मधुमेहका कारण दृष्टि गुम्ने अवस्थाबाट बचाउन एआई, कसरी काम गर्छ ?
नेपाल हेल्थ न्युज, काठमाडौँ । आफूलाई मधुमेह छ भन्ने थाहा हुँदा टेरी क्विन किशोरावस्थामा थिए। अरुभन्दा फरक भएको महसुस हुन नदिनका लागि उनले एक प्रकारले बारम्बार गरिने परीक्षणविरुद्ध विद्रोह नै गरे। कुनै दिन आफ्नो खुट्टा काटिएला भन्ने उनको सबैभन्दा ठूलो डर थियो। मधुमेहका कारण आँखाको ज्योति गुम्न सक्छ भन्नेबारे चाहिँ उनी बेखबर थिए।
“मैले कहिल्यै पनि आँखाको ज्योति गुमाउँछु भन्ने सोचिनँ,” वेस्ट योर्कशरनिवासी उनले भने। एक दिन उनको आँखामा रगत बग्यो। चिकित्सकले उनलाई ‘डाइबेटिक रेटिनोप्याथी’ भएको बताए। त्यो भनेको मधुमेहका कारण आँखाको रेटिनामा रहेका रक्तनलीहरूमा असर पर्नु हो। त्यसका लागि लेजर उपचार विधि र खोपको आवश्यकता पर्छ।
अन्तत: उनको खस्कँदो दृष्टि क्षमता जोगाउनका लागि उपचार मात्र पर्याप्त भएन। उनी सडकमा हिँड्दा सडकबत्तीमा ठोकिन्थे र चोट लाग्थ्यो। उनले आफ्नै छोराको अनुहार पनि राम्ररी खुट्ट्याउन सक्दैनथे र उनले गाडी चलाउन पनि छाड्नु पर्यो।
मधुमेह हुनेले नियमित आँखा जाँच्नु आवश्यक
“म निराश भएँ। म मान्छेको छाया मात्र हुँ र केही पनि गर्न सक्दिनँ जस्तो लाग्थ्यो,” उनी भन्छन्। उनलाई त्यो निराशाबाट बाहिर निस्कनका लागि ‘ब्लाइन्ड एसोसिएसन’का ‘गाइड डग्स’ले सहयोग गरे। उक्त संस्थाले उनलाई एउटा स्पेन्सर नाम दिइएको कालो ल्याब्रडरसँग जोड्यो।
“उसले मेरो जीवन बचायो,” उनले भने। अहिले उनी ‘गाइड डग्स’का लागि रकम सङ्कलन अभियानमा सक्रिय छन्। यूकेमा एनएचएसले बिरामीहरूलाई मधुमेहसँग सम्बन्धित आँखा जाँचका लागि प्रत्येक वर्ष वा दुई वर्षमा बोलाउने गर्छ।
अमेरिकी मापदण्डअनुसार हरेक ‘टाइप टु डाइबिटिज’ भएका युवाहरूले मधुमेह निदान भएका बेलामा दृष्टिसम्बन्धी जाँच पनि गराउनु पर्छ र त्यसपछि कुनै समस्या छैन भने हरेक वर्ष यस्तो जाँच गर्नुपर्छ। तर धेरैले त्यसलाई व्यवहारमा लागु गरेको पाइँदैन।
“जाँच गर्दा त्यसले ज्योति गुम्नबाट रोक्छ भन्ने स्पष्ट प्रमाणहरू पाइएका छन्,” अमेरिकास्थित युनिभर्सिटी अफ विस्कन्सिन-म्याडिसनकी रेटिना विशेषज्ञ डा. रूमासा चानाले भनिन्। मानिसहरूले नियमित रूपमा त्यस्तो जाँच नगराउनुका कारणहरूमा त्यसका लागि लाग्ने खर्च र त्यसको उपलब्धतालगायत छन्। सहज रूपमा त्यस्तो प्रकारको जाँच उपलब्ध गराउन सके त्यसले बिरामीहरूलाई फाइदा पुग्ने चाना बताउँछिन्।
कसरी जाँचिन्छ?
‘डाइबिटिक रेटिनोप्याथी’ जाँच गर्नका लागि स्वास्थ्यकर्मीहरूले आँखाको पछाडिपट्टिको भागको पत्रको तस्बिर लिन्छन्। उक्त भागलाई फन्डस भनिन्छ। हाल फन्डसहरूको तस्बिरको विश्लेषण ‘म्यानुअल्ली’ गर्ने गरिएको र त्यो “पटकपटक दोहोर्याउनु पर्ने काम” भएको डा. चना बताउँछिन्।
तर त्यसलाई एआईले शीघ्र गर्न सक्ने र प्रक्रियालाई पनि सस्तो बनाउन सक्छ। ‘डाइबिटिक रेटिनोप्याथी’ कुन बेला विकसित हुन्छ थाहा हुने भएकाले एआईले त्यसलाई पहिचान गर्ने गरी प्रशिक्षित गर्न सकिन्छ। केही अवस्थाहरूमा एआईले आँखा विशेषज्ञहरूको परामर्शका लागि पठाउनु आवश्यक छ कि छैन भनेर निर्णय गर्छ सक्छ।
एआईले कसरी काम गर्छ?
