Logo
|
Tuesday 22nd October 2024
Logo

epaper

दम्पतीको खुसी नै हाम्रो सफलता हो



वरिष्ठ निःसन्तान एवं आइभिएफ स्पेसलिस्ट डा. सविना श्रेष्ठ विगत २१ वर्षदेखि प्रजनन स्वास्थ्यको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । काठमाडौँ फर्टिलिटी सेन्टरकी सञ्चालकसमेत रहनुभएकी डा. सविनाको समूहले आइभिएफ प्रविधिमार्फत् हालसम्म करिब १ हजारभन्दा बढी निःसन्तान दम्पतीलाई सन्तान सुख प्रदान गरिसकेको छ भने आइयूबाट करिब ४ हजार, मेडिसिनलगायत सामान्य उपचारबाट करिब ६ हजारले सन्तान सुख प्राप्त गरिसकेका छन् । सन् २००३ मा रजिस्ट्रारका रूपमा ओम अस्पतालबाट आफ्नो करियरको सुरुआत गर्नुभएकी उहाँले सोही समयमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालसँग सहकार्य गर्ने अवसर पाउनुभयो । डा. रिजालको कार्यव्यस्तताका कारण टेस्टट्युब प्रविधिमार्फत् हुने सबै कामको जिम्मा डा. सविनाकै काँधमा आइपुग्यो । सेवा सुरु गरेको १ वर्षमै उहाँले सफलता प्राप्त गर्नुभयो । सन् २००४ को जुलाईमा उहाँको टिमको प्रयासले सार्थकता पायो, अर्थात् ओम अस्पतालमा पहिलो पटक आइभिएफ प्रविधिबाट ‘टेस्टट्युब बेबी’को जन्म भयो । टेस्टट्युब प्रविधिबाट जन्मिएका ओममणि तमाङ अहिले २० वर्षका लक्का जवान भइसकेका छन् । जानौं उहाँको अनुभव र अनुभूति आफ्नै भाषामा ।

जुनसुकै फिल्डमा पनि उतारचढाव हुन्छ, सफलता–असफलता सँगै आउने हो । सुरुको समयमा यो क्षेत्रमा काम गर्न एकदमै गाह्रो थियो । टेस्टट्युब प्रविधिलाई नेपाली समाजले स्वीकार गर्न सकेको अवस्था थिएन । आफ्नो बच्चा होइन,अरू कसैको बच्चा हो जस्तो व्यवहार गर्ने अवस्था थियो । सन्तानको चाहनामा तड्पिएका महिलाहरू लुकीछिपी उपचारका लागि आउनुपर्ने, यदि कसैले टेस्टट्युब गरेको भनेर थाहा पाए भने ‘अर्काको बच्चा राखेको’ चर्चा हुन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ, प्रायः सबैले यसबारे बुझिसकेका छन् । टेस्टट्युब प्रविधिमा पनि आफ्नै बच्चा हुने रहेछ भनेर स्वीकार गरिसकेको अवस्था छ ।

सुरुका दिनमा आइभिएफ प्रविधि ३० देखि ३५ प्रतिशत मात्रै सफल हुने गरेको थियो, तर अहिले सुधार भएर ६० प्रतिशतसम्म पुगिसकेको छ । सन्तान नभएर पीडामा रहेका दम्पतीलाई सन्तान सुख दिन पाउँदा हामीलाई सबैभन्दा ठुलो सफलता मिलेको अनुभूति हुन्छ । सन्तानको चाहनामा आउने दम्पतीको अनुभव र पीडा सुन्दा हामी आफैँ दुखी हुन्छौँ । आमा बन्न नसकेका कतिपय आमाहरू रुँदै पीडा सुनाउनुहुन्छ, उहाँहरूको कुरा सुन्दा लाग्छ– निःसन्तान हुनु नेपालमा कति ठुलो अपराध मानिएको रहेछ, कति ‘टर्चर’ सहनुपर्दो रहेछ !

पछिल्लो समय निःसन्तान दम्पतीले आइभिएफ प्रविधि स्वीकार गरे पनि यसमा चरम विकृति भित्रिएको छ । यो आफैँमा अलि महँगो उपचार पद्धति हो । औषधि/उपकरण सबै विदेशबाट झिकाउनुपर्छ । त्यसकारण पनि खर्च हुन आउँछ । तर, पछिल्लो समय जताततै ‘आइभिएफबाट सस्तोमा उपचार’ भन्दै विज्ञापन गरिएको पाइन्छ । फेसबुकतिर सस्तोमा उपचार भनेर विज्ञापन हेरेर आउने दम्पतीलाई लाग्ने वास्तविक शुल्क बताउँदा आफू ठगिएको अनुभव गर्ने गरेको पाइन्छ ।


