Logo
|
Wednesday 25th December 2024
Logo

epaper

सबैलाई बचाउन सकिदैन



निजी क्षेत्रका अस्पतालहरुले आईसियूमा मरेको बिरामीबाट पनि पैसा असुल्ने भन्ने आम मानिसको धारणा रहेको छ । ब्रेन डेथ भइसकेका बिरामीहरुलाई भेन्टिलेटरबाट मुटु र फोक्सो चलाएर धेरै दिन राखेर ठूलो धनराशी सकाइदियो भन्ने समाचारहरु पनि सुन्नमा आउँछन् । यस्ता समाचार मैले पनि पढेको छु । वास्तवमा मरिसकेका बिरामीहरुलाई यसरी राख्नुपर्ने कुनै कारण देख्दिन । बचाउन सकिने कयौं बिरामी बेड नपाएर भौतारिरहने यो देशमा मरेको बिरामी राख्ने कुरै हुँदैन । यसमा नैतिकताको प्रश्न पनि हो । नेपाल र भारतमा यस प्रकारका समाचार आइरहेका हुन्छन् । दुर्घटना भएर ब्रेन डेथ भइसकेका बिरामीहरुको विभिन्न अंगहरुले काम गर्ने भएकाले अंगदान गर्न सकिन्छ । कसैले यसरी राखेमा यो गलत हो ।

‘हामीले यति धेरै खर्च गरिसक्यौं । जसरी पनि बिरामी बाँच्नुपर्छ’ भन्ने परिवारको अपेक्षा र अभिलासा हुन्छ । तर सत्य कुरा भनेको ‘सबैलाई बचाउन सकिदैन ।’ कतिपय रोगहरु उपचार नै नहुने र बिरामीलाई बचाउन नसक्ने किसिमका हुन्छन् । धेरैजसोको मल्टी अर्गान डिस्फङ्सन सिन्ड्रोमका कारण मृत्यु हुनसक्छ ।

यसमा एउटा रोगबाट समस्या शुरु भएर शरीरका सबै अंगहरु फेल हुँदै जान्छन् । निकै ठूलो प्रयासका बावजुद पनि समस्या नियन्त्रण हुन सक्दैन र बिरामीको ज्यान जानसक्छ । त्यसैले आईसियूको जिम्मेवारी लिएको उत्तरदायी चिकित्सकसँग बिरामीका आफन्तले क्लियर नभएका कुराहरु छलफलबाट टुङ्ग्याउनुपर्छ ।

बाँच्ने सम्भावना थाहा हुने
यसरी आईसियूमा पुगेका सबै बिरामीलाई बचाउन सकिदैन । उपचारका बावजुद पनि विभिन्न कम्प्लिकेसनले आईसियूमा बिरामीको मृत्यु हुने गर्छ । जस्तोः शरीरका सबै अंगमा अक्सिजन नपुगेमा मुटु, मस्तिष्क, मिर्गौलालगायतका महत्वपूर्ण अंग ड्यामेज हुन्छन् । यसका साथै कोभिड एआरडिएस हुँदा शरीरले रोगसँग लड्ने क्रममा उत्पादन गर्ने केमिकल मिडियटर्स अर्थात साइटो काइन्स (इन्फ्लामेटरी मिडियटर्स) रसायनले आफ्नै अंगलाई नोक्सान पु¥याउन थाल्छन् । यसरी शरीरको प्रतिरोध शक्ति कम भएको बेला बिरामीको शरीरमा राखिने विभिन्न किसिमका पाइप, मेसिन, औषधि आदिका कारण सेप्सिस हुने सम्भावना पनि बढी हुने भएकाले उपचारमा थप जटिलता आएर बिरामी बचाउन नसकिने हुनसक्छ । अतः बिरामीको परिस्थिति, बाँच्ने सम्भावना मोटामोटी रुपमा थाहा हुने भएकाले यसबारे परिवारका सदस्यलाई बुझाउन जरुरी हुन्छ ।

आईसियू बुझ्न गारो
सामान्य जनताले कुन आईसियू कुन लेवलको छ भन्ने बुझ्न गारो छ । नेपालमा आईसियूको वर्गिकरण गरिएको छैन । यसले काम गर्न अफ्ट्यारो पारेको छ । आईसियू वर्गिकरण गर्न आवश्यकता छ । अस्पतालमा आईसियू वार्ड भनेर लेखिदिने गरिन्छ तर भित्र कस्तो उपचार हुन्छ ? भन्ने थाहा हुँदैन । भित्र बिरामीका आफन्त जान नदिने प्रवृत्ति छ । मोनिटर, वेड र बाहिर आईसियू लेख्दैमा त्यो आइसियू हुँदैन । लेवल वन आईसियू आईसियूमा सामान्य मोनिटर, आवश्यक परेमा तुरुन्त डाक्टर उपलब्ध हुनसक्ने, २४ सै घण्टा नर्सको व्यवस्था हुन्छ । लेवल टु आईसियूमा अंगहरु सबै फेल भइनसकेको, एक दुईवटा अंगबाहेक अरु सबै अंगले काम गर्नसक्ने, केही समयका लागि धेरै अक्सिजन चाहिने अथवा भेन्टिलेटरमा राख्नुपरेमा एकछिनका लागि राख्न सकिने, डाक्टर र नर्स २४ घण्टा उपलब्धता हुन्छ । लेवल थ्री आईसियू हाइजेष्ट लेवल अफ केयर हो । लेवल थ्री आईसियूमा शरीरका जुनसुकै अंग विफल भएको अवस्थामा क्रित्रिम तरिकाले बचाइराख्ने उपयाहरु गर्न सकिन्छ । जस्तोः बिरामीले सास फेर्न नसकेमा मेकानिकल