पोर्चुगलको एउटा स्वास्थ्यसम्बन्धी प्रविधि विकास गर्ने कम्पनी रेटमार्करले एउटा त्यस्तै प्रकारको प्रणाली विकास गरेको छ। यसको प्रणाली फन्डसको समस्याग्रस्त तस्बिरलाई चिन्न सक्छ र त्यसलाई थप अनुसन्धान गर्नका लागि विशेषज्ञलाई पठाउँछ।
“सामान्यतया: यसलाई हामी एउटा सहयोगी टूलका रूपमा प्रयोग गर्छौँ त्यसले मानिसलाई निर्णय गर्नका निम्ति सूचनाहरू प्रदान गर्छ,” रेटमार्करका प्रमुख कार्यकारी जोआओ डिओगो रामोसले भने। एआईमा आधारित यस्ता खालका रोग निदान गर्ने उपकरणहरूको प्रयोग डरका कारण सीमित भइरहेको छ।
स्वतन्त्र रूपमा गरिएका अध्ययनहरूले रेटमार्कर स्क्रिनिङ र आईनुकको आईआर्ट जस्ता प्रणालीहरूले गर्ने कामहरू संवेदनशीलता र विशिष्टताका हिसाबले स्वीकार गर्न सकिने खालका भएको देखाएका छन्।
संवेदनशीलताले रोगहरू पत्ता लगाउन उक्त परीक्षण कति उपयुक्त वा राम्रो छ भन्ने देखाउँछ भने विशिष्टताले रोग छैन भन्ने पत्ता लगाउन परीक्षण कति उपयुक्त वा राम्रो छ भन्ने देखाउँछ। सामान्यत: धेरै संवदनशील भयो भने त्यसले कुनै पनि परीक्षण ‘पोजिटिभ’ देखाउने सम्भावना बढी हुन्छ।
त्यसलाई ‘फल्स पोजिटिभ’ भनिन्छ। त्यसले मानिसहरूमा चिन्ता बढाउनुका साथै खर्च पनि बढी हुन्छ र अनावश्यक रूपमा मानिसहरू चिकित्सककहाँ पुग्नु पर्ने हुन सक्छ। तस्बिरको गुणस्तर राम्रो छैन भने त्यसले एआई प्रणालीमा ‘फल्स पोजिटिभ’ देखाउने सम्भावना बढी हुन्छ।
गुगल के गर्दैछ?
गुगलका स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ताहरूले डाइबिटिक रेटिनोप्याथी पत्ता लगाउनका लागि उनीहरूले विकास गरिरहेको एआई प्रणालीको कमजोर पक्षबारे परीक्षण गरिरहेका छन्।
थाइल्यान्डमा गरिएको परीक्षणमा यसले पहिले अनुमान गरिएको वा सम्भावित ठानिएको अवस्थाभन्दा फरक ढङ्गले काम गर्यो। एउटा समस्या के हो भने अल्गोरिदमलाई स्पष्ट र वास्तविक तस्बिर आवश्यक पर्छ। तर त्यो वास्तविकताभन्दा निकै परको कुरा थियो।
त्यस्तो हुनुका कारण कहिलेकहीँ फोहोर भएको लेन्स, अनुमान नगरिएको प्रकाश र क्यामेरा चलाउनेहरूमा भएको फरकफरक क्षमतालगायत हुन्। अनुसन्धानकर्ताहरूले अझ विस्तृत र उपयुक्त डेटामा काम गर्ने अनि धेरै व्यक्तिहरूसँग परामर्श गर्नुपर्ने महत्त्वबारे पाठ सिकेको बताएका छन्।
गुगलले आफूले विकास गरेको प्रणालीमा पर्याप्त विश्वस्त भएको जनाएको छ। उसले गत अक्टोबरमा थाइल्यान्ड र भारतस्थित उसका साझेदारहरूलाई इजाजतपत्र दिने घोषणा पनि गरेको छ।
गुगलले यी उपकरणहरूको लागतबारे प्रभावकारिता मूल्याङ्कन गर्न थाइ जनस्वास्थ्य मन्त्रालयसँग काम गरिरहेको बताएको छ। नयाँ प्रविधिका लागि लागत निकै महत्त्वपूर्ण पक्ष हो।
खर्च कति लाग्छ?
