यस्ता छन् खुर्सानी, बेसार र अन्य मसला खानुका फाइदा
नेपाल हेल्थ न्युज, काठमाडौँ । खुर्सानी, बेसार र अन्य मसलाहरू स्वास्थ्यका लागि फाइदाजनक रहेको दाबी गरिँदै आएको छ भने तिनीहरूले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन् भनेर भनिँदै आएको छ। तर के मरमसलाहरूले साँच्चिकै हाम्रा खानामा फाइदा थप्न सक्छन् अथवा हामीलाई रोगबाट बचाउन मद्दत गर्न सक्छन्?
मसला हजारौँ वर्षदेखि हाम्रो आहारको एउटा हिस्साको रूपमा रहिआएको छ- हामीले चिप्समाथि मरिचको धुलो छर्केर खाने, अदुवावाला चिया खाने र खानासँग खुर्सानी खाने गर्दै आएका हौँ।
तर पछिल्लो समय कतिपय मसलालाई अनौपचारिक ढङ्गले हाम्रो दैनिक पाककलाको सामग्रीबाट सबै रोगको निदान गर्ने ‘सूपरफूड’का रूपमा प्रवर्द्धन गर्न थालिएको छ।
विवरणहरूमा जनाइएअनुसार सन् २०१६ मा राष्ट्रपति पदका लागि चुनावी अभियानका क्रममा आफूलाई बिरामी हुनबाट जोगाउन हिलरी क्लिन्टन दैनिक एउटा खुर्सानी खाने गर्थिन्।
एशियामा हजारौँ वर्षदेखि प्रयोगमा रहिआएको बेसार हिजोआज संसारभरि कफी पसलहरूमा “गोल्डेन लाटे” को स्वरूपमा पाइने गरेको छ।
कोभिड महामारीका बेला भाइरल भएका सन्देशहरूमा “प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन” र आफूलाई बिरामी हुनबाट जोगाउन भन्दै त्यसको प्रयोग गर्नुपर्ने दाबी गरिएको थियो। एक शेफका अनुसार अहिले त्यो कुरा “सर्वत्र” देखिन्छ। तर मरमसलाहरूले हाम्रा खानामा के साँच्चिकै फाइदा थप्छन् अथवा बिरामी हुनबाट जोगाउँछन्? अनि के तीमध्ये केहीले हामीलाई हानि पनि पुर्याउन सक्छन्?
खुर्सानी खानुका फाइदा
एकदमै परिचित र व्यापक प्रयोग हुने मसलाहरूमध्ये खुर्सानी एउटा हो। थुप्रै अध्ययनले हाम्रो स्वास्थ्यमा त्यसका सम्भावित असरलाई हेरेका छन्। तर त्यसका फाइदा र हानि दुवै देखिएका छन्।
‘क्याप्सेइसिन’ खुर्सानीमा पाइने मुख्य सक्रिय तत्त्व हो। हामीले खुर्सानी खाएपछि त्यसका अणुहरूले हाम्रो शरीरभित्र रहेका तापमान ‘सेप्टर’हरूसँग अन्तरक्रिया गर्छन् र त्यस क्रममा तातोपनको आभास गराउने सङ्केतहरू मस्तिष्कलाई जान्छन्। यसले दीर्घजीवनका लागि सघाउन सक्ने कतिपय अध्ययनले सङ्केत पनि गरेका छन्।
सन् २०१९ मा इटलीको एउटा अध्ययनले हप्तामा चार पटक खुर्सानी भएको खाना खानेहरूलाई खुर्सानीयुक्त खाना नखानेहरूको तुलनामा मृत्युको जोखिम कम देखिएको जनाएको थियो। (अनुसन्धानकर्ताहरूले धूमपान, व्यायाम र समग्र आहारको गुणस्तरसहित जीवनशैलीका कतिपय पक्षमा नियन्त्रण गरेका थिए।)
सन् २०१५ मा चीनमा अनुसन्धानकर्ताहरूले खुर्सानी खाने बानी र करिब पाँच लाख वयस्कको स्वास्थ्यलाई हेरे। सो क्रममा उनीहरूले खुर्सानी खानेहरूमा मृत्युको जोखिम कम हुने गरेको तथ्य फेला पारे।
हप्तामा एक पटकभन्दा पनि कम पिरो खाने मानिसहरूको तुलनामा हरेक दिन पिरो खाना खानेहरूमा मृत्यु हुने जोखिम १४ प्रतिशतले कम देखिएको थियो।
“मुख्य नतिजामा उच्च मात्रामा पिरो खाना खानेहरूमा खास गरी क्यान्सर, मुटु रोग र श्वासप्रश्वाससम्बन्धी रोगबाट हुने मृत्युको जोखिम कम रहेको पाइयो,” हार्वर्ड विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थस्थित पोषणसम्बन्धी विषयकी प्राध्यापक लु कीले भनिन्।