भेन्टिलेटरमा राखेर सास फेराउने, मिर्गौलाले काम नगरेमा डायलाईसिस गर्ने, व्लडप्रेसर घटाउने बढाउने प्रक्रिया आदि हुन्छ । यसरी अति सघन किसिमका उपचारहरु लाइफ सेभिङ मेजर्स अर्थात क्रित्रिम तरिकाले शरीरका अंगहरुलाई सपोर्ट गर्नसक्ने किसिमको सुविधा भएको ठाउँ लेवल थ्री आईसियू हो जहाँ कन्सल्ट्यान्ट लेवलका डाक्टरहरु २४ सै घण्टा उपलब्ध हुन्छन् ।

एउटा बिरामीलाई एकजना नर्सले सेवा दिनसक्ने क्षमता हुन्छ र अरु बिरामीलाई समस्या परेमा सम्बन्धित स्पेशियालिटीका डाक्टरहरुलाई तुरुन्त बोलाएर सहयोग लिन सकिने किसिमको सुविधा हुन्छ ।

वेड पाउनै गारो
सरकारी अस्पतालहरुमा आईसियू वेड पाउन मुस्किल पर्छ । त्यसैले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पनि कुल वेड संख्याको कम्तिमा पनि १५ प्रतिशत क्रिटिकल वेड हुनुपर्छ भन्ने मान्यता छ । २०७० सालमा सरकारले प्रकाशित गरेको मापदण्डमा कुनैपनि अस्पतालमा कम्तिमा ५ प्रतिशत बेड हुनुपर्ने उल्लेख छ । टर्सरी लेवलको अस्पतालमा त झन् २० प्रतिशत आईसियू वेड छुट्याइदिनुपर्ने, त्यसमध्ये १० प्रतिशत लेवल थ्री आईसियू हुनुपर्छ । तर सो अनुसार कुनै पनि अस्पतालले आईसियू वेड छुट्याएको पाइँदैन ।

न्युन जनशक्ति
सरकारले आईसियू सेवालाई प्राथमिकतामा राखेको छैन । बिरामीको पहुँच बढाउन आईसियू क्षमता विस्तार गर्नुपर्ने थियो । स्थानीय तहका प्रत्येक अस्पतालमा सरकारले प्रकाशित गरेको मापदण्ड पूरा गर्नुपर्छ । आईसियू भनेको कोठा र मनिटर मात्र होइन । त्यसमा सिस्टमको जरुरी पर्छ । सरकारले सामान खरीद र भवन निर्माण कार्यलाई पनि निरन्तरता नदिएको होइन । तर आवश्यक जनशक्ति उत्पादनबारे गृहकार्य भएको छैन । त्यसैले मानव श्रोत परिचालन गर्ने तरिकाहरुबारे सोच्न जरुरी छ ।

नेटवर्क छैन
पहिलो आईसियूको लेवल छुट्याउनुपर्छ । त्यसपछि लाइभ नेटवर्क बनाउन जरुरी छ जसले कुन अस्पतालमा कति वेड छन् ? कति खाली छन् थाहा होस् । बाहिरी देशहरुमा आईसियू वेड म्यानेज्मेन्ट सम्बन्धि आईटी धेरै विकसित भइसकेको छ ।

इन्फर्मेसन टेक्नोलोजीको सहयोगमा स्वास्थ्य मन्त्रालयले एउटा कोठामा बसेर देशभर कहाँ कति आईसियू वेड छन्, कहाँ कति खाली छन् ? कुन लेवलको केयर हुने वेड छ ? भन्ने गर्न सक्छ । आईसियू वेडको अभावमा एउटा हस्टिटलले अर्कोमा पठाउने अर्कोले अर्कोमा पठाउने गर्दा गर्दै कतिपय बिरामीको मृत्यु भएको दुखद खवर पनि सुन्ने गरिएको छ ।

टिम वर्क
आईसियू भनेको टिमवर्क हो । यसमा सिस्टम अफ केयर वा केयर प्रोसेसका आधारमा उपचार गरिन्छ । यसमा इन्टेन्सिभिष्टको नेतृत्वमा विभिन्न विधाका जनशक्तिहरुको भूमिका रहन्छ । यसबाहेक रातदिन आईसियूमा बसेर काम गर्ने जनशक्ति तालिमप्राप्त हुनुपर्छ । जस्तोः क्रिटिकल केयर नर्स, फिजियोथेरापिष्ट, पोषणविद्, फर्मासिष्ट, माइक्रोबायोलोजिष्ट आदि । तबमात्र समग्रमा सही उपचार सेवा दिन सकिन्छ ।
(डा. पनेरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उप—प्राध्यापन हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्