रामोस् रेटमार्करबाट एक पटक जाँच गर्दा झन्डै ५ पाउन्ड खर्च हुने बताउँछन्। तर स्थान र कति मात्रामा त्यस्तो परीक्षण गरिन्छ भन्नेमा निर्भर गर्ने उनको भनाइ छ। अमेरिकामा अन्यत्रको भन्दा तुलनात्मक रूपमा मेडिकलसम्बन्धी लागतहरू धेरै हुने गर्छ।
सिङ्गापुरमा ड्यानिअल एस डब्लू टिङ र उनका सहकर्मीहरूले डाइबिटिक रेटिनोप्याथीको जाँच गर्ने तीन प्रकारका तरिकाहरूको लागतबारे तुलना गरेका छन्। त्यसमध्ये सबैभन्दा महँगो भनेको मानिसहरूले गर्ने जाँच थियो।
यद्यपि पूर्ण रूपमा स्वचालित ढङ्गले गरिएको जाँच पनि सस्तो थिएन किनभने यसले धेरै ‘फल्स पोजिटिभ’ अवस्था देखाउँथ्यो। सबैभन्दा सुलभ खालको विधि चाहिँ ‘हाइब्रिड’ पाइएको थियो। त्यसमा मानिसहरूले हेर्नुअघि एआईद्वारा प्रारम्भिक नतिजाहरू हेर्ने गरिन्छ।
त्यस्तो विधिलाई हाल सिङ्गापुरको स्वास्थ्य सेवासम्बन्धी राष्ट्रिय सूचनाप्रविधि प्लेटफर्ममा एकीकृत गरिएको छ र त्यसलाई सन् २०२५ मा सुरु गर्न लागिएको छ।
प्राध्यापक टिङ सिङ्गापुरमा डाइबिटिक रेटिनोप्याथीको जाँचका लागि पहिले नै प्रभावकारी पूर्वाधार भएकाले सिङ्गापुरले लागत कम गर्न सफल भएको ठान्छन्। त्यसले गर्दा लागतको प्रभावकारिता भन्ने फरक हुन सक्छ।
ध्यान दिनुपर्ने विषय
स्वास्थ्यसम्बन्धी गैरसरकारी संस्था प्याथका प्रमुख एआई अधिकृत बिलाल मतीन यूकेजस्ता धनी देशहरू वा चीनजस्ता केही मध्यम आय भएका देशहरूमा आँखाको ज्योति जोगाउने कार्यका लागि एआई उपकरणहरूको प्रयोगसम्बन्धी लागतको प्रभावकारिता पर्याप्त देखिने बताउँछन्। यद्यपि अन्य क्षेत्रका लागि त्यो लागु हुन्छ भन्ने छैन।
“एआईले के गर्न सक्छ भन्ने कुरा गर्दा यो व्यापक रूपमा विकास र विस्तार भइरहेको छ तर हामीले केमा ध्यान दिनु आवश्यक छ भने यो सबैका लागि उपलब्ध हुँदैछ कि वा केही सीमित विशेष व्यक्तिहरूका लागि मात्र भन्नेमा हामीले ध्यान दिनुपर्ने हुन्छ। प्रभावकारी निर्णय गर्न हामीसँग प्रभावकारिता डेटा हुनुपर्छ,” डा. मतीन भन्छन्।
डा. चाना अमेरिकाभित्रै पनि स्वास्थ्यसम्बन्धी समतामा देखिएको खाडलबारे प्रश्न गर्दै यो प्रविधिले त्यसलाई घटाउन पुलको काम गर्न सक्ने बताउँछिन्। “यसलाई हामीले आँखाको स्वास्थ्यबारे एकदमै सीमित मात्र पहुँच भएका क्षेत्रमा विस्तार गर्नु आवश्यक छ,” उनले भनिन्।
उनी जेष्ठ नागरिकहरू र दृष्टिसम्बन्धी समस्या भएका व्यक्तिहरूले आँखाका चिकित्सकहरूलाई देखाउनुपर्नेमा जोड दिन्छिन्। मधुमेहका कारण हुने आँखाको समस्या पत्ता लगाउन प्रयोग हुने एआईको सुविधाका आधारमा अन्य आँखाका रोगहरूको निदान तथा उपचारमा प्रयोग गर्नु उपयुक्त नहुनेमा उनको जोड छ। मायोपिया र ग्लकोमा जस्ता अन्य आँखाका समस्याहरू पत्ता लगाउन एआई अल्गोरिदमलाई निकै कठिन भएको देखिएको छ। तर त्यस्ता अवस्था हुँदा हुँदै पनि “प्रविधि धेरै रोमाञ्चक” भएको डा. चाना बताउँछिन्। बीबीसी