यसको अर्थ यो होइन कि धेरै मात्रामा खुर्सानी खान थालेपछि तपाईँको स्वास्थ्यलाई राम्रो हुन्छ अथवा त्यसले श्वासप्रश्वाससम्बन्धी रोग लाग्नबाट जोगाउँछ।
कैयौँ अध्ययनहरूले ‘क्याप्सेइसिन’ले हाम्रो शरीरमा ऊर्जा खपत गर्ने मात्रा बढाउन सक्ने र भोक घटाउन सक्ने पनि देखाएका छन्।
मोटोपनको जोखिम कम
कतार विश्वविद्यालयको मानव पोषण विभागस्थित असोसिएट प्रोफेसर जुमिन शीका अनुसार पिरो खाँदा मोटोपन हुने जोखिम कम हुन्छ र उच्च रक्तचापका बिरामीलाई फाइदाजनक हुन्छ। खुर्सानी खाँदाको बोधात्मक असरबारे अध्ययन गरेपछि उनले तेस्रो असरको अपेक्षा गरिन्।
तर जब उनले चिनियाँ वयस्कहरूमा बोधात्मक असरबारे अध्ययन गरिन्, धेरै खुर्सानी खानेहरूमा बोधात्मक क्षमता कमजोर रहेको पाइन्।
यो प्रभाव खास गरी स्मरणशक्तिमा सबैभन्दा बलियो पाइयो : दिनहुँ ५० ग्राम खुर्सानी खाने व्यक्तिहरूमा स्वयं ‘रिपोर्ट’ गरिएको कमजोर स्मरणशक्तिको जोखिम लगभग दोबर थियो। यद्यपि स्वयं ‘रिपोर्ट’ गरिएका डेटा धेरैजसो अविश्वसनीय मानिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ।
खुर्सानी खाँदा पोलेको अनुभूति हुने कुराले वैज्ञानिकहरूलाई लामो समयदेखि आकर्षित पार्दै आएको छ।
त्यसले बोधात्मक क्षमताको ह्राससँग खुर्सानीको सम्बन्ध हुन सक्नेबारे केही जानकारी दिन्छ : त्यो संवेदना रोग तथा कीटाणुहरूबाट जोगिन बिरुवाहरूले विकास गरेको परिणाम हो।
“कतिपय बिरुवाहरू सिकारीबाट बच्नका निम्ति तितो वा पिरो रूपमा विकसित हुन्छन्, बिरुवाहरूले आफूलाई विषाक्त बनाउनु पनि राम्रो हुन्छ,” यूकेको न्यूकाशल विश्वविद्यालयस्थित ह्युमन न्यूट्रिशन रिसर्च सेन्टर पप्युलेशन हेल्थ साइन्सेस इन्स्टिच्यूटकी सिनिअर लेक्चरर कर्स्टन ब्रान्ट बताउँछिन्।
तर यी यौगिकहरूको असर कीराफट्याङ्ग्रामा भन्दा मानवमा कम हुन्छ। “विषको थोरै मात्राले राम्रो गर्न सक्छ। उदाहरणका लागि क्याफीनले हाम्रो पाचन प्रक्रियालाई तीव्र बनाउँछ र हामी अझ बढी जागेको महसुस गर्छौँ,” उनी भन्छिन्, “यद्यपि धेरै मात्रा चाहिँ तपाईँलाई हानिकारक हुन सक्छ।”
मसलाहरूमा स्वाद दिलाउने यौगिकहरू मानवलाई हानिकारक नहुने यूकेको बर्मिङ्घमस्थित अस्टन मेडिकल स्कुलका डाइटिशन तथा सिनिअर टिचिङ फेलो ड्वेन मेलरको तर्क छ।
“खाद्यपदार्थमा पाइने रङ्ग ल्याउने र तिखा स्वादहरू बोटबिरुवालाई कीराफट्याङ्ग्राबाट जोगाउनका लागि हुन्छन्, हामी ती स्वादहरूको विषाक्तता स्तरसँग परिचित भइसकेका छौँ। हामी बोटबिरुवाका यौगिकहरू जस्तो कि कालो चियामा पाइने ट्यानिनहरूसम्मलाई पनि सहन सक्छौँ। कतिपय प्रजातिहरू भने त्यो सक्दैनन्,” उनी भन्छन्।
अर्कोतर्फ केही किसिमका मसलामा पाइने एउटा यौगिकको असर फाइदाजनक हुन सक्छ। तर ठूलो परिवर्तन हुने गरी हामी पर्याप्त मात्रामा त्यो खाँदैनौँ।
बेसार प्रयोगका फाइदा
मानव स्वास्थ्यलाई फाइदा पुर्याउने अर्को लोकप्रिय मसला बेसार हो। यसको फाइदा मूलतः ‘कुर्क्युमिन’सँग जोडिन्छ। बेसारमा एक प्रकारको सानो अणु पाइन्छ, जुन सामान्यतया जलन, तनाव र अरू अवस्थामा वैकल्पिक उपचारको रूपमा प्रयोग हुन्छ।
