Logo
|
Friday 28th February 2025
Logo

epaper

औँलाको नङले तपाईंको स्वास्थ्यबारे के बताउँछ ?



नेपाल हेल्थ न्युज, काठमाडौँ । हातका नङले छालाको भित्री भागलाई चोटपटकबाट जोगाउन मद्दत गर्छ र जिउमा कतै कन्याउन पर्‍यो वा सुन्तला लगायतका फलफूल छोडाउन पर्‍यो भने पनि नङले सजिलो हुन्छ। तिनै नङले तपाईँको स्वास्थ्यको बारेमा के खुलासा गर्छन्?

यसमा भएका सबै सामग्रीहरू जानकारीको लागि मात्र प्रदान गरिएको हो, र यसलाई तपाईँको आफ्नै डाक्टर वा अन्य कुनै स्वास्थ्य सेवा व्यवसायीको चिकित्सा सल्लाहको विकल्पको रूपमा प्रयोग गर्नु हुँदैन। यो सामग्रीको आधारमा प्रयोगकर्ताले गरेको कुनै पनि निदानको लागि बीबीसी जिम्मेवार वा उत्तरदायी हुने छैन। सूचीबद्ध कुनै पनि बाह्य इन्टरनेट साइटहरूको सामग्रीको लागि बीबीसी उत्तरदायी छैन न त यसले कुनै पनि साइटमा उल्लेख गरिएको वा सल्लाह दिइएको व्यावसायिक उत्पादन वा सेवालाई समर्थन गर्छ। यदि तपाईँ आफ्नो स्वास्थ्यको बारेमा कुनै पनि हिसाबले चिन्तित हुनुहुन्छ भने सधैँ आफ्नो (डाक्टर) जेनेरल प्र्याक्टिसनरसँग परामर्श गर्नुहोस्।

नङबाट समग्र स्वास्थ्यको अवस्था कसरी पत्ता लगाउने भन्ने बारेमा पुराना ज्ञानहरूको कुनै कमी छैन। हामीले नङमा कहिलेकाहीँ देखापर्ने सेतो दाग (जसलाई लुकोनिकिया भनिन्छ) क्याल्सियमको कमीको सङ्केत हो भनेर सुनेका छौँ। तर के यसमा सत्यता छ?पहिले शरीर बनावटको बारेमा केही आधारभूत कुरा बुझौँ। नङहरू भनेका छालाको विस्तारित रूप हुन्।

तिनीहरू केराटिनबाट बनेका हुन्छन् जुन एकदमै कडा प्रोटीन हो जसले हाम्रा हात र खुट्टालाई विभिन्न तनावबाट जोगाउँछ। नङको फेदमा देखिने अर्ध-चन्द्र आकारलाई लुनुला भनिन्छ जुन नङ बन्ने ठाउँ हो र त्यहाँ बनेका कोशिकाहरूले कडा नङ बनाउँछ। यो क्यूटिकल माथि बस्छ जसले मृत कोशिकाहरूको तहलाई छालाको सतहमा जोड्छ। क्यूटिकलले नङलाई सुरक्षा दिन्छ र ब्याक्टेरिया, फन्जाइ र अन्य रोग लगाउने कुराहरूलाई रोक्छ।

मान्छेको भित्री स्वरूप नियाल्न आँखा हेर्न सकिन्छ भने जस्तै चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन्। चिकित्सकहरूले छालासम्बन्धी समस्यादेखि मिर्गौला रोग वा अटोइम्यून डीसअर्डर्सहरूसमेत पत्ता लगाउन नङ हेर्छन्।

केही गम्भीर भएको सङ्केत

“मेडिकल स्कुलमा मैले सिकेको पहिलो कुरा भनेको क्लबिङ भनिने चीज खोज्नु थियो जसमा नङ र नङ रहने ठाउँको बीचको तादात्म्य हराएको हुन्छ,” ब्रिस्टल विश्वविद्यालयका मेडिसिनका जेनेरल प्र्याक्टिसनर र न्यूरोसाइन्स र फिजियोलोजीका लेक्चरर ड्यान बमगार्ड्टले भने।

