Logo
|
Friday 26th April 2024
Logo

epaper

भरतपुर क्यान्सर अस्पतालमा अत्याधुनिक सेकाइ उपकरण



भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण भित्रिएको छ ।

अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार अहिले सञ्चालनमा रहेका दुईवटा सेकाइका उपकरणभन्दा आधुनिक प्रविधिको उपकरण भित्र्याइएको हो ।

यो उपकरणले बिरामीको क्यान्सर देखिएको कोशिकामा मात्र विकिरणमार्फत रोगको निदान गर्नेछ । हाल सञ्चालनमा रहेका कोवाल्ट उपकरणले क्यान्सर भएको कोशिकाका आसपासका कोशिकालाई पनि असर पार्ने भए पनि लिनियाकबाट भने त्यस्तो जोखिम नहुने उहाँले बताउनुभयो । हाल अस्पतालमा लिनियाक ६०० सिडी र कोबाल्ट ६० बाट सेकाइ गरिँदै आएको छ । ती दुई उपकरणले दैनिक बिहान बेलुका समेत गरेर १३० जनासम्मलाई उपचार गराउँदै आएको आचार्यले बताउनुभयो ।

आउँदो एक महिनाभित्रमा नयाँ उपकरण जडान गरी सेवा थालिने उहाँले बताउनुभयो । यसअघिनै बनिसकेको वंकर (विकिरण बाहिर नजानका लागि निर्मित कोठा) तयार भएकाले उपकरण जडानसँगै सञ्चालनमा आउने छ । यससँगै बिरामी बाहिरका अस्पतालमा धाउन नपर्ने उहाँले बताउनुभयो । क्यान्सर अस्पतालले रु २५ हजारदेखि रु ७५ हजारमा बिरामीको सेकाइको चक्र पूरा गर्ने गर्दछ । निजी अस्पतालमा यसका लागि रु तीन लाखसम्म पर्ने उहाँले बताउनुभयो ।

पुराना उपकरण बिग्रँदै गएपछि केही महिना अघिसम्म क्यान्सर अस्पतालमा एउटामात्र सेकाइ उपकरणबाट उपचार गराइँदै आएको थियो । बिग्रिएकोमध्ये एउटा मर्मतपछि सञ्चालनमा आएसँगै दुईवटा उपकरण सञ्चालनमा रहेका छन् । तीन उपकरण नियमित सञ्चालनमा आएपछि क्यान्सर अस्पताल आएका बिरामीलाई पालो मिलाएर सेकाइ गर्न सकिने आचार्यले बताउनुभयो ।

अस्पतालका रेडिएशन अंकोलोजिस्ट डा शिवजी पौडेलले १० लाख जनसंख्यालाई एउटा यस्तो उपकरण चाहिने भन्दै उहाँले क्यान्सर अस्पताल र अन्य दुई निजी अस्पतालमा मात्र यो उपकरण रहेको बताउनुभयो ।

निजी अस्पतालमा काठमाडौँको काठमाडाँै क्यान्सर सेन्टर र नेपाल क्यान्सर अस्पतालमा मात्र यो प्रविधिको उपकरण रहेको पौडेलले बताउनुभयो । नयाँ उपकरण थपिएसँगै क्यान्सर अस्पताल आउने बिरामीलाई उच्च प्रविधिको सेवा दिन सकिने पौडेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्