Logo
|
Saturday 23rd November 2024
Logo

epaper

सरकारको नजरमा नपरेको क्रिटिकल केयर नर्सिङ सेवा




कविता सिटौला विगत १० वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा क्रिटिकल केयर नर्स हुनुहुन्छ । उहाँ क्रिटिकल केयर नर्सेस एसोसिएशन अफ नेपाल (सिसिनान) की उपाध्यक्ष पनि हो । सिटौंला त्रिभुवन विश्वविद्यालय (त्रि.बि.) शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण विभागको नर्सिङ संयोजक र नर्स एजुकेटर हुनुहुन्छ । उहाँको यो कार्याअनुभवले कस्तो देखेको छ त नेपालका अस्पतालको क्रिटिकल केयरको अवस्था, उहाँको अनुभव अनुुभूति आफ्नै शब्दमा…

आइसीयूमा सिकिस्त बिरामीलाई सेवा गर्ने नर्सलाई क्रिटिकल केयर नर्स भनिन्छ । जसमा बेसिक लाइफ सपोर्ट र रुटिन नर्सिङ केयरको ज्ञान तथा क्षमतामा कन्फिडेन्ट हुनुपर्छ । आइसीयुमा प्रत्येक मिनेटले नपुगेर त्यहाँ बिरामीको प्रत्येक सेकेन्डमा जाँच गर्नुपर्छ । एउटा नर्स ब्रेकमा बाथरुम गएको बेला आइसीयूको एउटा बिरामीको ज्यान तलमाथि पर्न सक्छ । त्यसैले आइसीयूलाई अत्यन्तै संवेदनशील क्षेत्र मानिन्छ ।

क्रिटिकल केयर नर्सको काम भनेको फ्लोरमा बसेर निर्देशन कार्यान्वयन गर्नु हो । राउण्डमा भएको छलफल र डाक्टरले दिएको निर्देशन पालना गर्नुपर्छ । डाक्टरले भनेको औषधि बिरामीलाई चलाउने काम पनि क्रिटिकल केयर नर्सले नै गर्नुपर्र्छ । आइसीयूमा पुगेका हरेक किसिमका रोगीको समस्या न्यूनिकरण गर्ने व्यवहारिक पाटो नर्सले नै सम्हालेका हुन्छन् ।

नेपालको चिकित्सा क्षेत्रमा क्रिटिकल केयरमा काम गर्ने तालिम प्राप्त नर्सहरुको संख्या असाध्यै कम छ । खासमा क्रिटिकल केयरको महत्व र आवश्यकता बुझेर त्यहाँ काम गर्ने नर्सहरुको क्षमता बढाउनु पर्ने थियो । नेपाल सरकारले निश्चित मापदण्ड बनाउनु पर्ने हो । तर, सरकारले नै वास्ता गरेको छैन । अन्य देशमा क्रिटिकल केयरमा काम गर्न दुई वर्ष फ्लोरमा काम गरेर क्रिटिकल केयरको तालिम लिनुपर्छ ।

नेपालमा त्यस्तो कुनै मापदण्ड बनाइएको छैन । एसएलसी पास गरेर पीसीएल नर्सिङ पढेको फ्रेस जनशक्तिले आईसीयूमा सीधै काम गर्न पठाउनु पर्ने हाम्रो बाध्यता छ । काममा पठाउनु अघि त्यो नर्ससँग आईसीयूमा काम गर्ने सीप र शिक्षा छ÷छैन भनेर हेर्ने चलन र अवस्था दुवै छैन ।

एउटा फ्रेस नर्सले आवश्यक तालिम बिनै भेन्टिलेटरमा गएर सिकिस्त बिरामी हेर्नुपर्ने अवस्था डरलाग्दो हो । नेपालमा क्रिटिकल केयर नर्सिङको मापदण्ड बनाउने र सोही अनुसार काम भयो कि भएन भनेर हेर्ने एवं विधागत नर्सिङ जनशक्तिलाई प्रमाणीकरण गर्ने आधिकारिक निकाय पनि छैन ।

विश्वमै भएका विभिन्न रिसर्चहरुको रिपोर्ट हेर्ने हो भने तालिमले नर्सहरुलाई दक्ष बनाउँछ भनिन्छ । तर, हाम्रोमा यो प्राक्टिस छैन । यो अवस्थामा सुधार आउन पोलिसी लेबलबाटै क्रिटिकल केयरमा काम गर्ने नर्सको मापदण्ड सेट हुनु जरुरी छ ।


सिसिनानले क्रिटिकल केयर नर्सको डेफिनेसनमा भनेको छ, ‘क्रिटिकल केयर नर्ससँग बेसिक तालिम लिएको सर्टिफिकेट हुनुपर्छ र अर्गान लाईफ सपोर्टको ज्ञान हुनुपर्छ ।’ यो कुरा नेपाल सरकारको स्वास्थ्य योजनामा पनि हामीले वकालत गर्दै आएका छौं । न्युनतम ३ महिनाको तालिम पछि मात्रै एउटा नर्सलाई क्रिटिकल केयरमा पठाउन सकियो भने बिरामीले सहि स्याहार पाउँथे भन्ने हाम्रो मान्यता हो ।

