Logo
|
Sunday 27th October 2024
Logo

epaper

प्राइभेट प्राक्टिस नगर्ने डाक्टर



हाल धेरैको मुटुको सफल एन्जिओप्लाष्टि र एन्जिओग्राफी गरिरहेको छु । एन्जिओप्लाष्टि गर्न शुरु गरेको सन् २०१४ देखि हो जुनबेला मुलुकमा धेरै एन्जिओप्लाष्टि हुँदैनथ्यो । म लगायत मेरो टिमले एक दिनमा ५० वटासम्म एन्जिओप्लाष्टि, एन्जिओग्राम, डिभाइस क्लोजर, पिटिएमसीलगायतका प्रोस्युजरहरु गरेको छ ।

हाल हृदयघात भएका व्यक्तिहरुको प्रति महिना २ सयभन्दा बढीको एन्जिओप्लाष्टि गर्दछौं । केन्द्रमा प्रतिदिन ६—७ वटा ओपन हार्ट सर्जरी हुने गर्छ ।

हरेक महिना केन्द्रमा करिब १२ देखि १३ हजार बिरामी मुटु जाँच गराउन आउँछन् । आकस्मिक सेवा लिनेहरुको संख्या प्रति महिना १८ सयको हाराहारीमा छ । त्यसमा अधिकांश हृदयघातका बिरामी रहेका छन् । साथै मुटु फेलियर, मुटुको चालमा गडबडी, उच्चरक्तचापका बिरामीहरु पनि आकस्मिक सेवा लिन आइपुग्छन् । म काठमाडौंभित्र प्राइभेट प्राक्टिस गर्दिनँ । केन्द्रमा मात्र काम गर्ने भएकाले बिहानदेखि बेलुकासम्म कार्यालयको काम क्वार्टरमा बसेर पनि गरिरहेको हुन्छु ।

काममा रमाउन खोज्यो भने त्यस्तो अनुभव हुने रहेनछ । मलाई त बिहानदेखि बेलुकासम्म अप्रेसन गरिरहन पाएहुन्थ्यो जस्तो लाग्छ । क्याथल्याबमा बिरामीको उपचार गर्न निकै मजा आउँछ जुन ठाउँमा एन्जिओग्राम, एन्जिओप्लाष्टि एएसडी डिभाइस क्लोजर गरिन्छ ।

बेलुका ७—८ बजेसम्म काम गर्न पनि पछि हट्दिन । यो मेरो रुचि हो । केही वर्षअघि ४८ घण्टाभित्र ५५ जनाको छाति नचिरी मुटुको प्वाल टाल्ने विधि एएसडी डिभाइस क्लोजर गर्न हाम्रो टिम सफल भएको थियो । अहिले केन्द्रमा वर्षमा ४ सयदेखि ५ सयसम्मको हाराहारीमा डिभाइस क्लोजरसम्बन्धि शल्यक्रिया हुने गर्छ । १५ वर्ष मुनिका सबै नेपालीलाई निःशुल्क छ । यो संसारकै सबैभन्दा सस्तोमा सेवा उपलब्ध गराइएको छ ।

सम्बन्धित विधामा ज्ञानको जरुरत पर्छ । बिरामीको मर्का र पीडा राम्रोसँग सुनिदिनुपर्छ । समय दिएर बिरामीको रोग पहिचान गर्नुपर्छ । बिरामीबाट फाइदा लिने चेष्टा गर्न हुँदैन ।

म बिरामी भएर कुनै एउटा डाक्टरकोमा जाँदा ‘त्यो डाक्टरले मलाई जसरी उपचार गरोस् भन्ने चाहन्छु’ त्यसरी नै एउटा बिरामीलाई उपचार गर्न सकेमा सफल डाक्टर बन्न त्यति नै काफी हुन्छ ।
(डा. अधिकारी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत हुनुहुन्छ । उहाँ निवर्तमान हस्पिटल डाइरेक्टर हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्