Logo
|
Friday 26th April 2024
Logo

epaper

टिकट र वेड समस्याः ३५ प्रतिशत बिरामी फिर्ता



निजामति कर्मचारी अस्पतालमा भर्ना भएका बिरामी र बिरामीका कुरुवाको सुविधालाई ध्यानमा राखेर अस्पतालले इन्डोर फार्मेसी सेवा सञ्चालन गर्ने भएको छ । बिरामीका लागि आवश्यक पर्ने औषधि फार्मेसीले सम्बन्धित वार्डमा उपलब्ध गराउने छ । अब बिरामीका आफन्त लाइनमा बसेर औषधि खरीद गर्नुपर्ने झन्झट हुने छैन । यसका लागि बिरामीले केही रकम धरौटी राख्नुपर्नेछ । आवश्यक तयारी भइसकेको र चाँडै सेवा सञ्चालनमा ल्याइने छ ।
केही समय सञ्चालन गरेर बन्द भएको कुपन सिस्टम फेरि शुरु गरिँदैछ । अस्पतालको भौतिक संरचनाको समस्याका कारण कुपन सिस्टम शुरु गर्नुपर्ने अवस्था सृजना भएको हो । बिहान एकैपटक ओपिडी टिकट दिन शुरु गर्दा लाइन लामो भएर पार्किङसम्म पुग्ने र वर्षाद्को समयमा आकाशबाट परेको पानीले भिज्ने समस्याका कारण कुपन सिस्टम लागू गर्न लागिएको हो ।

पहिलो प्राथमिकता निजामति कर्मचारीलाई
अस्पतालमा निजामति कर्मचारीहरुका लागि बिहान ७ बजदेखि ९ बजेसम्म र सर्वसाधारणलाई ९ बजेपछि ओपिडी टिकट वितरण गरिन्छ । कुपन लिएपछि बिरामीको टिकट त ग्यारेन्टी हुन्छ । तर बिरामीले शुरुमा कुपन, त्यसपछि टिकट र अन्तिममा जाँच गर्न लाइन बस्नुपर्छ । निजामति कर्मचारीलाई पहिलो प्राथमिकता दिइएको छ । त्यसैले बिहान निजामति कर्मचारीलाई ५० प्रतिशत टिकट वितरण गरेपछि मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । कर्मचारीलाई पहिला जाँचेपछि मात्र सर्वसाधारणलाई जाँच गर्न शुरु गरिन्छ । दैनिक ओपिडी सेवा लिन आउने करिब ८ सय बिरामीमध्ये ३०—३५ प्रतिशत निजामति कर्मचारी हुने गर्छन् । ओपिडीको क्षमता पनि त्यति नै हो ।
पहुँच बाहिर बिरामी
आकस्मिक सेवाका लागि दैनिक करिब ७० जना बिरामी आउने गर्छन् । तर अस्पतालमा ३५ जनाभन्दा धेरै भर्ना गरेर उपचार गर्ने क्षमता छैन । कतिपयको इर्मेन्सीमा समस्या समाधान भएपनि अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका करिब ३५ प्रतिशत बिरामीलाई वेडको अभावमा अन्यत्र पठाउनुपर्ने बाध्यता छ ।
अस्पतालमा १ सय ३२ वेड मात्र छ । त्यसमा ५० प्रतिशत त निजामति कर्मचारीलाई छुट्याइएको हुन्छ । बाँकी रहेका ६६ वेड मात्र सर्वसाधारणले प्राप्त गर्न सक्छन् । सिमित वेड संख्याका कारण भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई सेवा दिन असमर्थ छौं । बिरामीको अत्यधिक चाप र सिमित वेड संख्याका कारण बिरामीले पाएको दुखःप्रति नतमस्तक छौं ।

अस्पतालको क्षमता कति ?
अब अस्पतालको क्षमता बढाउनुपर्छ । अहिले बिरामीको चाप हेर्दा अस्पतालमा करिब ७ सय वेडको आवश्यकता छ । यसका लागि राज्यले पहल कदमी गर्नुपर्छ । हुनेखानेहरु निजीस्तरबाट सञ्चालित महँगा अस्पतालमा गएर उपचार गर्न सक्छन् । तर हुँदा खानेहरुका लागि सरकारी अस्पतालमा जानुको विकल्प हुँदैन । त्यसैले अस्पतालको क्षमता बढाउनुपर्छ ।