तीन महिनाको आधारभूत तालिम लिएर मात्र एउटा नर्सले क्रिटिकल केयर सेवा प्रदान गर्न योग्य हुन्छ । सिसिनानले हालसम्म ४ सयलाई क्रिटिकल केयर सम्बन्धि आधारभूत तालिम दिइसकेको छ । नेपाल नर्सिङ काउन्सिलबाट मान्यता प्राप्त जोसुकै नर्स पनि यो ३ महिने तालिममा सहभागी हुन सक्छन् । यसको प्रमाणपत्र प्राप्त गर्न ८० प्रतिशत अंक ल्याउन जरुरी हुन्छ । त्यसमा सैद्धान्तिक र व्यवहारिक क्षमता हेर्ने गरिन्छ । साथै ७० जनाले इन्सट्रक्टिभ तालिम लिन सफल भएका छन् । यसका लागि व्याच्लर इन नर्सिङ गरेर आइसियूमा कम्तिमा पनि २ वर्ष काम गरेको हुनुपर्छ । उनीहरुको ६ महिनाको तालिम हुन्छ ।
क्रिटिकल केयर अत्यन्तै संवेदनशील ठाउँ हो । यो ठाउँमा मृत्युको मुखमा पुगेका बिरामीको जीवन फर्काउने जिम्मेवारी हुन्छ । यहाँको सम्वेदनशीलता हेरेर सरकारले क्रिटिकल केयर नर्स हुन के कस्तो क्षमता चाहिन्छ ? के कस्तो सीप सिक्नुपर्छ ? के पढ्नुपर्छ ? भन्ने मापदण्ड बनाउनुपर्ने हो । त्यो छैन् ।

पछिल्लो समय हाम्रो नेपाल सरकारले डब्लुएचओको मापदण्डलाई फलो गरेर मिनिमम हेल्थ स्ट्याण्डर्डको मापदण्ड तोकेको छ । तर, यो सबै अस्पतालमा कार्यान्वयन भएको अवस्था छैन् । त्रिविको तत्कालको अवस्था हेर्ने हो भने हामी आफूलाई भाग्यमानी मान्छौं । यहाँ एक जना सिकिस्त बिरामीको सेवा १ जना नर्सले गर्छ ।

सबैलाई थाहै छ, आइसीयूका ३ लेभल हुन्छन् । लेभल थ्रीमा सिकिस्त बिरामी राखिन्छ । उनीहरुलाई विभिन्न सेवा, उपचार पद्धती र औषधिको खाँचो हुन्छ । उनीहरुले एक बिरामी एक नर्स सेवा पाएका छन् । हाम्रो आइसीयू देशकै सबैभन्दा राम्रो आइसीयू हो । हाम्रो डाटा अन्तराष्ट्रिय रुपका तुलना हुन्छ । हामीसँग विदेशबाट पनि नर्सहरु सिक्न आउँछन् । त्यसैले हामीले यहाँका आइसीयूको स्ट्यान्डर्ड मेन्टेन गरेका छौँ ।

यहाँका आइसीयूको क्षमता तथा संख्या बढाउने तर्फ सरकारको ध्यान गएको छैन । दिनहुँ मेरो बिरामीलाई आइसीयू मिलाइदिनु पर्यो भनेर राजनैतिक रुपमा फोन तथा दवाब आउने गर्छ । तर, हामीले फोनकै आधारमा बिरामी लिन सक्ने अवस्था हुँदैन । फोनबाट आएका बिरामी लिने पनि अस्पतालको आफ्नै खालको मापदण्ड छ । त्यो मापदण्ड पुरा भएर बेड खाली भयो भने उहाँहरुको अवस्थालाई हेरेर आइसीयूमा बोलाछौँ । तर, सिसिनानका तर्फबाट हेर्दा अझै कतिपय सरकारी अस्पतालमै नर्स बिरामी अनुपात पु¥याउन सकिराखेका छैनन् । हुनुपर्ने चाहिँ यदि सिकिस्त बिरामी छ, भेन्टिलेटरमा छ, विभिन्न औषधिहरु चलिरहेको छ, डाइलासिस भइरहेका बिरामी छन् भने एउटा बिरामीलाई एउटा नर्सले नै हेर्नुपर्ने हुन्छ । यो लेवल थ्री आईसियू हो ।

