कोरोना भाइरस प्रयोगशालाबाट फैलिएको हुन सक्ने, के भन्छ सीआईए ?
नेपाल हेल्थ न्युज, काठमाडौँ । अमेरिकाको बाह्य गुप्तचर निकाय सीआईएले कोभिड-१९ को उत्पत्तिबारे आफ्नो विगतको मूल्याङ्कनलाई परिवर्तन गर्दै त्यो जनावरबाट भन्दा चिनियाँ प्रयोगशालाबाट उत्पन्न भएको हुन सक्ने सम्भावना अधिक रहेको जनाएको छ।
यद्यपि उसले त्यस्तो मुल्याङ्कनप्रति न्यून आत्मविश्वास रहेको भन्दै सावधानीपूर्वक प्रतिक्रिया दिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नियुक्त गरेका जन र्याटक्लिफले सीआईएको निर्देशकको जिम्मेवारी सम्हालेपछि नयाँ विश्लेषण सार्वजनिक गरिएको हो।
एक जना अधिकारीले उक्त परिवर्तन उपलब्ध गोप्य जानकारीका आधारमा गरिएको जनाएका छन्। विगतमा चीनले यस्तो अनुमानलाई असहयोगी र राजनीतिक रूपले प्रेरित रहेको बताउँदै आएको थियो।
नयाँ सीआईए प्रमुखको कदम
कोभिडको उत्पत्तिबारे नयाँ मूल्याङ्कन सार्वजनिक गर्ने कदम अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा नियुक्त गरिएका सीआईएका नयाँ निर्देशक जोन र्याटक्लिफको पहिला निर्णयमध्ये एक हो। उनले बिहीवार मात्र पद सम्हालेका हुन्।
ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय गुप्तचर निकायको निर्देशकका रूपमा काम गरेका उनले लामो समयदेखि प्रयोगशाला चुहावट भएको भाइरसका कारण कोभिड महामारी फैलिएको भन्ने सिद्धान्तमा विश्वास गर्दै आएका छन्।
उनले सम्भवतः वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको प्रयोगशालाबाट चुहावट भएको भाइरसका कारण कोभिड सुरु भएको हुन सक्ने दाबी गर्दै आएका छन्।
उक्त संस्था र त्यसको प्रयोगशाला हुअनान बजारबाट गाडीमा जाँदा ४० मिनेट समय लाग्ने दूरीमा अवस्थित छ। कोरोनाभाइरस पहिलो पटक उक्त बजारमा फेला परेको थियो।
एकजना प्रवक्ताले उपलब्ध प्रतिवेदनको मुख्य हिस्साका आधारमा उक्त महामारी उत्पत्तिको कारण प्राकृतिकभन्दा अनुसन्धानमा आधारित जस्तो अधिक देखिएको बताएका छन्।
ब्रेइटबार्ट न्यूजमा शुक्रवार प्रकाशित अन्तर्वार्तामा र्याटक्लिफले आफू भाइरसको उत्पत्तिबारे सीआईएको तटस्थ अडान त्याग्नुपर्ने पक्षमा आफू रहेको बताएका छन्।
‘मैले भन्ने गरेको एउटा कुरा के हो भने धेरै मोर्चाहरूमा चीनबाट आउने खतराहरूलाई सम्बोधन गर्नु पर्छ। त्यो किन लाखौँ अमेरिकीहरू मरे र केन्द्रीय गुप्तचर निकाय पाँच वर्षदेखि कोभिडको उत्पत्तिबारे कुनै विश्लेषण नगरी किन छेउमा बसिरहेको छ भन्नेतर्फ पनि सोझिन्छ। त्यो मेरा लागि पहिलो दिन नै गर्नुपर्ने काम थियो।’
तर अमेरिकी अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमहरूलाई बताएअनुसार नयाँ विश्लेषण नयाँ गोप्य सूचनाहरूका आधारमा गरिएको थिएन र ट्रम्पले पद सम्हाल्नुअघि नै गरिएको थियो।
बाइडन प्रशासनको अन्तिम साताहरूमा उक्त पुनः जाँचको आदेश दिइएको थियो र गत सोमवार ट्रम्पले पद सम्हाल्नुअघि नै उक्त जाँच सकिएको थियो।
न्यून आत्मविश्वास
शनिवार प्रस्तुत गरिएको विश्लेषणमा ून्यून आत्मविश्वासू रहेको भनिएको छ। त्यो भनेको त्यसबारेका गुप्त सूचनाहरू एकदमै कमजोर छन् वा कुनै निष्कर्ष दिने खालका छैनन् वा विरोधाभाषपूर्ण छन् भन्ने अर्थ लाग्छ। कोभिड महामारी कसरी फैलियो भन्नेबारे सबै एकमत देखिएका छैनन्।
केहीले प्राकृतिक उत्पत्तिको सिद्धान्तलाई समर्थन गर्छन्। उनीहरू जनावरहरूबाट प्राकृतिक रूपमा नै कोरोनाभाइरस मानिसमा सरेको र त्यसमा कुनै वैज्ञानिक वा प्रयोगशालाको संलग्नता नरहेको ठान्छन्।
प्रयोगशालाबाट चुहिएको हुन सक्ने अनुमान गर्ने विषयमा वैज्ञानिकहरूबीच तीव्र बहस हुने गरेको छ। धेरैले यो सिद्धान्तलाई पुष्टि गर्ने दरिलो आधार नभएको बताउने गर्छन्।
चीनले पनि विगतमा प्रयोगशालाबाट चुहावट भएको भन्ने दाबीलाई वाशिङ्टनले गरेको राजनीतिक उद्देश्यप्रेरित अफवाह भन्दै खण्डन गर्दै आएको छ।
यद्यपि अझै पनि गुप्तचर निकायहरूमा उक्त विवादित सिद्धान्तले प्रभाव पारेको देखिन्छ।
सन् २०२३ मा अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले फक्स न्यूजलाई उनको निकायले ‘महामारी उत्पत्तिको सम्भावित कारण सम्भवत प्रयोगशालामा भएको घटना हुन सक्ने’ जनाएको बताएका थिए। बीबीसी