Logo
|
Friday 26th April 2024
Logo

epaper

कमजोर आर्थिक अवस्थाका बाथरोगीलाई सामुदायिक क्लिनिक



रोशन कक्षपति ,प्रबन्ध निर्देशक ,नेशनल बाथरोग सेन्टर

‘हाडजोर्नी दुःख्ने समस्यालाई सामान्य रुपमा नलिनुहोला । यो डरलाग्दो बाथरोग पनि हुनसक्छ । सामान्य दुखाइ छ भने पनि सिआरपी इएसआर जस्ता टेष्टहरु गरेर बाथ भएनभएको एकिन गर्नुहोला ।’ यो भनाइ हो नेशनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशक कक्षपतिको ।
बाथरोग अभिषाप होइन
‘बाथरोग अभिषाप होइन । यो कुजिएर बस्नुपर्ने रोग पनि होइन । समयमा उपचार गरेमा नियन्त्रण हुन्छ । पीडा र दुखाइबाट मुक्त जीवन बनाउन सकिन्छ ।’ प्रबन्ध निर्देशक कक्षपति भन्नुहुन्छ— यसका लागि जनचेतना व्यपाक गराउन जरुरी छ । हामीले सन् २०१२ देखि विश्व बाथरोगको अवसर पारेर बाथसम्बन्धि विभिन्न जनचेतनामुलक ¥याली, निशुल्क शिविरहरु सञ्चालन गर्दै आएको छौं ।’

‘समयमा परीक्षण गरौं, जोर्नीहरु बचाऔं’
सेन्टरले विगतदेखि नै ‘समयमा परीक्षण गरौं, जोर्नीहरु बचाऔं’ भन्ने नाराका साथ काम गर्दै आएको छ । यसवर्षको विश्व बागरोगको नारा पनि उस्तै किसिमको ‘डन्ट डिले कनेक्ट टुडे’ अर्थात ’ढिला नगरौं आजै उपचार गरौं’ भन्ने छ । ‘बाथ रोगबारे हामीले दिन खोजेको सन्देश र अन्तर्राष्ट्रिय संगठनले दिन खोजेको सन्देश लगभग मिलेको छ ।’—कक्षपतिको भनाइ छ— ‘बाथरोगसम्बन्धि जानकारी स्वास्थ्यसम्बन्धि थाहा नभएका वर्गसम्म पु¥याउने हाम्रो अठोट हो ।’

सफलता
बाथ रोगमा जिवनभर दुखाइको पीडा भोग्नुपर्ने हो किन भनेर आत्तिएका समुदायलाई सचेत बनाएर जोर्नीहरु बचाउने र पीडामुक्त जीवन दिनु नै आफ्नो सफलता भएको उहाँको ठम्याई छ ।

बाथ चिनौं
बाथरोग अटो इम्युन डिजिज हो । यसलाई बेलैमा पहिचान गरेर सही उपचार गरेमा संभावित खतराबाट जोगाउन सकिन्छ । यसका लागि बाथरोग चिनेर वाथरोगको प्रकृति अनुसार औषधि उपलब्ध हुनुपर्छ । बाथरोग नसर्ने रोग हो । कतिपय बाथमा जिवनभर औषधि सेवन गर्नुपर्ने हुनसक्छ भने कुनै बाथमा औषधि छाड्न पनि सकिन्छ । यो कुरा सम्बन्धित चिकित्सकहरु बताउँछन् ।

फिजियोथेरापी र खानपान
बाथरोग उपचारसँगै फिजियोथेरापी, खानपान, जीवनशैली परिवर्ननको भूमिका महत्वपूर्ण हुन्छ । ‘त्यसैले हाम्रो सेन्टरमा आहार क्लिनिक, फिजियोथेरापी सेवाको राम्रो व्यवस्था छ ।’ रोग नियन्त्रणमा बिरामी स्वयंको ठूलो हात हुने सुझाब दिँदै कक्षपति आग्रह गर्नुहुन्छ—‘यसका लागि समयमा परीक्षण र सम्यमित भएर औषधि सेवन गर्न भुल्न हुँदैन । औषधि सेवन गर्दा गर्दै पनि बेलाबेलामा दुखाइ हुनसक्छ । यसका लागि सम्बन्धित चिकित्सकको परामर्शमा रहनुपर्छ ।’

विपन्नलाई सामुदायिक क्लिनिक
यहाँहरुले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि के कस्तो सुविधाको व्यवस्था गर्नुभएको छ ? भन्ने जनस्वास्थ्य सरोकारको प्रश्नमा कक्षपति भन्नुहुन्छ—‘हामीले हरेक हप्ताको बुधबार एक दिन केन्द्रमा बिरामी अन्तरक्रियाको व्यवस्था मिलाएका छौं । न्यून आम्दानी भएका व्यक्तिहरुलाई हरेक दिन सामुदायिक क्लिनिक सेवा शुरु गरेका छौं । यसका लागि बिरामीले ५० रुपियाँ तिरेपछि बहिरंग सेवा प्राप्त गर्न सक्छन् ।’

औषधि महँगो छ कि ?
औषधि महँगा र सस्ता भन्ने बाथरोगको प्रकृतिमा भर पर्छ । डिजिज मोडिफाइङ्ग औषधि सस्तो पर्छ । यो दिनमा दुईपटक सेवन गर्नुपर्छ । यसको मुल्य प्रति महिना २ देखि ३ हजार रुपियाँसम्म पर्नसक्छ । बाथ रोगमा प्रयोग गरिने बायोलोजिकल एजेन्टस् प्रकृतिका औषधि महँगा छन् । यसको एक डोजको १७ हजारदेखि ५० हजार रुपियाँसम्म मुल्य पर्नसक्छ । कक्षपतिको भनाइ छ—‘बाथरोगको अवस्थाअनुसार बायोलोजिकल एजेन्ट्स औषधि बर्षमा दुईपटक, हप्तामा एक पटक, दुई हप्तामा एकपटक समेत दिनुपर्ने हुनसक्छ ।’ विगतमा एकलाख देखि एक लाख ५० हजार रुपियाँसम्म पर्ने यस्ता औषधिको मुल्य सस्तो हुँदै आएका छन् ।

गुणात्मक सेवा
विगत चार वर्षको अवधिमा सेन्टरले करिब ३० लाख बाथरोगीमध्ये एक देखि डेढ प्रतिशत बाथ रोगीलाई उपचार सेवा उपलब्ध गराउन सफल भएको छ । यसलाई राम्रो उपलब्धि मान्नुपर्छ । बाथ रोगमा संख्यात्मक भन्दा पनि गुणात्मक सेवाको जरुरत भएको कक्षपतिको भनाइ छ ।

अत्याधुनिक तरिकाले सेवा दिन तयार
बाथरोगको उपचार संख्यालाई बढाउन दक्ष जनशक्तिको आवश्यकता पर्छ । सरकारी तहबाट बाथरोग सम्बन्धि दक्ष चिकित्सक उत्पादन गर्ने नीति ल्याइएमा अझ अत्याधुनिक तरिकाले बिरामीलाई सेवा दिन तयार छौं । कक्षपतिले भन्नुभयो— ‘विश्वमा उपलब्ध प्रविधि देशमा भित्र्याउनका लागि लगानी गर्न हामी जुनसुकै बेला पनि तयार छौं ।’

प्रतिक्रिया दिनुहोस्