लेभल टु आईसियूमा २ जनासम्म बिरामीलाई एउटा नर्सले हेर्न सक्छ । लेभल वान आईसियूमा एउटा नर्सले ३ जना बिरामी हेर्न सक्छ । उनीहरुलाई मोनिटरिङ मात्रै भए पुग्छ । यो डब्लुएचओले नै सेट गरेको मापदण्ड हो ।क्रिटिकल केयर नर्स मल्टिडाइमेन्सनल हुनुपर्छ । एउटा नर्सले आइसीयूको बिरामीलाई बच्चाको रुपमा हेरेर सेवा गर्नुपर्छ । जसरी नयाँ भर्खर जन्मिएको बच्चाको हेरचाह परिवारको अन्य सदस्यले गर्नुपर्छ, आइसीयूमा राखिएको बिरामी त्यस्तै हो । उसलाई त्यहि भावनाले हेरचाह गर्नुपर्छ । आइसीयूमा पुगेको एउटा बिरामीले आफ्नो डाइलासिस गर्न सक्दैन, आफ्नो केयर गर्न सक्दैन, आफैंले औषधि खान सक्दैन, आफ्नो भेन्टिलेटर व्यवस्थापन गर्न सक्दैन । यो सबै काम नर्सले गर्नुपर्छ ।

म नर्सिङ पास गर्ने बित्तिकैबाट आइसीयूमा छिरेको मान्छे हुँ । २०७० सालमा झापाको बिर्तामोडमा रहेको मनमोहन सामुदायिक अस्पतालमा ३ महिना काम गरेँ । त्यसपछि टिचिङ अस्पतालमा ३ महिनाको क्रिटिकल केयरको तालिम लिएँ । ग्राण्डी अस्पतालको आइसीयूमा ९ महिना बिरामीको सेवा गरेको अनुभव छ । त्यसपछि टिचिङ अस्पताल प्रवेश गरेँ र अहिलेसम्म यहीँको क्रिटिकल केयर नर्सका रुपमा कार्यरत छु । हाम्रो यहि समयमा डियुटी भन्ने हुँदैन । जुनसुकै सिफ्टमा पनि काम गर्नुपर्ने हुनसक्छ । कलेजो प्रत्यारोपणमा कहिलेकाँही १२ घण्टा लगातार खट्नुपर्छ । अहिले म बिहान ८ बजे अस्पताल आइपुग्छु । बेलुका ४ बजेसम्म डिउटी मै हुन्छु ।

नेपाली अन्य कामकाजी महिलाले जस्तै मैले पनि दोहोरो जिम्मेवारी पुरा गर्नुपर्छ । महिलाहरु जति नै अगाडी आए पनि उनीहरुलाई बाँध्ने केही तत्व हुन्छ । यो मेरो मात्रै होइन अन्य क्रिटिकल केयर नर्सको पनि अवस्था हो । मलाई परिवारको भरोसा र साथ भएकाले पनि अलि सहज छ । यो सहजता सबै नर्सले पाएका हुँदैनन् । अझ नेपालको सन्दर्भमा नर्सहरुले भोको पेट नै काम गरिरहेको अवस्था छ ।

कतिपय अस्पतालमा आज पनि नर्सहरुले मासिक १५ हजारमा काम गरिरहेका छन् । नर्सको आर्थिक अवस्थालाई लिएर बोल्न पनि लाज हुने अवस्था छ । सरकारले एउटा मान्छेको न्युनतम जीवन बाँच्न कति खर्च लाग्छ भनेर त्यहि अनुसारको तलब खाका बनाउनुपर्ने हो ।

एउटा नर्सको महत्व कति हो भन्ने कुरा त भनिराख्नुपर्ने अवस्था छैन । तर उनीहरुकै जीविकोपार्जन गर्न सक्ने अवस्था छैन । प्राइभेट अस्पतालको अवस्था भन्दा सरकारी अस्पतालका नर्सको अवस्था अलि राम्रो त छ, पर्याप्त छैन । पछिल्लो समय विदेश जाने नर्सहरुको संख्या ठूलो छ । यसको पछाडी सबैभन्दा ठूलो भूमिका आर्थिक पाटोले नै खेलेको छ ।

अर्को कुरा पर्याप्त जनशक्ति पनि छैन् । थोरै जनशक्तिले धेरै काम गर्नुपर्छ, शारीरिक तथा मानसिक थकान बढ्न जान्छ । आईसीयूमा रहेका जटिल बिरामीलाई एक सेकेण्ड छोड्न मिल्दैन । त्यस्ता बिरामीलाई प्रर्याप्त समय दिन नसकेको खण्डमा उनीहरुको ज्यान नै तल माथि हुन सक्छ । नेपालमा तालिम प्राप्त जनशक्तिको अभावका कारण तत्काल भर्ना भएको नर्सको हातमा आईसियूका सिकिस्त बिरामी छाड्नुपर्ने स्थिति छ । यो चुनौतिको विषय हो । त्यसैले नीति निर्माण तहमा नै क्रिटिकल केयरसम्बन्धि प्रणाली र मापदण्डको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्