Logo
|
Sunday 29th September 2024
Logo

epaper

क्रिटिकल केयर मेडिसिनको शिक्षा र तालिमको विकास र बिस्तारमा समर्पित अब्वल डाक्टर

मानिसहरूले मृत्यूलाई स्विकार गर्न छोडे: डा. सुवास



प्रा.डा.सुवास प्रसाद आचार्य वरिष्ठ इन्टेन्सिभिष्ट (सघन उपचार विशेषज्ञ) हुनुहुन्छ । हाल उहाँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालको क्रिटिकल केयर मेडिसिन विभागको प्रमुख हुनुहुन्छ । प्रा. डा. आचार्यले त्रिवि शिक्षण अस्पतालबाट सन् २००६ मा एनेस्थेसियामा एमडी गर्नुभएको छ । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस सकेर काठमाडौं मेडिकल कलेजको मेडिसिन विभागमा दुई वर्ष काम गर्दै रहँदा प्रा.डा. आचार्यको क्रिटिकल केयरमा सेवा दिने सोच बनेको थियो । सन् २०१२ मा प्रा.डा. आचार्यले क्यानडाको टोरन्टो विश्वविद्याल क्रिटिकल केयरमा एकवर्षे फेलोसिप गर्नुभयो । त्यसपछि निरन्तर त्रिवि शिक्षण अस्पतालमा कार्यरत हुनुहुन्छ । प्रा.डा. आचार्यले देशभरका थुप्रै डाक्टर र नर्सहरुलाई क्रिटिकल केयरको तालिम प्रदान गर्दै आउनुभएको छ । पेशाले चिकित्सक भएपनि उहाँ नाचगान, अभिनयमा पनि उत्तिकै रुचि राख्नुहुन्छ । उहाँले ‘तिमी र म, ‘यो मन दिएँ’, ‘अँगालै भरी’, ‘आखिरी त्यो मन’ बोलका गीतहरुमा अभिनय गर्नुभएको छ । यसै सन्दर्भमा प्रा.डा. आचार्यसँग क्रिटिकल केयरबारे जनस्वास्थ्य सरोकारले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

प्रा.डा. सुवास आचार्यलाई कसरी चिन्ने ?
त्रि.बि. शिक्षण अस्पतालमा काम गर्ने एक चिकित्सक हुँ । म आफूलाई आसीयूकै डाक्टर भन्न रुचाउँछु । विगत १२ वर्षदेखि आइसीयूका बिरामीको उपचारमा संलग्न छु ।

त्यो बेला जनशक्तिको अवस्था कस्तो थियो ?
मैले आइसीयूमा काम गर्न सुरु गर्दा तालिम प्राप्त डाक्टर तथा नर्सको संख्या कम थियो । त्यसैले मेरो धेरै समय एकेडेमिक तालिमहरुमा बितेको छ । म देशका ७ वटै प्रदेशमा डाक्टर तथा नर्सहरुलाई तालिम दिन पुगेको छु । त्यसैले मलाई धेरै सहकर्मीले शिक्षकको रुपमा चिन्ने गर्छन् । यसले खुशी दिन्छ । सन् २०१२ देखि मैले लगभग यहाँको रिसर्च डेभ्लपमेन्ट सिस्टम इम्प्रुभमेन्टदेखि देशभरी नै ट्रेनिङहरुमा सहभागी हुँदै आएको छु ।

स्पेशियालिटी ग्रोथ तथा ट्रेनिङ कार्यक्रमबारे बताइदिनुस् न ?
हामीले क्रिटिकल सोसाइटीबाट स्पेशियालिटी ग्रोथका लागि कार्यक्रमहरु गर्दै आएका छौं । हामीले फेलोसिप पनि चलाएका छौँ । गत वर्षबाट एक वर्षे फेलोसिप सुरु भएको छ । अहिले चार पाँचवटा अर्गनाइजेसनमा डीएम कार्यक्रम भइरहेको छ । चिकित्सा शिक्षा आयोगको नेशनल वोर्ड अफ स्पेसियालिटिजबाट पनि क्रिटिकल केयरको डीएम तहको अध्ययन शुरु भएको छ । हाल नेशनल वोर्ड अफ स्पेसियालिटिज अन्तर्गत ह्याम्स र ग्रान्डी हस्पिटलमा क्रिटिकल केयर मेडिसिनमा डीएम लेवलको अध्ययन भइरहेको छ ।

