Logo
|
Monday 23rd December 2024
Logo

epaper

सिकलसेलका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई आवश्यक पर्ने औषधि सरकारले निःशुल्क उपलब्ध गराउने बताउनुभएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनमा हमोग्लोप्याथी वार्ड र अपरेसन थियटरको आज उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेलका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने गरी सरकार लागिपरेको बताउनुभयो । उहाँले त्यसका लागि भारतले सहयोग गर्न लागेको पनि उल्लेख गर्नुभयो ।

आफू भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग सिकलसेलका बिरामीका लागि आवश्यक पर्ने औषधि सहयोगका लागि प्रस्ताव गरेको र भारतीय समकक्षीले सकारात्मक जवाफ दिएको बताउँदै उहाँले भन्नुभयो, “प्रक्रियागत हिसाबले विषयगत मन्त्रालयसँगको सहकार्यमा तत्काल औषधि उपलब्धताको प्रतिबद्धता आएको छ । आशा गरौँ तत्काल औषधि प्राप्त हुनेछ ।” उहाँले आफू निरन्तर संवाद र सम्पर्कमा रहेकाले भारतले खरिद प्रक्रिया पूरा गरेर नेपालमा औषधि उपलब्ध गराउने विश्वास दिलाउनुभयो ।

उहाँले सिकलसेलका बिरामीका लागि आवश्यक पर्ने औषधि सिकलसेल डे केयर वार्ड सञ्चालनमा रहेका अस्पतालहरूलाई सरकारले उपलब्ध गराउने र त्यहीँबाट बिरामीहरूले सहज तरिकाले औषधि प्राप्त गर्ने पनि मन्त्री पौडेलको भनाई छ । प्रादेशिक अस्पतालहरूमा सिकलसेलका बिरामीलाई लक्षित गरी डे केयर वार्ड सञ्चालनका लागि सरकारले काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

अब छिट्टै बर्दिया अस्पताल, कैलालीको टीकापुर अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा पनि सिकलसेलका बिरामीलाई लक्षित गरेर डे केयर वार्ड सञ्चालन गरिने पनि मन्त्री पौडेलले बताउनुभयो । उहाँले सिकलसेल एनिमिया पुस्तान्तरण हुन नदिन बच्चा जन्मने बित्तिकै स्क्रिनिङ गर्ने गरी मन्त्रालयले योजना बनाउने पनि विश्वास दिलाउनुभयो । 

अहिलेसम्म उपचारात्मक क्षेत्रलाई मात्रै प्राथमिकता दिएर सरकारले काम गर्दै आएको उल्लेख गर्दै उहाँले अब निरोधात्मक कार्यक्रमलाई पनि सरकारले प्राथमिकता दिएको बताउनुभयो ।“रोग लागेपछि त्यसको उपचार गर्ने सरकारको दायित्व त छँदैछ”, उहाँले भन्नुभयो, “अब रोग लाग्नै नदिने गरी सचेतनाका कार्यक्रमहरूलाई पनि सरकारले जोड दिन्छ ।”

फरक प्रसङ्गमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभाव पूर्तिका लागि मन्त्रालय लागिपरे पनि समाधान खोज्न कठिन रहेको बताउनुभयो । अहिले देशभर ३२ हजार स्वास्थ्यकर्मी अभाव रहेको बताइन्छ ।  ”विगतमा भएका ओएनएम सर्भेले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा ३२ हजार जनशक्ति अभाव भएको देखाउँछ”  मन्त्री पौडेल भन्नुहुन्छ, ”३२ सय जनशक्ति पनि थप्ने अवस्था छैन । कम्तीमा १२ देखि १५ सय जनशक्ति थप्ने गरी मन्त्रालय लागिपरेको छ।” उहाँले संघीय अस्पतालहरूमा एमडीएमएस कार्यक्रम सुरु भएपछि अस्पतालहरूमा देखिएको जनशक्ति अभावलाई केही हदसम्म टार्ने विश्वास समेत लिनुभयो ।

कार्यक्रममा अस्पतालका प्रमुख मेसु डा.निराजन सुवेदीले अस्पतालले गरेका प्रगति र चुनौती तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा।राजन पाण्डेले सिकलसेल एनिमिया र थालेसिमिया रोगको अवस्था, उपचार र निदानका सवालमा भइरहेका कामहरू समेटिएको छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको भेरी अस्पतालको नवनिर्मित भवनमा हमोग्लोप्याथी वार्ड र अपरेसन थियटर उद्घाटन कार्यक्रममा पूर्व मन्त्रीहरू अमरसिंह पुन, गोपाल दहित, प्रतिनिधिसभा सदस्य आशा विक, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, बर्दिया अस्पतालका मेसु डा।सुभाष पाण्डे लगायत अस्पतालका पूर्व मेसुहरू पूर्व अध्यक्षहरू, प्रमुख कन्सल्टेन्ट चिकित्सकहरू, वरिष्ठ कन्सल्टेन्ट चिकित्सकहरू, स्वास्थ्यकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो । अस्पताल विकास समितिका सदस्य डा.डक्ट धितालले सञ्चालन गरेको कार्यक्रममा अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । रेडियोनेपाल

प्रतिक्रिया दिनुहोस्