Logo
|
Saturday 23rd November 2024
Logo

epaper

भ्रष्टाचार आरोपमा श्रीमानले आत्महत्या रोजेपछि उजाडिएको सुखी परिवार

खर्च धान्न नसक्ने स्थिति आएपछि अहिले छोराको स्कुल परिवर्तन गरेँ



श्रीमती मोनिका कोइराला, ३ वर्षीय छोरा र स्व. अमृत पोख्रेल

मोनिका कोइराला दम्पती लामो समयदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत थिए । मोनिका ६ वर्षदेखि करारमा नर्स छिन् । अमृत पोखरेल १३ वर्षदेखि फार्मेसी अधिकृतका रूपमा कार्यरत थिए । जीवनशैली सामान्य थियो। दुवैको कमाइ राम्रै थियो । वसुन्धारामा फ्ल्याट भाडामा लिएर बस्थे । ३ वर्षको छोरालाई भर्खरै स्कुल भर्ना गरेका थिए । गत २०८० असार २९ गते एकाबिहानै घरबाट निस्किएका अमृत सेन्टरमा मृत फेला परे । बिहान करिब पौने ८ बजे दुई तलामाथि स्टोर रुमको भर्याङ नजिकै कपडाको पासो लगाएको अवस्थामा मृत भेटिए । मोनिकाको जीवनमा एक्कासीबज्रपात आइलाग्यो । विक्षिप्त भइन् । प्रहरीले घटनास्थलबाट सुसाइट नोट बरामद गर्यो । जसमा पोखरेलले आफूलाई फसाउन खोजिएको उल्लेख गरेका थिए । ‘आफूले गल्ती गरेर मलाई व्ल्याकमेल गर्ने र फसाउन खोज्ने सबैको जय होस्।’ सुसाइड नोटमा लेखिएको थियो । पछिल्लो केही समयदेखि अस्पताल प्रशासनले उनीसहित ७ जनालाई फार्मेसीको औषधी हिनामिना गरेको आरोपमा छानबिन अगाडि बढाएको थियो । तर, छानबिनमा परेकामध्ये अरूलाई सामान्य व्यवहार गरिएको थियो। अमृतलाई ३५ दिनसम्म हाजिर गरेर घर फर्कन आदेश दिइएको थियो । मोनिकाले आत्महत्या दुरुत्साहनको कसूरमा प्रहरीसमक्ष किटानी जाहेरी दिएपछि प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई प्रहरीले पक्राउ ग¥यो । पक्राउ परेकाहरु धरौटीमा छुटिसकेका छन् । अहिले काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । यसै सन्दर्भमा मोनिकासँग गरिएको कुराकानीको सम्पादित अंशः

अहिले त्रिवि शिक्षण अस्पतालले उपलब्ध गराएको क्वार्टरमा बस्दै आएका छौँ । एक जनाको कमाइले घर खर्च चलाउन मुस्कल हुन्छ । आमा दीर्घरोगी हुनुहुन्छ । हरेक महिना इन्सुलिनलगायत अन्य औषधी खरिद गर्न २०–२५ हजार खर्च हुन्छ । छोरालाई मन्टेश्वरीमा हालेकी छु । खर्च धान्न नसक्ने स्थिति आएपछि अहिले स्कुल परिवर्तन गरेँ । कानुनी लडाइँका लागि थप पैसा खर्च भइरहेको छ । मेरो स्वास्थ्य पनि राम्रो छैन । बाथरोग र मुटुको समस्या छ । पहिले मुटुको माइनर सर्जरी गरिएको थियो । पारिवारिक समस्याले गर्दा आफ्नो स्वास्थ्यलाई ध्यान दिन पाएको छैन ।

कोरोना महामारीका बेला गर्भवती थिएँ । बेड रेस्टमा बस्नुपर्ने बेला जबर्जस्ती ड्युटी गर्नुगर्यो । पेट दुख्ने, पानी बग्ने समस्या हुँदा पनि कोरोना संक्रमितको हेरचाहमा खटाइयो । यसको प्रतिकूल असर पेटको बच्चालाई पर्न गयो । बच्चा ८ महिनामै जन्मियो । यसले गर्दा बारम्बार बिरामी परिरहन्छ ।

श्रीमान्को मृत्युपछि अस्पतालका काम गर्न निकै कठिन भएको छ । केही कर्मचारीले बच्चाको नाममा पैसा संकलन गर्न खोजी, मृत्युको फाइदा उठाई भन्ने अफवाह फैलाइरहेका छन् । कसैसँग पैसा मागेकी छैन । मन हुनेले दिन सक्छन् । एक–दुई हजार रूपैयाँ संकलन गरेर केही हुने होइन । अस्पताल प्रशासनसँग बच्चाको नाममा कोष खडा गर्न आग्रह गरेको हो । एउटा बच्चाले आफ्नो पितासँग हुर्किन पाउने अधिकार खोसिएको छ । अस्पतालले अहिलेसम्म कुनै राहत उपलब्ध गराएको छैन । अधिकृत स्तरका कर्मचारीलाई ३७ दिनसम्म हाजिर गरेर घर फर्काइयो । बिनातथ्य निर्दोष व्यक्तिलाई स्पष्टीकरण सोधेर चरम मानसिक यातना दिइयो ।

‘आफूले गल्ती गरेर मलाई ब्ल्याकमेल गर्ने, फसाउन खोज्ने सबैको जय होस् ।’ —सुसाइड नोटमा लेखिएको छ– ‘सरी रत्नमणि सर, सरी भगवान सर, सरी उत्तम सर, सरी मोनिका, सरी मामु, सरी छोरो, सरी मेरो फ्यामिली लब यू अल’

