नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी नयाँ क्यान्सरका बिरामी थपिने
नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व क्यान्सर दिवस २०२५ । हरेक वर्ष फेब्रअरी ४ लाई विश्व क्यान्सर दिवसका रुपमा मनाउने गरिएको छ ।
पृथकतामा एकताः क्यान्सर भोगाईका कथाहरु भन्ने नाराका साथ आज विभिन्न जनचेतनाका कार्यक्रम सहित देशैभर विश्व क्यान्सर दिवस मनाइँदै छ। विश्वमा वर्षेनी झण्डै एक करोड मानिसहरुको ज्यान लिने क्यान्सर रोगप्रति मानिसहरुलाई सचेत गराउन र क्यान्सर रोगबारे छलफल गर्न हरेक वर्ष फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ ।
आजदेखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एच.पि.भी.खोप दिइँदैछ ।
नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार नेपालमा हरेक वर्ष ३० देखि ४० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन् । नेपालमा नयाँ थपिने क्यान्सरका बिरामीमध्ये ६० देखि ७० प्रतिशत बिरामीको सोही वर्ष मृत्यु हुने ग्लोबोक्यानले जनाएको छ । यसको कारणमा नेपालमा रोग पहिचान नै ढिला हुन्छ । अमेरिका र बेलायतजस्ता विकसित मुलुकमा नयाँ थपिएका क्यान्सरका बिरामीमध्ये २० देखि ३० प्रतिशतको मात्र उक्त वर्ष मृत्यु हुने गरेको छ । यो तथ्यांकले नेपालमा क्यान्सर रोगप्रति सजगता र सचेतना नै नभएको देखाउँछ । यसले गर्दा बिरामीहरू समयमै अस्पताल जाँदैनन् । त्यसैले अन्तिम अवस्थामा क्यान्सर पहिचान हुन्छ ।
ग्लोबोक्यानले २०२२ मा सार्वजनिक गरेको तथ्यांकमा नेपालमा हरेक वर्ष २२ हजारभन्दा बढी नयाँ क्यान्सरका बिरामी थपिने गरेको देखाउँछ । त्यसमा पुरुष ९ हजार ७९२ र महिला १२ हजार २१६ रहेका छन् । यसैगरी हरेक वर्ष विभिन्न क्यान्सरबाट १४ हजार ७ सय ४ जनाको मृत्यु हुने भएको छ ।
पुरुषमा पहिलो नम्बरमा फोक्सो (१५.६%), दोस्रोमा पेट (१०.९%), तेस्रोमा ओठ, मुख र गिँजा (७.१%), चौथोमा कोलोरेक्टम (७.१%) र पाँचौ नम्बरमा कलेजो (४.४%)को क्यान्सर रहेको छ । तर, महिलामा पहिलो नम्बरमा स्तन (१८.५%), दोस्रोमा पाठेघरको मुख (१७.८%), तेस्रोमा फोक्सो (७.४%), चौथोमा गल ब्लाडर (६.६%) र पाँचौँ स्थानमा पेट (५.३%) को क्यान्सर समस्या देखिने गरेको छ ।
महिला र पुरुष दुवैलाई हेर्ने हो भने नेपालमा पहिलो फोक्सो (११.०%), दोस्रो स्तन (१०.२%), तेस्रो पाठेघरको मुख (९.९%), चौथो पेट (७.८%) र पाँचौँ कोलोरेक्टम (५.४%) क्यान्सर रहेको छ ।
क्यान्सरः कोशिकाहरूको असामान्य वृद्धि
मानव शरीरमा कोशिकाहरू नियन्त्रित रूपमा बढ्छन् र विभाजित हुन्छन् । निश्चित समयपछि पुराना कोशिकाहरू मर्छन् र त्यसको ठाउँमा स्वस्थ नयाँ कोशिकाहरूले प्रतिस्थापन गर्दै जान्छन् । तर, क्यान्सरमा कोशिकाहरूको विकासलाई नियन्त्रण गर्ने संकेतले ठीकसँग काम गर्दैनन् । क्यान्सर कोशिकाहरू बढिरहन्छन् । स्वस्थ कोशिकाहरूले जस्तो क्यान्सर कोशिकाहरूले नियम पालना गर्दैनन् । अतः शरीरमा कोशिकाहरूको असामान्य वृद्धि हुन थाल्छ । यो नै क्यान्सर हो ।
संयोगले हुने जीन म्युटेसनको परिणाम
प्रत्येक कोशिका जीनद्वारा नियन्त्रित हुन्छन्, जसले कोशहरूलाई कसरी काम गर्ने, कहिले बढ्ने र कहिले विभाजन गर्ने भनेर निर्देशन दिन्छ । कोशिकामा क्यान्सर विकसित हुन्छन् । यो एकल कोशिकाको जीनमा परिवर्तनबाट सुरु हुन्छ । यो आनुवंशिक परिवर्तन वा म्युटेसन (कोशिकामा परिवर्तन वा हेरफेर) दुवैबाट हुन सक्छ । धेरैजसो परिवर्तनले हानि गर्दैनन् । तर कहिलेकाहीँ तिनले कोशिकाको वृद्धि नियन्त्रणमा अड्चन पैदा गरिदिन्छन् । यो बुबाआमालाई भएको अवस्थामा जीनमा परिवर्तन आउन सक्छ । धेरैजसो हेरफेर सहज रूपमा हुन्छन् । यी परिवर्तन संयोगवश र अचानक हुन्छन् । वयस्कमा जीवनशैली वा वातावरणको कारणले क्यान्सर हुन सक्छ । तर, बाल्यकालको क्यान्सरका अधिकांश घटनाहरू संयोगले हुने जीन म्युटेसन (उत्परिवर्तन) को परिणाम हुन् ।