क्लबिङ हुँदा नङको आधार नरम बन्न पुग्छ र नङहरू औँलामा बलियोसँग जोडिनुको सट्टा लगभग “तैरिएको” जस्तो देखिन्छ। औँलाका टुप्पाहरू पनि ठूला वा फुलेका देखिन्छन्। “यसले औँलामा असामान्य प्रकारको सुन्निएको स्थिति निम्त्याउँछ जहाँ औँला थोरै ‘ड्रमस्टिक’ जस्तो देखिन्छ,” बमगार्ड्ट भन्छन्।

क्लबिङले रगतमा अक्सिजनको मात्रा अत्यन्तै कम भएको सङ्केत गर्छ। यो प्रायः फोक्सोको क्यान्सरसँग सम्बन्धित छ तर यसले मुटुको सङ्क्रमणलाई पनि सङ्केत गर्न सक्छ। यो देखिने अन्य अवस्थाहरूमा सेलिआक रोग, कलेजोको सिरोसिस र फोक्सोको सङ्क्रमण पनि पर्छन्।

क्ल्ब्ड नङको आकार उल्टो चम्चाको जस्तै हुन्छ र त्यसले फोक्सोको क्यान्सरको गम्भीर अवस्था रहेको सङ्केत गर्छ

“यदि तपाईँले क्लबिंग भएको बिरामी देख्नुभयो भने तुरुन्तै एक्स-रे गराउनुपर्छ किनकि त्यसले फोक्सोको क्यान्सरको जनाउ दिएको हुन सक्छ,” बमगार्ड्ट भन्छन्। “त्यसो भनिरहँदा पनि हामीले मेडिकल स्कुलमा सिकेका पहिलो कुराहरू यिनै हुन्। मलाई साँच्चै थाहा छैन किन, किनभने म डाक्टर भएको १४ वर्षमा मैले यो एक पटक मात्र देखेको छु,” उनी भन्छन्।

नङमा देखिने सेतो धब्बालाई लुकोनिकिया भनिन्छ र यसले प्रायः‍ भिटामिन वा मिनरल्सहरूको कमीको सङ्केत गर्छ। यद्यपि यसलाई बल पुर्‍याउने प्रमाणहरू मिश्रित छन्। स्नातक तह पढ्दै गरेका विद्यार्थीहरूको एउटा सानो अध्ययनमा यो लक्षण र व्यक्तिले लिने गरेको जिङ्क वा क्याल्सियमबीच कुनै सम्बन्ध थिएन। यद्यपि, पाचन प्रणालीलाई असर गर्ने क्रोहन रोग भएको एकजना बिरामीको एउटा रिपोर्टमा उनको नङमा लुकोनिकिया देखिएको थियो र उनमा सेलेनियमको कमी थियो। यो मिनरल दिएर उनको उपचार भएपछि उनलाई निको भएको थियो।

सामान्यतया, लुकोनिकिया नङमा लागेको चोटको कारण हुन्छ। आफ्नो औँलाका नङ ढोकामा च्यापिनु, धेरै पटक मेनिक्योर गर्नु वा खुट्टामा कुनै भारी वस्तु खसाल्नुले यस्तो दाग निम्त्याउन सक्छ।

जे भए पनि नङमा सेतो रङ देखिनुले स्वास्थ्य समस्याको सङ्केत गर्न सक्छ। नङमा सेतो दाग देखिनुले सोराइसिसको सङ्केत गरेको हुन सक्छ जसले छालामा सुन्निने र दागहरू देखिने हुन सक्छ। यदि पूरै नङ सेतो भयो भने त्यसले रक्त प्रवाहमा प्रोटीनको कमीलाई सङ्केत गर्न सक्छ र त्यसले मिर्गौला, कलेजो वा मधुमेहको रोग निम्तिएको सङ्केत गर्न सक्छ।

“यदि मानिसहरूको रगतमा प्रोटिनको मात्रा कम छ भने प्रायः यसले पूरै नङ सेतो बनाउँछ,” बमगार्ड्ट भन्छन्। “हामी यसलाई मानिसमा कलेजोको रोग भएको हुनसक्ने रूपमा हेर्छौँ जसलाई अत्यधिक मदिरा सेवनका कारण कलेजोको सिरोसिस भएको हुन सक्छ।”