क्रिटिकल केयरको नर्सिङ तालिममा के प्रगति भइरहेको छ ?
सन् २०१५ मा नर्सिङ तर्फ २ दिने कार्यशाला शुरु गरेका थियौं । त्यसपछि क्रिटिकल केयरको एउटा टिम बनाएर सन् २०१७ मा क्रिटिकल केयर नर्सिङ एसोसियसन (सिसिनान) संस्था दर्ता गर्यौं । त्यसैमार्फत ६ महिनाको इन्स्ट्रक्टर तालिम शुरु गर्यौं । क्रिटिकल केयरमा ३ महिनाको तालिम लिने नर्सहरुको संख्या ४ सय पुगिसकेको छ ।

क्रिटिकल केयरमा अहिले हामीसँग ५० जना इन्स्ट्रक्टर नर्स छन् । उनीहरुले नै पढाउँछन् । क्रिटिकल केयर नर्सिङ एसोसिएसनले उनीहरुलाई मद्दत गर्छ । एकेडेमिक कन्टेन्टहरु हेरिदिन्छ । एसोसिएसनको कार्यक्रममा हामी डाक्टर नर्स सबै मिलेर कार्यक्रम सञ्चालन गर्दछौं । अहिले मास्टर्स इन क्रिटिकल केयर नर्सिङ सुरु भइसकेको छ ।

महाराजगञ्ज नर्सिङ्ग क्याम्पसमा दोस्रो ब्याच चलिरहेको छ । यहाँ नर्सहरुले रेजेडेन्ट डाक्टहरुले झैं अस्पतालमा बसेर काम गर्छन् । त्यहिँ पढ्छन्, त्यहिँ सिक्छन् । एक ब्याचमा ३ जनासम्मलाई लिने गरिन्छ । यस वर्ष एक ब्याच ग्रयाजुएट हुँदै छ । नर्सिङमा क्रिटिकल केयरमा काम गर्छु भन्नेहरुले मास्टर्स इन क्रिटिकल केयर इन नर्सिङ गर्न सक्छन् । रिसर्चमा पनि थुप्रै प्रगती भएको छ । विभिन्न देशमा हुने ट्रायलहरुमा पनि सहभागीता जनाउँदै आएका छौँ ।

त्रि.बि.मा आइसीयूको अवस्था कस्तो छ ?
सन् २०१२ सम्म त्रिवि शिक्षण अस्पतालको आइसीयूमा ६ बेड थियो । त्यसको केहि वर्षपछि ५ बेड थपियो । त्यसपछि मेडिकल एमआइसी पनि थपियो । पछि फेरी ८ बेड थपिएको थियो । कोभिडको समयमा पुनः १२ बेड थपियो । अहिले हामीसँग ४० बेड छ । माथिल्लो तलामा क्यान्सर डेडिकटेड आइसीयू आउँदै छ । त्यहाँ १० बेड थपिँदैछ । त्यसपछि हामीसँग ५० बेड एडल्ट आइसीयू हुन्छ । कोभिडपछि हाइ डिपेन्डेन्सी युनिट (एचडियू) को कन्सेप्ट सुरु गर्यौं । अहिले शिक्षण अस्पतालमा मात्रै ५० प्लस एचडियू बेड रहेका छन् । यसलाई पनि जोड्दा १ सय बेड हुन्छ ।

देशभर क्रिटिकल केयरको बेड कति छन् ?
कोभिड आउनु अघिसम्म देशभर क्रिटिकल केयरमा जम्मा १ हजार बेड थिए । भेन्टिलेटर सहितका ८ सय बेड मात्रै थिए । कोभिडपछि बेड संख्या बढेर गयो । सन् २०२० मा सार्वजनिक भएको तथ्याङ्कअनुसार देशभर १ हजार ५ सय ४० आइसीयू बेड छन् ।

२०२३ मा गरेको सर्वे अनुसार २ हजार भन्दा धेरै आइसीयू बेड छन् भन्ने छ । कोभिडपछि सरकारले एचडियूको कन्सेप्ट सुरु गर्यो । त्यसलाई पनि क्रिटिकल केयर बेडमै गणना गरिएको छ । तर, बेड र मनिटर राखिदिएर मात्रै क्रिटिकल केयर बेड हुँदैन । क्रिटिकल केयर बेड हुन त्यहि अनुसारको जनशक्ति आवश्यक पर्छ । १० बेडको आइसीयू हुनलाई २ जना कन्सल्टेन्ट डाक्टर हुनुपर्छ । ४ जना जना मेडिकल अफिसर, एउटा बेडमा १ जना नर्स आवश्यक पर्छ ।

