Logo
|
Friday 26th April 2024
Logo

epaper

‘यसरी बाँच्नु भन्दा बरु कालले लिए हुन्थ्यो’



 भेरी नगरपालिका २ रिसाङ्गकी सीता नेपाली उमेरले भर्खर ४२ बर्षकी भइन् । कलिलै उमेरमा रोगले गाँजेपछि यतिबेला उनी जीवनमरणको दोसाँधमा छट्पटाइरहेकी छिन् । उनलाई तल्लो पेट दुख्ने समस्या केही बर्ष पहिलेदेखि नै थियो । सुुरुमा प्रेत लागेको भन्दै उनी धामीझाँक्री गर्न तिर लागिन् । धामीले प्रेत हटाउने भन्दै दुई ओटा बोका समेत काटे तर रोग निको हुनुको साटो झन्झन् बल्झिदै गयो ।

‘केही समय पिडा सहेरै बसे तर खप्नै नसकेपछि जिल्ला अस्पताल जाजरकोट गएँ । त्यहाँ डाक्टरले सुविधा सम्पन्न अस्पताल गएर चेकजाँच गर्न सल्लाह दिनुभयो तर मसँग सुविधासम्पन्न अस्पताल जाने पैसा भएन’, उनले भनिन्,‘अहिले योनीबाट पिप बग्न थालेको छ । मेरो पिडा सुनाएर के गरौं । उपचार गर्ने पैसा छैन । मसँग मर्नु बाहेकको विकल्प छैन । यसरी खप्नै नसकिने पिडा सहेर बाँच्नु भन्दा छिटो कालले लिइदिए हुन्थ्यो ।’

चार सन्तानकी आमा सीतालाई चिकित्सकले पाठेघरमा क्यान्सर भएको आशंका गरेका छन् । जिल्ला अस्पतालका डा.भुपेन्द्रप्रकाश मल्लले उनलाई पाठेघरको क्यान्सर भएको हुन सक्ने भएकाले तत्काल सुविधासम्पन्न अस्पताल जान सल्लाह दिएको बताए ।

यतिबेला उनी उभिन पनि सक्दिनन् । घरमै थला परेकी छन् । घरको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । सम्पतीको नाममा दुई रोपनी पाखोबारी र ओत लाग्ने एउटा कच्ची घर छ । उनका श्रीमान तिलक नेपाली भन्छन्,‘ज्याला मजदुरी गरेर परिवारलाई बिहान बेलुकाको छाक टारिरहेको छु । श्रीमतीको उपचार कसरी गरुँ । गाडी भाडा जुटाउने उपाय समेत छैन ।

श्रीमती बिरामी नहुँदा उसले घरको कामकाज टार्थी, म बाहिर ज्याला मजदुरी गरेर परिवारको गर्जो टाथ्र्याै उनले भने,‘अब म के गरौं । कसरी उपचार गरौ । यस्तो आपत बैरीलाई पनि नपरोस ।’अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्