अर्कोतर्फ नीलो नङ हुनु भनेको शरीरमा अक्सिजनको कमी भएको सङ्केत हो। यो गम्भीर मुटु रोग वा एम्फाइसेमाको सङ्केत हुन सक्छ र यो तपाईँले सकेसम्म चाँडो डाक्टरलाई देखाउनु पर्ने कुरा हो। यदि तपाईँले नङमुनि कालो रेखाहरू देख्नुभयो भने त्यो नङमा केही ठोक्किएर भएको हुन सक्ने सोच्छौँ तर त्यो एक दुर्लभ तर गम्भीर प्रकारको छालाको क्यान्सर हुन सक्छ।

नङमुनि रगत बगेको छ र यो निको भएन भने अझ गम्भीर कुराको सङ्केत गरेको हुन सक्छ। “तपाईँलाई स्प्लिन्टर हेमोरेज हुन सक्छ जुन रगतका साना रातो धर्काहरू जस्तै देखिन्छन्,” बमगार्ड्ट भन्छन्। “त्यो रक्तस्राव कहिलेकाहीँ भास्कुलाइटिसको सङ्केत हुन सक्छ जुन रक्त नलीहरूमा हुने सुजन हो। अर्को मुख्य भनेको मुटुको भल्भको सङ्क्रमण हुन सक्छ जसले अलि अनौठा रूपमा सुन्निने हुन्छ,” उनी भन्छन्।

ढुसी

अन्य, सामान्य अवस्थाहरू नङ हेरेर नै पनि पहिचान गर्न सकिन्छ। बिरामीलाई जाँच्दा डाक्टरले नङमा आएको रङ, मोटोपना र आकारको परिवर्तनलाई हेर्छन्।

उदाहरणका लागि, स्वस्थ नङको रङ छालामा गुलाबी र टुप्पामा सेतो हुनुपर्छ। नङको अन्य रङले सङ्क्रमणको सङ्केत वा अन्य रोगको सङ्केत गरेको हुन सक्छ।

“यदि तपाईँले खुट्टाको औँलाको नङ पहेँलो वा सेतो भएको देख्नु भयो भने त्यो फङ्गल सङ्क्रमण भएको सङ्केत हो,” युनिभर्सिटी अफ हलका शिक्षक हली विल्किन्सनले भने।

अमेरिका र यूकेलगायत थुप्रै देशहरूमा मध्यम खालको फङ्गल सङ्क्रमणको औषधि किन्न पाउने भए पनि यदि त्यसलाई अबेर हुने बेलासम्म छोड्यो भने त्यसको उपचार निकै कठिन हुनसक्छ। (नङ सङ्क्रमण भन्ने शङ्का लागे त्यसबारे डाक्टरसँग परामर्श गर्नुपर्छ।)

“धेरै अवस्थामा मानिसहरूले आफ्नो नङको रङ परिवर्तन हुँदा त्यो सङ्क्रमण भएको भन्ठान्दैनन्, र एउटा विन्दुमा पुगेर धेरै ढिला भइसकेपछि उनीहरू पोडियाट्रिस्ट(खुट्टा हेर्ने चिकित्सक)लाई देखाउन जानुपर्ने हुन्छ,” विल्कन्सिनले भने।

नाजुक नङ

यसैबीच, नङको आकारले पनि समस्याहरूको खुलासा गर्न सक्छ। स्वस्थ औँला र नङहरू माथि थोरै उक्सिएको र बाहिरपट्टि घुमेका हुन्छन्। तिनीहरूमा कुनै पनि खाडल जस्ता धसिएका हुनु हुँदैन। यदि तिनीहरूमा धसिएको छ भने त्यसले तपाईँमा कोइलोनकिया भएको सङ्केत हुन सक्छ। यो नङको त्यस्तो अवस्था हो जहाँ नङ भित्रतिर घुम्छ र पातलो र खोक्रो देखिन्छ। केही अवस्थामा कोइलोनकिया भएका मानिसहरूको नङमा तरल पदार्थको थोपा अड्ने गहिरो भाग हुन्छ त्यसैले यसलाई “चम्चा नङ” भनिन्छ ।

