Logo
|
Thursday 30th January 2025
Logo

epaper

नेपालमा भविश्य नदेखेपछि वर्षेनी एक हजार नर्स विदेश पलायन हुँदै, स्वास्थ्य क्षेत्रमा कस्तो असर पर्ला ?

'सन् २०३० सम्ममा नर्सिङ सेक्टरमा जनशक्तिको अभाव हुने विज्ञको अनुमान'



नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो समय नेपाली नर्सहरु विदेशिने क्रम बढ्दो छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ महाशाखाको तथ्याङ्क अनुसार हरेक वर्ष एक हजार भन्दा बढी नर्स विदेशिने गरेका छन् ।

मन्त्रालयका अनुसार २०५९ देखि २०८१ को असोजसम्ममा ४३ हजार भन्दा बढी नर्सहरुले विदेश जान एनओसी लिएका छन् । एनओसी लिएका मध्ये ९० प्रतिशत नर्स विदेश गइसकेको र बाँकी १० प्रतिशत जाने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपाल नर्सिङ काउन्सिलको तथ्याङ्कअनुसार गएको मङ्सिरसम्म दर्ता भएका नर्सको संख्या एक लाख २१ हजार छ । तर, सबै जनशक्ति नेपालमा छैनन् । काउन्सिलका अनुसार २०६९ देखि २०८० को चैत्रसम्ममा ४० हजार ५ सय ३९ जना नर्सले भेरिफिकेसन पत्र लिएका छन् ।

ति मध्ये अमेरिकाका लागि सबैभन्दा धेरै २३ हजार ३ सय ७० नर्सले भेरिफिकेसन पत्र लिएका छन् । त्यस्तै अष्ट्रेलियाका लागि ११ हजार २ सय ८९ र युएइका लागि दुई हजार ८ सय ४ जना नर्सले भेरिफिकेसन पत्र लिएका छन् । त्यस्तै करियर बनाउनकै लागि भनेर पछिल्लो समय साउदी अरेयिबा, कतार, बहराइन सहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको सरोकारवालाहरु बताउँछन् ।

हाल नेपालका अधिकांश स्वास्थ्य संस्थानमा नर्सिङ जनशक्ति आवश्यकता भन्दा कम छ । त्यसको एक कारण नर्सिङ विषय गरेका जनशक्ति स्वदेशमै अवसर पाएपछि विदेशतिर जानु हो । विदेशमा न्युन सुविधामा काम गर्नुपर्ने बाद्यता भएपछि उनीहरु विदेशतिर आकर्षित भएको नर्सहरुको भनाइ छ ।

उचित तलव, सुविधा र सहुलियत नपाउँदा नेपाली नर्सहरु विदेशिने क्रम बढेको नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले बताउनुहुन्छ । नेपालमा वर्षेनि हजारौँको संख्यामा नर्सहरु उत्पादन हुँदा उचित व्यवस्थापन हुन नसकेको उहाँको भनाइ छ । नर्सिङ जनशक्ति विदेशिने क्रम रोक्न नसके स्वास्थ्य क्षेत्रमा ठूलो असर पर्ने उहाँको ठम्याइ छ ।

उहाँ भन्नुहुन्छ –‘नर्सहरु विदेश पलायन हुनेक्रमलाई रोक्न सरकारले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौतीको सामना गर्नुपर्छ । सरकारी र गैर सरकारी तहमा नर्सलाई राम्रो अवसर प्रदान गर्नुपर्दछ ।’ उहाँ थप्नुहुन्छ–‘निजी अस्पतालमा काम गर्ने नर्सको तबल, सुविधा सरकारी सहर हुनुपर्छ । सुरक्षित वातावरणमा काम गर्न पाउने व्यवस्था हुनुपर्छ । यी कुराको सहजिकरण गर्न सके नर्स विदेश पलायन हुनबाट रोक्न सकिन्छ ।’

सरकारी तथा निजी अस्पतालमा नर्स पेसेन्ट रेसियो कायम गरेर, दरवदन्दी खुलाएर विदेशिन लागेका नर्सहरुलाई रिटेन गर्न सकिने नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार शुक्ला खनाल बताउनुहुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेकै अवस्थामा पनि निजी र सरकारी गरी ६५ हजार नर्स जनशक्ति नेपालमा कार्र्यरत हुनपर्ने हो । तर नेपालमा अहिले १८ हजार सरकारी र ३२ हजार ५ सय निजी स्वास्थ्य संस्थामा कार्यरत छन् । राष्ट्रिय मानव स्रोत रणनीति अध्ययन प्रतिवेदन २०२१ का अनुसार हाल सरकारी अस्पतालमा कार्यरत नर्सको संख्या १८ हजार रहेको देखाएको छ ।

सो अध्ययनले सन् २०३० सम्ममा नेपालमा निजी र सरकारीमा गरी ८१ हजार नर्स चाहिने प्रक्षेपण गरिएको छ । तर, अहिलेको अवस्था हेर्ने हो भने नेपालमा सन् २०३० सम्ममा नर्सिङ सेक्टरमा जनशक्तिको अभाव हुने विज्ञहरुको अनुमान छ ।


आज ६३ औं नेपाल नर्सिङ दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो । नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्