Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

खानपान सन्तुलनमा राख्न सके कलेजो, मुटु, मिर्गौला, पाचन प्रणाली, र मस्तिष्कजस्ता महत्वपूर्ण अंग लामो समयसम्म स्वस्थ र तन्दुरुस्त रहन मद्धत पुग्ने

सन्तुलित खानपान, व्यायाम, र स्वस्थ जीवनशैली अपनाऔं



डा. सम्पदा श्रेष्ठ

डा. सम्पदा श्रेष्ठ

तिहार हाम्रो संस्कृति, परम्परा, र सम्बन्धहरूको चाड हो । यो बेला परिवार र साथीभाइसँग मिलेर रमाइलो गर्ने, मिठो मसिनो खाने, र विभिन्न परिकारको आनन्द लिने अवसर हो । तर, यस्ता चाडपर्वमा अनियन्त्रित खानपानले हाम्रो स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ । तिहारमा खानपान सन्तुलनमा राखेर कलेजो, मुटु, मिर्गौला, पाचन प्रणाली, र मस्तिष्कजस्ता महत्वपूर्ण अंगहरूको ख्याल राख्न सके लामो समयसम्म स्वस्थ र तन्दुरुस्त रहन सकिन्छ ।

कलेजो
तिहारमा रक्सी, अल्कोहल पिउनु सामान्य मानिन्छ । तर यसको नियमित सेवनले स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । रक्सीको अत्यधिक सेवनले कलेजोमा बोसो जम्न सक्छ, जसलाई ‘फ्याटी लिभर डिजिज’ भनिन्छ । यो रोगले कलेजोको कार्य क्षमता कमजोर बनाउँदै लिभर सिरोसिस र क्यान्सरको खतरा निम्त्याउनसक्छ । तर रक्सी नपिउनेलाई पनि चिल्लो, गुलियो र प्रशोधित खानाको अत्यधिक सेवनले कलेजोमा बोसो जम्न सक्छ । कलेजोलाई स्वस्थ राख्न रक्सी, गुलियो र चिल्लो खानाको सेवन सीमित गर्न जरूरी छ ।

मुटु

गुलियो र चिल्लो परिकारले हाम्रो मुटुमा पनि असर पुर्याउँछ । नियमित चिल्लो र बोसोयुक्त खानाले रक्तनलीहरूमा बोसो जम्न सक्छ र यसले कोलेस्ट्रोल बढाएर हृदयघात र स्ट्रोकको जोखिम बढाउँछ । मुटुलाई स्वस्थ राख्न र हाम्रो हृदयलाई मजबुत बनाउन कम चिल्लोयुक्त सागसब्जी, फलफूल, र गेडागुडीको मात्रा बढाएर खाना सन्तुलित बनाउनुपर्छ ।

मिर्गौला

मिर्गौलाले शरीरबाट विषाक्त पदार्थ हटाउने मुख्य काम गर्छ । तर, अत्यधिक रक्सी र नुनिलो खानेकुरा मिर्गौलामा भार थप्न सक्छअ। यस्तो खानाले मिर्गौलाको कार्यक्षमता कमजोर हुन्छ, जसले दीर्घकालीन मिर्गौला रोगको खतरा बढाउँछ । तसर्थ, मिर्गौलाको स्वस्थताको लागि पर्याप्त पानी पिउनु, कम नुनिलो खाना खाने, र प्रशोधित खानाहरूबाट टाढा रहनु उपयुक्त हुन्छ ।

पाचन प्रणाली
चाडपर्वमा अत्यधिक मसालेदार र तेलिलो खानाले हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पार्न सक्छ । यसले ग्याँस, एसिडिटी र अपचको समस्या निम्त्याउँछ । पाचन प्रणालीलाई सन्तुलित राख्न पर्याप्त पानी पिउनु, सागसब्जी र सलादको सेवन बढाउनु र सामान्य खानालाई प्राथमिकता दिनु आवश्यक छ । यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ र दुरुस्त राख्न मद्दत गर्छ ।

मस्तिष्कमा असर
रक्सीले कलेजो र मुटु मात्रै होइन, हाम्रो मस्तिष्कमा पनि नकारात्मक असर पार्छ । अत्यधिक रक्सी सेवनले स्मरणशक्ति, निर्णय क्षमता र ध्यान केन्द्रित गर्ने क्षमता घटाउँछ । साथै गुलियो र चिल्लो परिकारले मानसिक थकान र अशान्ति बढाउन सक्छ । त्यसैले तिहारमा मनलाई शान्त राख्दै, रक्सीको मात्रा सीमित राख्नु, र पौष्टिक आहारलाई प्राथमिकता दिनु मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्छ ।

स्वास्थ्यलाई प्राथमिकता दिने केही सुझाव

तिहारको उमंग र रमाइलो कायम राख्दै स्वास्थ्यलाई प्राथमिकता दिने केही सरल उपायहरू अपनाउन सकिन्छ । चाडपर्वमा खानपानमा सन्तुलन राख्ने, तौल सन्तुलित राख्न नियमित शारीरिक व्यायाम गर्ने, र शुद्ध खानालाई प्राथमिकता दिनु स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यहाँ केही सुझावहरू छन्

रक्सी र चिल्लो खानाको सीमित सेवन
रक्सी र अत्यधिक चिल्लो खानाले शरीरमा बोसो जम्न सक्छ, जसले कलेजो, मुटु, र मिर्गौलामा प्रतिकूल असर पार्न सक्छ । त्यसैले, यस्तो खानाको सेवनमा सन्तुलन राखौं।

गुलियो परिकारमा संयम

तिहारमा गुलियो खाने चलन छ, तर अत्यधिक गुलियो खाँदा शरीरमा बोसो जम्ने र कोलेस्ट्रोल बढ्ने खतरा हुन्छ। यसैले, गुलियो खानामा संयम अपनाऔं र स्वस्थ आहारमा जोड दिऔं ।

सागसब्जी र फलफूलको सेवन
चाडपर्वको समयमा सागसब्जी, फलफूल, र गेडागुडी जस्ता पोषक तत्वयुक्त खानेकुरा सेवन गरौं, जसले शरीरलाई पोषण दिन्छ र पाचनलाई मद्दत गर्छ ।

शारीरिक व्यायाम र पानीको सेवन
प्रत्येक दिन कम्तीमा ३० मिनेट शारीरिक व्यायाम गरौं, जसले शरीरलाई फिट राख्न मद्दत गर्छ । साथै पर्याप्त मात्रामा पानी पिउनु पनि आवश्यक छ, जसले पाचन प्रणाली र मिर्गौलालाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।


मानसिक स्वास्थ्यको ख्याल
चाडपर्वको उमंग र खुशीलाई आत्मसात् गर्दै मानसिक शान्तिका लागि ध्यान र विश्रामलाई प्राथमिकता दिनु पनि उत्तिकै महत्वपूर्ण छ ।

यसरी सन्तुलित खानपान, व्यायाम, र स्वस्थ जीवनशैली अपनाएर तिहारलाई स्वस्थवद्र्धक तरिकाले मनाऔं । स्वास्थ्यलाई प्राथमिकता दिएर हामी यो चाडपर्वमा वास्तविक उमंगको आनन्द लिन सक्छौं, जसले हामीलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्त र सशक्त बनाउँछ । यसले जीवनको हरेक पललाई अझ ऊर्जा र खुशीले भरिदिन्छ । तिहारको शुभकामना !!!

प्रतिक्रिया दिनुहोस्