दिनको समयमा धेरै निद्रा लाग्नु पूर्व डिमेन्सियाको संकेतः अध्ययन
नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो समय विश्वभर नै डिमेन्सियाका केसहरू तीव्र गतिमा फैलिरहेका छन् । पहिले ६५ वर्षभन्दा माथिका व्यक्तिहरुलाई हुने डिमेन्सिया रोगबाट अहिले युवाहरु पनि शिकार हुन थालेका छन् । डिमेन्सियबाट पीडित व्यक्तिले आफ्नो दैनिक कार्य राम्रोसँग गर्न सक्दैनन् । डिमेन्सिया मस्तिष्कसँग सम्बन्धित रोग हो ।
दिनको समयमा धेरै निद्रा लाग्नु पूर्व डिमेन्सियाको पुर्व–संकेत वा लक्षण हुनसक्ने एक अध्ययनले देखाएको छ । दिनमा धेरै सुत्ने मानिसमा डिमेन्सियाको जोखिम बढ्ने देखाएको हो ।
अध्ययनले के भन्छ ?
अमेरिकन एकेडेमी अफ न्यूरोलोजीको मेडिकल जर्नलमा प्रकाशित अध्ययनले दिउँसो अत्यधिक सुत्नु र डिमेन्सियाबीच प्रत्यक्ष सम्बन्ध रहेको देखाएको हो । सामान्यतया, वृद्ध मानिसहरु दिनमा सुत्न मन पराउँछन् । जसले डिमेन्सियाको जोखिम उच्च हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । यो अवस्थाले प्रि–डिमेन्सियालाई संकेत गर्ने उनीहरुको भनाइ छ ।
दिउँसोको निन्द्रा र डिमेन्सियाबिचको सम्बन्ध
उक्त अध्ययनमा ७६ वर्ष उमेर समूहका ४ सय ४५ वृद्धवृद्धाहरुलाई समावेश गरिएको थियो । उनीहरुको दैनिक क्रियाकलापलाई नजिकबाट नियालिएको थियो । उनीहरुको सुत्ने बानीलाई राम्रोसँग अवलोकन गरिएको थियो । तिमध्ये १७७ जनामा निद्राको गडबडी देखिएको थियो ।
‘दिनमा अत्यधिक निद्रा लाग्ने वा कम ऊर्जा र थकान भएका मानिसलाई मोटर कग्निटिभ रिस्क सिन्ड्रोम (एमसीआर) हुने खतरा बढी हुन्छ, जुन प्रि-डिमेन्सिया अवस्था हो ।’– अनुसन्धानकर्ताले भनेका छन् ।
डिमेन्सियाबाट बच्ने उपाय
डिमेन्सियाबाट बच्न सन्तुलित र राम्रो आहार लिनुपर्छ । उच्च रक्तचाप नियन्त्रण राख्नुपर्छ । मानसिक रूपमा सक्रिय रहनुपर्छ । मानिसहरूसँग कुराकानी गरिरहनुपर्छ ।