्टीकृत अस्पताल (१०० सो भन्दा माथि) २२ सुपरस्पेसलियालीटी अस्पताल, २० एकेडेमी र शिक्षण अस्पताल,२ हजार ५५१ नन् पब्लिक फेसीलीटीज र २ हजार १६४ अन्य स्वास्थ प्रदायक संस्था रहेका छन् । प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी बागमतीमा ५ हजार २१४ र सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५ रहेको छ । प्राथमिक स्वास्थ उपचार केन्द्रको अवस्था हेर्दा ४० बागमती, ३३ कोशी, ३२ मधेश, २० लुम्बिनी, २५ गण्डकी, १५ सुदुर पश्चिम र १३ कर्णालीमा रहेको छ ।

कर्णाली जस्तो विकट ठाउँमा १३ वटा मात्र प्राथमिक स्वास्थ उपचार केन्द्र हुनु दुःखदायी विषय हो । स्वास्थ प्रणाली अन्तर्गत यतिका स्वास्थ प्रदायक संस्था हुँदा हुँदै पनि आर्थिक पक्षबाट हेर्दा सरकारीमा भन्दा निजीमा पैसा बढी गईरहेको देखिन्छ । पारिवारिक कुल आम्दानीको ११.८५ प्रतिशत खर्च स्वास्थ सेवा किन्न गर्नुपर्ने विद्यमान अवस्थाका कारण ३.५५ प्रतिशत जनसंख्या गरिबीको चपेटामा पुग्ने गरेको छ ।

नेपालमा स्वास्थ सेवामा आम नागरिकको पहुँच पुर्याउन हाल स्वास्थ प्रणाली भित्र रहेका स्वास्थ प्रदायक संस्थाको विस्तार र स्वास्थ प्रणालीको सुदृढीकरण गर्न जरुरी छ । साथै विपन्न नागरिक राहतकोष अन्तर्गत सहयोग गर्ने रोगहरूको सुचिमा थप रोगहरू समावेश र सामाजिक स्वास्थ बीमा कार्यक्रमको विस्तार र यसको प्रभावकारितामा तत्काल जोड दिनुपर्ने देखिन्छ ।

(लेखक वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा निवर्तमान सल्लाहकार, राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा पूर्व वित्तीय प्रबंधक तथा कामु रजिष्ट्रार हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्