कुनै पारिवारिक समस्या थिएन । अस्पतालभित्रको समस्या र मानसिक तनावले आत्महत्या गर्न बाध्य हुनुभयो । हाइ लेबलको टर्चर र ब्ल्याकमेल गरिएको थियो । राजीनामा दिन पटक–पटक उक्साइएको थियो । जागिर छोड नभए बदनाम गरिदिन्छु भनेर ब्ल्याकमेल गरिएको थियो । अस्पतालमा आर्थिक अनियमितता भएको भन्दै अनुसन्धान गर्न कीर्तिपुरबाट टोली आएको थियो । उक्त छानबिन रिपोर्टमा भ्रष्टाचार भएको पुष्टि गरी दोषीलाई कारबाही गरे न्याय पाउने थिएँ । हालसम्म रिपोर्ट उपलब्ध हुन सकेको छैन ।

छोराका साथ मोनिका

खाली पेजमा हस्ताक्षर गर्न लगाई गल्ती स्वीकारेको भनेर निर्देशकसमक्ष निवेदन दिइएको थियो । ७ जनासँग स्पष्टीकरण मागिए पनि निर्दोष व्यक्तिलाई कारबाही गरियो । सेन्टरका निर्देशक डा. रत्नमणि गजुरेलले बिनातथ्य लिखित स्पष्टीकरण माग्नुभयो । साथै, कार्य परिवर्तन गर्न लगाइयो । मनमोहनको फार्मेसीलाई यस स्थितिमा ल्याउन उहाँको ठूलो योगदान छ । केही व्यक्तिले उक्त पद हत्याउन निकै पहिलेदेखि नै चलखेल गरिरहेका थिए । धेरै ठूलो मिलेमतो हुनसक्छ ।

वास्तवमा, आर्थिक अनियमितता फार्मेसी डिस्पेन्सरीमा भएको थियो । उहाँ स्टोर इन्जार्ज हुनुहुन्थ्यो । मेरो श्रीमान्को नेतृत्वमा कुनै पनि आर्थिक अनियमितता भएको छैन । हिसाबकिताब स्पष्ट छ । अर्को कुरा, स्टोर इन्जार्जसँग फार्मेसी डिपेन्सरीको युजरनेम र पहुँचसमेत हुँदैन । प्रतिवादीमध्ये एक जनाको अन्डर फार्मेसी डिस्पेन्सरीमा आउँछ । आफ्नो जागिर बचाउन प्रतिवादीहरुले अरूको नाम लिए ।

मेरो श्रीमानका लागि इज्जत ठूलो थियो । मनोबल बलियो नभएपछि आत्महत्या गर्न बाध्य हुनुभयो । त्यतिबेला बच्चा बिरामी भएकाले अस्पताल भर्ना गरिएको थियो । डिफेन्स गर्ने स्थिति थिएन । हाजिर गरेर घर फर्कनुपर्दा निकै तनाव लिइरहेको कुरा अस्पताल प्रशासनलाई अवगत गराएकी थिएँ ।

हाल त्रिवि शिक्षण अस्पतालले बस्न क्वार्टर दिएको छ । त्यहाँ बत्ती, पानी र तलबको १० प्रतिशत शुल्क तिर्नुपर्छ । यति भए पनि धेरै राहत भएको छ । तर, मनमोहन कार्डियाक सेन्टरले मनोचिकित्सा परामर्शबाहेक हालसम्म कुनै क्षतिपूर्ति दिएको छैन । सेन्टरले आफ्नो गल्ती स्वीकार गरे पनि बच्चाको भविश्यका लागि आजसम्म केही सोचेको छैन । हरेक पटक स्वास्थ्य मन्त्रालयबाट आउने नर्सिङ ट्रेनिङ कार्यक्रममा सहभागी हुन र क्याम्प शिविरमा काजमा जान पाउने अपेक्षा गरिरहेकी हुन्छु । तर, मौखिक रूपमा पठाउँछौँ भनिए पनि हालसम्म वास्ता गरिएको छैन ।

अब बिनाअवरोध कानुनी लडाइँमा जान पाउनुपर्छ । अस्पतालबाट कुनै हस्तक्षेप हुनुहुँदैन । जति घन्टा काम गरे पनि आफ्नो काम सकाएर बाहिर निस्कन पाउनुपर्छ भनेर अस्पतालका निर्देशक, प्रशासन प्रमुख र मेट्रोनलाई जानकारी गराएकी छु ।

तर, अस्पतालका कर्मचारीबाट टर्चर सहँदै आउनुपरेको छ । करारका कर्मचारीलाई हेप्ने प्रवृत्ति बढी छ । सिनियर कर्मचारीको कुरा नमाने ड्युटी परिवर्तन गरिदिने धम्की दिइन्छ । आफूलाई मन परेको मान्छेले कामै नगरी हिँडे पनि मतलब गरिँदैन ।

कालो पट्टी बाँधेर ड्युटीमा मोनिमा

न्यायका लागि निरन्तर लड्नेछुु । श्रीमानलाई मर्न विवश पार्ने दोषीलाई कारबाहीको दायरामा ल्याउने कोसिस गर्नेछु । यसमा घरपरिवारबाट पूरा समर्थन छ । अझै पनि कालोपट्टि बाँधेर ड्युटी गरिरहेकी छु । जिल्ला अदालतमा विचाराधीन मुद्धा भएकाले यस विषयमा धेरै बोल्न मिल्दैन । तर मलाई पूर्ण रूपम विश्वास छ कि मैले अवश्य न्याय पाउने छु ।

प्रतिक्रिया दिनुहोस्