यद्यपि बेसार फाइदाजनक हुन्छ भन्ने कुराको बलियो प्रमाणको अभाव देखिन्छ। प्रयोगशालामा परीक्षण गर्दा ‘कुर्क्युमिन’सँग क्यान्सरसँग लड्ने क्षमता रहेको कैयौँ अध्ययनले देखाएका छन्।
तर मानव शरीरको भन्दा प्रयोगशालाको अवस्था निकै फरक हुन्छ। सामान्य मात्रामा ‘कुर्क्युमिन’को उपस्थिति न्यून हुन्छ, जसले गर्दा भनिएको जस्तो फाइदा नहुन सक्छ।
येल विश्वविद्यालयस्थित इतिहास विषयका प्राध्यापक पल फ्रीड्मेनका अनुसार पश्चिमा विश्वमा बेसारसहितका मरमसलाहरूप्रति वैकल्पिक औषधिका रूपमा रुचि बढेको पाइएको पछिल्लो समय चाहिँ मध्यकालीन युगमा हो, जति बेला मसलामा रोग निको पार्ने क्षमता रहेको ठानिन्थ्यो।
“खानामा सन्तुलनका लागि मसलाहरू प्रयोग गरिन्थ्यो। मानिसहरूले खानालाई तातो, चिसो, ओसिलो र सुक्खा गुण भएको मान्थे, अनि त्यसमा उनीहरूलाई सन्तुलन आवश्यक थियो,” फ्रीडमेन भन्छन्। उदाहरणका लागि माछालाई चिसो र ओसिलो मानिन्थ्यो भने मसलालाई तातो र सुक्खा मानिन्थ्यो।
खानालाई औषधिको प्रयोग गर्ने र तातो, चिसो अथवा ओसिलो र सुक्खाबीच सन्तुलन कायम गर्नु आयुर्वेदिक औषधिका प्रमुख सिद्धान्तभित्र आउँछ, जुन अभ्यास भारतमा हजारौँ वर्षदेखि चलिआएको छ।
मिनेसोटा विश्वविद्यालयको थेरप्यूटिक डिस्कभरी एन्ड डिभलप्मन्ट इन्स्टिच्यूटकी पूर्वशोधसहायक प्राध्यापक क्याथ्रिन नेल्सनका अनुसार बेसारमा केही फाइदा हुन सक्छ, तर त्यो ‘कुर्क्युमिन’का कारण होइन।
साथै यदि बेसारलाई भोजनको रूपमा पकाइन्छ भने त्यसलाई अन्य खानेकुरासँग मिसाइन्छ र तातो बनाइन्छ। यसकारण यसका रासायनिक तत्त्वहरू परिवर्तन हुन्छन्।
“बेसारमा केही अन्य कुरा हुन सक्छ, तर त्यो कुर्क्युमिन होइन। र यो एउटै कुरा नहुन सक्छ। फाइदा पुर्याउनका लागि यसलाई रासायनिक रूपमा संशोधन गर्नु वा अरूसँग थप्नुपर्ने हुन्छ।”
कार्य-कारण सम्बन्ध
खुर्सानी र बेसारबारे व्यापक अध्ययन भएका छन्। तर अधिकांश परीक्षणहरूले तिनको सेवन तथा स्वास्थ्यमा पर्ने असरसम्बन्धी तथ्याङ्कहरूको तुलना गरेका छन्, जुन कुराले कार्य र कारणलाई अलग राख्दैन।
अनि मानव शरीरमा उत्पन्न हुने प्रतिक्रियाहरू प्रयोगशालाहरूमा गरिएका अनुसन्धानअनुसार नहुन पनि सक्छन्। पोषणसम्बन्धी थुप्रै अध्ययनहरूबाट कार्य-कारण र असर छुट्ट्याउन गाह्रो छ।
उदाहरणका लागि सन् २०१९ मा इटलीमा गरिएको अध्ययनले खुर्सानी सेवनको सम्बन्ध मृत्युको कम जोखिमसँग देखायो। तर त्यो एउटा पर्यवेक्षणात्मक अध्ययन थियो।
त्यसैले यो कुरा भन्न असम्भव छ कि खुर्सानी खानुले दीर्घजीवनमा सघायो, वा स्वस्थ व्यक्तिहरूले पहिलेदेखिनै धेरै खुर्सानी खान्छन्, या अरू केही कारण छन्।
कतिपय अनुसन्धानकर्ताहरूको विचारमा हामी के खान्छौँ, ती कुराका आधारमा हाम्रो स्वास्थ्यलाई मसलाबाट हुने गर्छ।
उदाहरणका लागि नुनको साटो मसलाहरू प्रयोग गर्ने चलन पनि रहेको छ, न्यूयोर्कस्थित ल्याङ्गोन हेल्थ मेडिकल सेन्टरस्थित क्लिनिकल असिस्टन्ट प्रोफेसर लिपी रोय भन्छिन्। “मसलाहरूले खानालाई स्वादिलो र बास्नादार बनाउँछन्। अनि तिनीहरू नुनको तुलनामा स्वस्थकर हुन सक्छन्।” बीबीसी