Logo
|
Sunday 29th September 2024
Logo

epaper

११ ब्रान्डका जारको पानीमा भेटियो कोलिफर्म, बिक्री वितरणमा रोक

२ लाख रुपैयाँ जरिवाना



Bottle caps

नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र प्रयोग हुने जारको पानीमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटिएको छ ।महानगरपालिकाले गरेको परीक्षणमा ११ वटा कम्पनीका जारको पानीमा कोलिफर्म भेटिएको हो ।

भदौ १२ गतेदेखि २८ गतेका बिचका विभिन्न दिनमा विभिन्न स्थानहरुबाट २० वटा पानीको नमूना लिइएको थियो । साथै, यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । 

यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो । साथै, ११ व्राण्डका पानी बिक्री वितरणमा रोक लगाएको छ । बिक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको छ ।

यस्तै कोलिफर्म भेटिएको पानीको नमूना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ । यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शुन्य देखिएपछि विक्री वितरण गर्न सकिने पत्रमा उल्लेख छ ।

प्रति १ सय मिलिलिटर नमूना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सिएफयु) मापदण्ड विपरीत देखिएको हो । जरिवाना र विक्री वितरणमा रोक लगाइएका पानीका ब्राण्डहरुमा व्याच नं. १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखियो । 

उपभोक्ताबाट गुनासो आएपछि भदौ १८ गते यसको नमूना लिइएको थियो । पञ्चरत्न ग्रुपले उत्पादन गर्ने यो पानी टोखा नगरपालिका वडा नं. ८ बाट उत्पादन भइरहेको छ ।

भदौ १२ गते नमूना लिइएका पानीमध्ये व्याच नं. १२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखियो । अक्वा पिस टोखा ८ मा रहेको पिस स्प्रिङ् वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा, टोखाकै अक्वा एस. एन. एस. वेभरेजले उत्पादन गरेको पानी हो ।

व्याच नं. ६ को कोलभोतेश्वर व्राण्डको भदौ २४ गते नमूना लिइएको हो । यसमा फिकल कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ् युनिट (सिएफयु) छ । यो पानी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एण्ड वेभरेजले उत्पादन गरेको हो ।

भदौ २४ गते नै नमूना लिइएका पानीहरुमा गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिवी, कागेश्वरी मनोहरा, वडा नं. ६ मा रहेको स्नो क्युव ड्रिङ्किङ् वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तुपा इष्डष्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिङिकङ् वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ् मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटियो । 

अक्वा डिवीमा ५, अकुवामा १७, व्याच नं. २०० को क्युव प्रोसेस ड्रिङ्किङ् वाटरमा ३ सयभन्दा धेरै र व्याच नं. ४२ को अक्वा माइल्ड व्राण्डको पानीमा २१ कोलोनी फर्मिङ् युनिट (सिएफयु) भेटिएको छ ।

भदौ २८ गते संकलन गरिएका नमूनामध्ये अक्वा कपन र अक्वा गौरशंकरमा कोलिफर्म भेटियो । अक्वा कपनमा फिकल कोलिफर्म मान ४ र अक्वा गौरशंकरमा ३ सयभन्दा धेरै कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ । 

अक्वा कपन एम. के. मिनरल वाटर उद्योगले वुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट उत्पादन गर्छ । अक्वा गौरी शंकर, गोकर्णेश्वरमा रहेको कोशी मिनरल उद्योगले उत्पादन गर्छ ।

प्रतिक्रिया दिनुहोस्