नर्सको तीन सिफ्ट हुन्छ । समग्रमा १० बेडको एउटा आइसीयु चलाउन दिनको ४० जना नर्स आवश्यक पर्छ । डाइटिसियन, फिजियोथेरापिष्ट, फार्मेसिष्ट १–१ जना चाहिन्छ । यी सबै भएपछि बल्ल एउटा पूर्ण रुपमा आइसीयू बन्छ । हामी भारत र अमेरिकाका अस्पतालसँग तुलना गर्छौं तर त्यहाँको नर्सिङ केयर चाहिँ यहाँ दिदैनौं । स्टेक होल्डरले बुझ्नुपर्ने कुरा के हो भने, बेड भेन्टिलेटर दिदैमा क्रिटिकल केयर हुँदैन । टिचिङ हस्पिटलमा पनि समस्या छ । यहाँ पूर्णकालीन फिजियोथेरापिस्ट छैन । वास्तवमा आइसीयू भनेको टिमवर्क हो ।

नेपाल सरकारले आइसीयूको महत्व नबुझेको के हो ?
हाम्रो देशको मुख्य समस्या अस्थिर राजनीतिक प्रणाली हो । दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा ल्याउनसकेको अवस्थामा वेथिति सुधार भएर जान्छ । स्वास्थ्य मन्त्री कुन बेला फेरिन्छ भन्ने टुंगो नै हुँदैन । अर्को समस्या अर्गनाइजेसन स्टक्चरको हो । त्रिविमा १० वर्षपछि बल्ल डिपार्टमेन्ट अफ क्रिटिकल केयर मेडिसिन बन्यो । अहिले संघ, प्रदेशका अस्पतालहरुमा आइसीयू कसले हेर्ने भन्ने नै एकिन छैन । जनशक्ति बिस्तारै आउँदै छ । तर सरकारको आँखामा छैन । स्वास्थ्य मन्त्रालयले नीति बनाउनुपर्ने हो । तर बनाएको छैन ।

यो समस्यालाई लिएर संबन्धित निकायलाई घचघच्याउनु भएको छैन ?
हामी बारम्बार मन्त्रालयमा जान्छौं । हामीले न्युनतम सर्भिस स्ट्यान्डर्ड बारे बताइसकेका छांै । हामीले आइसीयूको मापदण्ड पनि ४ वर्ष अगाडी नै दिइसकेका छौं । यो सबै कुरा राजनीतिक स्थिरतासँग जोडिएको छ । सरकार परिवर्तन भइरहन्छ । नयाँ आउने नेतृत्व वर्गलाई पुराना कुरा हेर्ने फुर्सद हुँदैन । कि सरकारले स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई कामको जिम्मा लगाउनु पर्यो, कि डोनरले हेर्नु पर्यो । त्यसपछि मात्र सम्भव हुनसक्छ ।

अन्य क्षेत्र भन्दा क्रिटिकल केयर कतिको संवेदनशील विधा हो ?
यो त कोभिडले नै देखाइसक्यो । कोभिडपछि आइसीयूका लागि तालिम प्राप्त जनशक्ति चाहिँ उत्पादन हुने क्रम बढेको छ । कोभिडको बेला सरकारले पनि केहि सामान किनेको थियो । त्यसपछि बिर्सियो ।

आइसीयूको बेडका लागि कतिको प्रेसर आउँछ ?
प्रायः अघिल्लो दिन अप्रेसन गरेका बिरामीलाई एचडियू बेडमा सार्ने गरिन्छ । यो पनि दोस्रो लेभलको आइसीयू नै हो । त्यसपछि अस्पताल भर्ना भएका बिरामीलाई प्राथमिकता दिन्छौं । त्यसमा पनि अप्रेसन भइरहेका बिरामीलाई पहिलो प्राथमिकता दिन्छौं । हाम्रोमा बेड नपाएर अन्यत्र रिफर हुन लागेका बिरामीलाई समेत बेड दिइसकेपछि बल्ल बेड खाली भएमा फोन गर्नेहरुलाई दिने व्यवस्था छ । फोन त नियमित आउँछन् । आइसियू वेडका लागि नै भनेर दैनिक १० जना जतिले फोन गर्छन् । यसका लागि हामीले रजिष्टर नै मेन्टेन गरेका छौं । बेड खाली भएपछि रोगको प्राथमिकताका आधारमा बोलाउने गर्दछौं । यदि ४ घण्टाभित्र नआएको अवस्थामा मात्र त्यो बेड अर्को बिरामीलाई उपलब्ध गराउँदछौं ।

