Logo
|
Sunday 29th September 2024
Logo

epaper

स्वास्थ्य बीमा सुधारका लागि डा. शम्भु आचार्यको नेतृत्वमा सुझाव समिति गठन



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गर्नुभएको हो ।

समितिमा विकास अर्थशास्त्री तथा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रघुराज काफ्लेसँगै वरिष्ठ मुटु शल्यचिकित्सक प्रा.डा. भगवान कोइराला सदस्य हुनुहुन्छ ।

यसैगरी, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहनेछन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाईसमेत समितिको सदस्य तोकिएको छ ।

समितिलाई विद्यमान स्वास्थ्य बीमाको कानूनी अवस्था, सेवाप्रवाहलगायतका विषयका सबल र दुर्बल पक्षबारे विश्लेषणसहितको प्रतिवेदन दिन कार्यादेश दिइएको छ । यसैगरी, नेपालमा हाल कार्यान्वयनमा रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीबाट प्रवाह हुने गरी स्वास्थ्य बीमा कार्यक्रममार्फत लैजान सुझावसहितका उपाय सुझाउन पनि भनिएको छ ।

समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकको आबद्धता बनाउन सम्भाव्य उपायबारेसमेत सुझाव दिने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको जेनेभास्थित रणनीति र सहयोग एकाइको महानिर्देशक रहिसकेका आचार्यसँग संगठनमा विभिन्न भूमिकामा तीन दशक बढी काम गरिसकेको अनुभव छ । उहाँ हालै मात्र नेपालका तर्फबाट विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा उम्मेदवार रहनुभइसकेको छ ।

जनस्वास्थ्य सुधारका लागि विभिन्न देशहरुलाई सुझाव प्रदान गरिसकेका आचार्यको अनुभव देशको स्वास्थ्य बीमा सुधारका लागि उपयोग गर्ने अपेक्षा गरिएको मन्त्री पौडेलले बताउनुभयो ।

स्वास्थ्य बीमामा सुधार गरेर आम नागरिकको पहुँचमा ल्याउने बनाउने हाम्रो प्रमुख उद्देश्य हो, मन्त्री पौडेलले भन्नुभयो–स्वास्थ्य बीमामा सबै नागरिकलाई जोड्ने गरी समस्या समाधानसहितको सुझावलाई कार्यान्वयनमा लैजानेछौं ।’

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य बीमाको रकम ५ लाखसम्म पुर्याउने घोषणा गर्नुभएको थियो । मन्त्री पौडेलले बीमा सुधारका स्रोत थप्न सकिने अवधारणा प्रस्तुत गर्नुभएको थियो । सोहीअनुसार विज्ञहरुको सुझाव लिन भन्दै मन्त्री पौडेलले समिति गठन गर्नुभएको हो ।

आइतबार समितिको पहिलो बैठक बसेको छ । आफूहरुले स्वास्थ्य बीमाका अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययनसँगै देशको अभ्यास र कठिनाइहरुबारे अध्ययन गरेर सुझाव दिने संयोजक आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्