तपाईँको नङ चम्चा जस्तो देखियो भने एनिमिआको सङ्केत पनि हुनसक्छ। त्यस्तो बेला तपाईँको शरीरमा अक्सिजनका लागि पर्याप्त स्वस्थ रक्त कोषहरू हुँदैनन्। एनिमिआ फलाम तत्वको कमीका कारण हुन सक्छ। यद्यपि, यो सिइयाक रोगको पनि सङ्केत हुनसक्छ जसले तपाईँको सानो आन्द्रालाई नष्ट गर्न सक्छ।

अर्कोतर्फ नङमा आएको केही परिवर्तनले शरीरमा पोषण तत्त्व कम भएको सङ्केत गर्छ। केही मानिसहरूको नङमा तेर्सो किनारहरू हुन्छन् जसलाई ब्यूज लाइन पनि भनिन्छ। अपर्याप्त प्रोटीन जस्ता कमीलाई यसले सङ्केत गर्न सक्छ। यद्यपि, यो मधुमेह र भास्कुलर रोगको सङ्केत पनि हुन सक्छ जुन शरीरका केही भागहरूमा रगतको प्रवाह कम हुने र सामान्यतया धमनीहरूमा बोसो र कोलेस्ट्रोल जम्मा हुने कारणले हुन्छ। त्यसैले यसको जाँच गराउनु अझै महत्त्वपूर्ण छ।

“ब्यूज लाइनले जिङ्कको कमी भएको सङ्केत पनि गरेको हुनसक्छ, त्यस्तै नङ असाध्यै कमजोर चाहिँ भिटामिन बी सेभेनको कमीले पनि भएको हुनसक्छ,” युनिभर्सिटी हस्पिटल अफ वेल्समा कार्यरत बाल रोग विशेषज्ञ मेरी पियरसनले भनिन्।

अन्य अवस्थामा भने नङमा हुने परिवर्तन स्वास्थ्य समस्याले भन्दा पनि जीवनशैलीका कारणले हुनसक्छ। नङको माथिल्लो तह निस्किनुलाई अनिकोस्किजिया भनिन्छ र धेरै हात धुनाले, नङ सुक्खा हुनाले र नङमा लगाउने पालिसहरूको कारणले यस्तो हुन सक्छ,” न्यूयोर्कको द माउन्ट सिनाई अस्पतालका छाला रोग विशेषज्ञ प्राध्यापक जोशुआ जाइस्नरले भने।

तपाईँलाई अचम्म लाग्न सक्छ कि नङले मानिसको रोगको खुलासा गर्न सक्ने त्यस्तो के छ। एउटा मुख्य कारण भनेको नङ पक्कै पनि शरीरको केही त्यस्तो भाग हो जुन बाहिरबाट देख्न सकिन्छ।

“नङ भनेको छालाकै विस्तारित रूप हो र छालाले तपाईँको शरीरमा के भइरहेको छ भनेर धेरै नै भन्न सक्छ,” बाउमगार्डले भने।

“बिरामीको बारेमा तपाईँको पहिलो धारणा प्रायः ओछ्यानको छेउबाट सुरु हुन्छ। त्यसैले तपाईँ तिनीहरूलाई सबैतिर हेर्नुहुन्छ र नङबाट सुरु गर्नुहुन्छ अनि आँखा र मुखमा हेर्नुहुन्छ। त्यसैले नङहरू हामीले देख्ने पहिलो चीजहरू मध्ये एक हो,” उनले भने।

धेरैजसो समय नङमा हुने परिवर्तनहरू हानिकारक हुँदैनन् र नङको चोटपटकका कारणले मात्रै परिवर्तन भएको हुनसक्छ। तर यदि तपाईँले आकार, रङ्ग वा बनावटमा परिवर्तन स्थायी हुँदै गएको देख्नुभयो भने तपाईँले डाक्टरको सल्लाह लिनुपर्छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्