‘क्रिटिकल केयर’ मा पुगेको बिरामीको सर्भाइभर दर कति हुने गर्छ ?
बिरामीको रोगको गम्भिर्यताको आधारमा बिरामी फर्किने/नफर्किने भन्ने हुन्छ । टिचिङ अस्पतालकै कुरा गर्ने हो भने आइसीयूमा पुगेका ८० देखि ८५ प्रतिशत बिरामी निको भएर घर फर्किन्छन् ।

मृत्यु दर १५ देखि २० प्रतिशत मात्र छ । मृत्यु हुने मध्ये ३/४ प्रतिशत बिरामीलाई हामीले नै उपचार स्थिगित गर्न सुझाव दिन्छौं । १५ प्रतिशत चाहिँ उपचार गर्दा गर्दै बित्छन् । मृत्यु हुने बिरामी कोही अन्तिम अवस्थामा अस्पताल आइपुगेका हुन्छन् ।

बिरामीको माग अनुसार आइसीयू बेड पुग्छ ?
हाम्रो देशमा निजी र सरकारी अस्पताल गरी अहिले लेभल टु, लेभल थ्री, एचडियू गरेर जम्मा २ हजार देखि २ हजार २ सय जति बेड छन् । त्यसैले बेड पुग्दैन । देशको जनसंख्या अनुसार २५ हजार आईसियू बेड चाहिन्छ ।

कतिको खर्चिलो छ ?
आइसीयूमा राखेको बिरामीको बेड चार्ज भन्दा धेरै औषधिमा खर्च हुन्छ । आइसीयू भर्ना भएको एउटा बिरामीलाई दैनिक २०—२५ हजार भन्दा माथिको खर्च लाग्छ ।

समाधान के हुनसक्छ ?
जटिल रोगको उपचारका लागि सरकारले रकम छुट्याएको छ । तर सो रोग लागेर आइसीयूमा पुगेका बिरामीलाई सहुलियत रकम दिइदैन । विगतमा गम्भीर रोगका बिरामी आइसीयूमा पुगेपछि खर्च उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा चिठी लेखेर पठाएका थियौं । तर अहिलेसम्म कार्यान्वयन भएको छैन । सरकारी अस्पतालमा भर्ना हुने बिरामीलाई त सरकारले हेर्नुपर्ने थियो ।

यसको समाधान भनेको बीमा नै हो । बीमाले केही भरथेग गरेको छ । बीमाको दायरा बढाउन सकेमा सबैलाई फाइदा हुन्छ । अहिलेको बीमा पनि व्यवहारिक रुपमा प्रभावकारी हुन सकेको छैन । त्रि.बि. शिक्षण अस्पतालमा मात्र सरकारले बीमाको ६० करोड रुपियाँ दिन बाँकी छ । यहाँ तलब ख्वाउने रकमको अभाव छ । बीमावापत् उपचार गरेको रकम सरकारले समयमा दिन सक्नुपर्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
बिरामीको अवस्था अनुसार हामीले पनि मृत्युलाई पनि स्विकार गर्नसक्नुपर्छ । ब्रेन ह्यामरेज भएको ९२ वर्षको व्यक्तिलाई भेन्टिलेटरमा राखेर भएपनि आयु बढाउने कोसिस गरिन्छ । मानिसहरुले मृत्युलाई बुझ्न छोडे । यस्ता व्यक्तिको ‘मृत्युलाई’ स्विकार गर्न सक्नुपर्छ । यो माया, आफन्त र समाजको इज्जत र प्रतिष्ठासँग पनि सम्बन्धित रहेको हुनसक्छ । तर अस्पताल भर्ना भएका बिरामी आइसीयूमा बेड नपुगेर दैनिक १२ जना जति अन्यत्र रिफर भइरहेका छन् । अनि यता राम्रो सुधार नहुने बिरामीलाई पनि भेन्टिलेटरमा हालेरै लामो समय तन्काउनु कत्तिको उचित होला ? अहिले धेरैका छोराछोरी विदेशमा भएका कारण मृत्युपछि पनि अस्पतालका भेन्टिलेटरमा राख्ने गरिएको छ । उमेर र रोगको प्रवृत्ति बुझेर नै बिरामीको उपचारको निर्णय गर्नु उचित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्