यस्तै, व्यक्तिको उमेर, शारीरिक अवस्था हेरेर पनि शुल्कमा तलमाथि हुन सक्छ । जस्तो–डिम्बको गुणस्तर बढाउने औषधि प्रयोग गर्दा कम उमेरका महिलालाई कम र बढी उमेरका महिलालाई बढी लाग्न सक्छ । सामान्यतः एक निःसन्तान दम्पतीको आइभिएफ गर्न औषधिसहित करिब ३ लाख देखि ३.५ लाख रुपैयाँसम्म शुल्क लाग्छ । यो उपचार गर्नुको मुख्य उद्देश्य दम्पतीलाई सन्तान सुख दिनु हो । तर, कसैको भने सन्तान नहुन पनि सक्छ । यो हाम्रो हातमा हुने विषय पनि होइन ।

जुन डाक्टरले बिरामीको समस्या बुझेर सोहीअनुसार उपचार गर्न सक्छ, उही सफल र अब्बल डाक्टर बन्न सक्छ । बिरामीले पनि उपचारमा विश्वास गर्नुपर्यो, त्यो विश्वासको वातावरण डाक्टरले नै बनाउने हो । भएको समस्या बिरामीलाई ट्रान्सपरेन्ट भएर भनिदिनुपर्छ । एक मात्र भरोसा गरेर, विश्वास बोकेर आएका बिरामीप्रति विश्वासघात गर्नुहुँदैन ।

यदि पाठेघरमा बच्चा बस्ने ठाउँ राम्रो नभएमा, डिम्बको उत्पादन नभएमा बच्चा बस्ने वा नबस्नेबारे एकिन गरेरै भन्न सकिन्छ । तर, अन्य कुरामा भने यसै हुन्छ भनेर ठोकुवा गर्न सकिँदैन । कहिलेकाहीँ श्रीमान्–श्रीमतीको स्वास्थ्य अवस्था ठिक हुँदाहुँदै पनि बच्चा भइरहेको हुँदैन । यसमा के कारण हो भनेर यसै भन्न सकिँदैन ।

हरेक संस्थाले आफ्नो सही डाटा राख्नुपर्छ । यस्ता डाटा केन्द्रीकृत हुन सकेमा कुन ठाउँको अवस्था के छ, कहाँ के भइरहेको छ भन्ने विषयमा स्पष्ट हुन सकिन्छ । अहिलेसम्म टेक होम बेबी ३५ प्रतिशत जति छ । त्यो पनि सेन्टरअनुसार फरक पर्छ । अन्य उपचार नगरी आइभिएफ गराउन आउने युवापुस्ताका व्यक्तिको सफलता राम्रो हुन्छ । उमेर धेरै भएर, अन्य धेरै प्रकारका उपचार गराएर डिम्ब सिध्याएर आएकाहरूमा भने सफलता दर कम हुन्छ । उपचार गर्न आउने सबैलाई आइभिएफ नै गर्नुपर्छ भन्ने होइन । तर, गर्दा सफल हुने सम्भावना बढी हुन्छ ।

आइभिएफको इन्डिकेसनमा नपरेकाहरूले आफैँ अझै कोसिस गर्दा सन्तान प्राप्त गर्न सकिन्छ । सन्तान प्राप्तिको प्रयास असफल हुँदा दम्पतीमात्र होइन, हामी पनि निराश हुन्छौँ । हामीले पनि कति धेरै कोसिस गरेका हुन्छौँ, बच्चा भइदेओस् भन्ने हुन्छ । सफल भएन भने किन भएन भन्ने कतिपय प्रश्नको त जबाफ हामीसँग पनि हुँदैन, दम्पतीलाई के जबाफ दिने !

अनि खुसी लाग्छ…
मैले मुम्बई र जर्मनी गएर तालिम लिएकी छु । एम्ब्रियोलोजी र क्लिनिकल दुवै काम गरिरहेकी छु । निःसन्तान भएर समाजको, परिवारको टर्चर सहेर, दसतिर उपचार गराउँदै भौँतारिइरहेका दम्पतीको काखमा बच्चा राखिदिन सक्दा युद्ध नै जितेको अनुभूति हुन्छ । त्यो अवस्थामा सन्तान प्राप्त गरेको दम्पतीले जसरी शब्दमा खुसी वर्णन गर्न सक्दैन, हामी पनि त्यति नै खुसी हुन्छौँ । दम्पतीको अनुहारमा आएको मुस्कान नै हाम्रा लागि सफलता हो ।