अस्पताललाई मात्र गाली गरेर के गर्ने ?
यसका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायबाट सोधनी हुँदैन त भन्ने प्रश्न पनि आउँछ । तर यसबारे अहिलेसम्म कसैले सोधेका छैनन् । सरकारी अस्पताल भन्दैमा क्षमता भन्दा बढी बिरामीलाई धान्न सकिदैन । यस्तो अवस्थामा अस्पताल प्रशासनलाई गाली गरेर मात्र केही हुँदैन ।

बढ्दो असन्तुष्टी
हामीसँग दैनिक ८ सय ओपिडी बिरामी हेर्न सक्ने क्षमता छ । तर अस्पतालमा १ हजार २ सय बिरामी आएमा ४ सय त फर्केर जानुपर्छ । फर्केर जाने बिरामी त अस्पतालप्रति रुष्ट हुन्छन् । यसै विषलाई लिएर कहिलेकाँही बिरामी र उसका आफन्तसँग झगडा पनि हुन्छ । मैले त अस्पतालमा सेवा सुविधा बढाउन सुझाव र सल्लाह दिन सक्छु तर कार्यान्वयन सरकारले नै गर्नुपर्छ ।

आहतमा राहत
निजामति अस्पताल बनेको ८ बर्ष भएपनि ओपिडी र अन्तरङ्ग सेवा सञ्चालनमा आएको ७ वर्ष भएको छ । यो अस्पताल चीन सरकारले बनाइदिएको हो । अस्पतालको सेवा र सुविधा विस्तारका लागि नेपाल सरकार र चीन सरकारबीच सम्झौता भइसकेको छ । यसका लागि बजेट एलोकेसन पनि भइसकेको छ । दशैँपछि १ सय वेडको सर्जिकल ब्लड थपिँदै छ । यसका लागि सम्पूर्ण काम चीन सरकारले ठेकेदारमार्फत गराएर एक वर्षभित्र हस्तान्तरण गर्ने छ । यसबाट बिरामीको उचारमा केही राहत मिल्नेछ ।

बिरामीको गुनासो
अस्पतालमा आउने बिरामीमध्ये ३०—३५ प्रतिशत बिरामी टिकट र वेड नपाएर फिर्ता हुनुपर्छ । अहिले सिभिल पुगेका बिरामीहरुको गुनासो भनेको शल्यक्रियाका लागि सही डेट, वेड, निकट नपाएको गुनासो छ । फोहोर ट्वाइलेटको समस्याको पनि गुनासो छ ।

पूर्वाधार थपिदै
हस्पिटलमा करिब २५ लाख रुपियाँको १० वटा ट्वाइलेट बनाइँदै छ । काम शुरु भइसकेको छ । अस्पतालमा बिरामी बस्ने ठाउँतिर फर्काएर ट्वाइलेट बनाइएकोे छ । मुख्य मानिस जाने बाटोको बीचमा ट्वाइलेट बनाइएकाले गन्हाउने समस्या पनि त्यत्तिकै छ । त्यसैले अस्पतालबाहिर ट्वाइलेट बनाउने योजना अघि सारिएको हो । आकस्मिक कक्षमा बिरामी कुरुवाका लागि बस्ने सुविधाको व्यवस्था मिलाइँदैछ ।

बिरामीको चाप न्यूनिकरण गर्न के हुनुपर्छ ?
अस्पतालमा उपचारका लागि आउने बिरामीहरुका लागि १ हजार बेडको स्टैण्डर्ड अस्पताल बनाउनुपर्छ । त्यसमा लाग्ने जनशक्तिलाई आकर्षक सेवा सुविधा दिनुपर्छ । आवश्यक उपकरण उपलब्ध गराइदिनुपर्छ । यसबाट निम्न र मध्यम बर्गीय बिरामीहरुले राम्रोसँग सेवा प्राप्त गर्न सक्छन् ।

स्थानीय तहमा सुविधासम्पन्न अस्पताल किन नबनाउने ?
विपन्न नागरिकका लागि भनेर अहिले बर्षमा २ हजार ५ सय तिरेपछि पाँच जनासम्मको परिवारले ५० हजारसम्मको सुविधा पाउने व्यवस्था छ । यस रकमभित्र रहेर सेवा लिन सरकारी अस्पतालहरु तोकिएका छन् । तर बिरामीहरुलाई दुर्गम ठाउँबाट राजधानीसम्म उपचार लिन आउन निकै कठिन पर्छ । उल्टै ठूलो धनराशी खर्च हुन्छ । त्यसैले स्थानीय तहमा सुविधासम्पन्न अस्पताल स्थापना गर्नुपर्छ । साधारण सिटामोल खानका लागि ५० हजार आवश्यकता पर्दैन ।

प्रतिक्रिया दिनुहोस्