दैनिकी नै निःसन्तानको सेवा !
म बिहान ८ बजेदेखि १ बजेसम्म ओम आइभिएफ सेन्टरमा हुन्छु । दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म भने काठमाडौँ फर्टिलिटी सेन्टरमा सेवा दिने गरेकी छु । सुरुसुरुमा बाहिरको डाक्टरमा भर पर्नुपर्दा ग्रुप बनाएर डिम्ब संकलन गरिन्थ्यो । तर पछिल्लो केही वर्षदेखि भने दैनिक डिम्ब संकलन (पिकअप) गर्दै आएकी छु ।

उपचारमा काउन्सिलिङको भूमिका
यो उपचार पद्धतिका लागि काउन्सिलिङ एकदमै महत्वपूर्ण छ । हामीसँग एक जना बहिनी (पूजा) हुनुहुन्छ । उहाँ पनि ३–४ पटक आइभिएफ असफल भएर पछि सफल भएको व्यक्ति हुनुहुन्छ । उहाँले पनि काउन्सिलिङ गर्नुहुन्छ । कतिपय नर्सिङ स्टाफहरूसँग बिरामी पनि खुलेर बोल्छन् । यदि काउन्सिलिङ राम्ररी गर्न सकिएन र दम्पतीले आफ्नो समस्या र हिस्ट्री खुलेर बताउन सकेनन् भने सही उपचार हुन सक्दैन ।

तनावले पनि घटाउँछ सफलता
दम्पतीले स्ट्रेस लिनै हुँदैन । यसले प्रतिफलमा असर गर्छ । मानसिक रूपमा दम्पती एकदमै पोजिटिभ हुनुपर्छ, खुसी मुडमा हुर्नुपर्छ । काउन्सिलिङ गर्दा पनि साइकोलोजिकल आधारमा गर्नुपर्छ । व्यक्तिले कति उपचार ग¥यो ? परिवारबाट कसरी सपोर्ट पाइरहेको छ ? सोही अनुसार काउन्सिलिङ गर्नुपर्ने हुन्छ ।

पछिल्लो समय उपचारका नाममा धेरैतिर चहार्दै हिँड्ने प्रचलन छ । एउटा डाक्टरलाई देखायो, तुरुन्तै प्रतिफल आएन भने अर्कोतिर गइहाल्ने, यो राम्रो होइन । आफूलाई अनुकूल हुने डाक्टरसँग निरन्तर फलोअपमा रहेमा सफलता हाँसिल गर्न सकिन्छ ।

अहिलेसम्मको अनुभवमा सहरका भन्दा गाउँघरका दम्पती पारिवारिक र सामाजिक रूपमा पीडित हुने गरेको पाएकी छु । विशेषगरी महिलाहरूले सबैतिरबाट पीडा भोगेका छन् । बच्चा नभएमा अर्को विवाहका लागि डिभोर्स पेपर साइन गर्ने सर्तमा अन्तिमपटक उपचार गराउन आउने महिलाको संख्या पनि उत्तिकै छ । यस्तो तनावको अवस्थामा प्रतिफल राम्रो आउँदैन । स्ट्रेसले गर्दा महिला–पुरुष दुवैको डिम्ब र शुक्रकिटमा समस्या आउन सक्छ ।

निःसन्तानको उपचार गराइरहेका करिब १० प्रतिशतले एन्टिडिप्रेसनको औषधि सेवन गरिरहेको पाइन्छ । यो महिला, पुरुष दुवैमा लागू हुन्छ । अहिले त यो संख्या झन् धेरै छ । त्यसैले यसमा परिवारको भूमिका अझ महत्वपूर्ण हुन्छ । बच्चा नभएमा छोराको अर्को विवाह गरिदिने सोच छ । तर, ५० प्रतिशत त छोराकै समस्याका कारण बच्चा भइरहेको हुँदैन भन्ने परिवारलाई बुझाउनु आजको प्रमुख चुनौती हो । किनकि यो कुरा परिवारले स्वीकार नै गरिरहेको छैन ।

सुरु–सुरुमा त तेस्रो श्रीमती लिएर समेत बच्चाका लागि आउने गरेका घटना छन् । ३ वटा बिहे गरुन्जेल पुरुषले आफूमा पो समस्या हो कि ! भनेर एक पटक पनि जाँच गरेको हुँदैन । तर, आजकल श्रीमान्–श्रीमती दुवैले जाँच गर्ने प्रचलन बढेको छ । दम्पतीले यसको महत्व बुझेका छन् । पहिले–पहिले श्रीमान्को शुक्रकिट जाँच गर्न ‘महाभारत’ जस्तै हुन्थ्यो । सन्तान नहुनुमा ३० प्रतिशत श्रीमान्, ३० प्रतिशत श्रीमती र ३० प्रतिशत अनएक्सप्लेन हुन्छ । दुवैमा कम्बाइन पनि हुनसक्छ । त्यसैले दुवैको जाँच गर्नु महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्