मस्तिष्क मृत्यु भएको एक व्यक्तिले दिन्छ ८ जनालाई पुनर्जीवन

पुरुषोत्तम घिमिरे/जनस्वास्थ्य सरोकार ,काठमाडौं || प्रकाशित मिति :2018-04-15 08:29:52

सडक दुर्घटना एवं विभिन्न रोगका कारण कुनै पनि बेला अस्पतालमा जीवनको अन्त्य हुनसक्छ । यसरी मृत्यु पछि गाडेर कुहिने वा जलाएर खरानी हुने अंग अर्को व्यक्तिमा प्रत्यारोपण गरेर धेरै जनाको ज्यान जोगाउन सकिन्छ अर्थात अंग फेल भएर मृत्युको दिन कुरिरहेको अर्को व्यक्तिलाई पुनर्जीवन दिन सकिन्छ । नेपालमा मस्तिष्क मृत्युबाट अंगदान गर्नसक्ने कानुनी बाटो खुलेयता यो सम्भव भएको हो ।
एकजना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा महत्वपूर्ण अंग निकालेर ८ जनालाई बचाउन सकिन्छ । यस्ता अंगहरुमा २ वटा मिर्गौला, २ वटा फोक्सो, १ वटा मुटु, १ वटा कलेजो, १ वटा प्याँक्रियाज, १ वटा सानो आन्द्रा रहेका छन् ।

यसरी ८ जना व्यक्तिले नयाँ जीवन प्राप्त गर्न सक्छन् । मस्तिष्क मृत्युबाट आएको अंग राज्यले सही उपयोग गराउन कानुन पारित गरेर काम शुरु गरिसकेको छ । यसमा नेपाल सरकारले स्थापना गरेको भक्तपुरको सल्लाघारीस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सक्रियताका साथ काम गरिरहेको छ ।
ट्राफिक प्रहरीको २०७३–०७४ को तथ्यांकले २ हजार १ सय १५ जनाको सडक दुर्घटनाबाट मृत्यु भएको देखाएको छ । काठमाडौं उपत्यकाका अस्पतालहरुमा मात्र सडक दुर्घटनालगायत विभिन्न नसर्ने रोगका कारण हरेक वर्ष १ हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको अनुमान छ ।
अब मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवारमा ‘अंगदान गरेर पुण्य कमाउन सकिन्छ’ भन्ने जनचेतनाको खाँचो छ ।

यद्यपी काठमाडौ उपत्यकामा १ हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको जानकारी आउँदै गर्दा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विभिन्न अस्पतालबाट अंगदानका लागि अहिलेसम्म १६ वटा टेलिफोन कल मात्र आएको छ ।
यसरी १६ जना मध्ये १३ जनाको परिवारले मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग दिन मानेनन् । २ जनाको अंगको स्तर खस्किसकेको थियो । एक जना व्यक्तिबाट प्राप्त भएको दुईवटा मिर्गौलाबाट २ जनालाई पुनर्जीवन दिन केन्द्र सफल भएको छ ।
मस्तिष्क मृत्यु भएपछि सम्वन्धित अस्पतालले केन्द्रलाई खवर गर्नुपर्ने ऐनमा नै उल्लेख भएकाले केन्द्रले समन्वय गरेर कुन हस्पिटलबाट आएको अंग कुन व्यक्तिले पाउने भन्ने एकिन गरिदिन्छ ।
यसरी सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी मस्तिष्क मृत्युबाट हुने अंगदानको जनचेतनामा खरो उत्रिनुपर्ने आवश्यकता देखिएको छ । ‘यो मानव सेवाका लागि हो’—केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण शल्यचिकित्सक डा.पुकार चन्द्र श्रेष्ठ भन्नुहु्न्छ—‘अंग फेल भएर कोही पनि नेपालीले अकालमा ज्यान गुमाउन नपरोस् ।’
अहिले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा ४ सय जना मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् । २५ जना कलेजो प्रत्यारोपणका लागि पर्खिरहेका छन् । यदि मस्तिष्क मृत्युबाट अंगदान भएको अवस्थामा प्रत्यारोपणको पर्खाइमा बसेका व्यक्तिले पुनर्जीवन पाउने छन् । यस केन्द्रमा हाल बर्षेनी २ सय जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । मस्तिष्क मृत्युबाट अंगदान नियमित भई प्रत्यारोपण हुन सकेको आगामी वर्षहरुमा यो संख्या तेब्बर पु¥याउन सकिने अंगदानसम्बन्धि कानुन निर्माणका लागि धेरै संघर्ष गरेका डाक्टर श्रेष्ठको भनाइ छ ।
‘हाम्रो सामथ्र्य हुँदा हुँदै पनि मिर्गौला प्रत्यारोपणका लागि बर्षेनी ६ अर्व रुपियाँ बाहिरिने अनुमान छ । केन्द्रले बार्षिक १ अर्व जोगाउन सफल भएको छ । कलेजो प्रत्यारोपणका लागि वर्षेनी झन्डै डेढ अर्व रुपियाँ बाहिरिन्छ । त्यसलाई पनि रोक्नुपर्छ ।’—डा.श्रेष्ठको भनाइ छ—‘यसका लागि मस्तिष्क मृत्यु भएका ब्यक्तिको अंग प्रत्यारोपण एक मात्र विकल्प हो ।’
मानव अंग प्रत्यारोपणजस्तो महत्वपूर्ण काम आफ्नो सामथ्र्यमा रहेको महसुस गरी सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीको भलो देखेर बेलायतबाट मुलुकमा फर्केपछि सबैभन्दा पहिले डा. श्रेष्ठ मानव अंगदान सम्बन्धि कानुन परिमार्जनतिर लाग्नु्भयो ।
मस्तिष्क मृत्यु सम्बन्धि पुरानो कानुनमा परिभाषा स्पष्ट थिएन । नियमावली पनि बनेको थिएन । यद्यपी त्यसबाट कुनै पनि किसिमको मस्तिष्क मृत्युबाट हुने अंगदान प्रत्यारोपण को कार्य सम्भव थिएन ।
मस्तिष्क मृत्यु घोषणा गर्ने विधि पनि कानुनमा स्पष्ट नभएकाले बरिष्ट न्यूरो सर्जन प्रा.डा.उपेद्र प्रसाद देवकोटा लगायतका सरोकारवाला ब्यक्तिको संलग्नतामा यो कानुनलाई परिमार्जन गर्न डाक्टर पुकार एउटा कमिटी बनाउन सफल हुनुभयो । धेरै पटक कमिटीको बैठक बस्यो । मस्तिष्क मृत्यु सम्बन्धि कानुुन परिमार्जनका लागि डा. पुकार पार्लियामेन्टमा ५० भन्दा धेरै पटक धाउनुभएको थियो । यसबारे सांसदलाई बुझाउन डा.पुकारले कति पनि कसरत बाँकी राख्नु भएन । स्वास्थ्य मन्त्रालयका पदाधिकारीलाई बुझाउन सजिलो भएपनि संसदका विभिन्न पार्टीका माननीय सांसदहरुलाई बुझाउन धेरै मिहिनेत गर्नुपरेको डा. पुकारको अनुभव छ ।
उहाँले निरन्तर सांसदहरुको सम्पर्कमा रहेर छलफल गर्नुभयो । यसै सिलसिलामा संसदको महिला सामाजिक बालबालिका समितिकी तत्कालीन अध्यक्ष रञ्जु झाले मस्तिष्क मृत्युसम्बन्धि कानुन परिमार्जनको विषयलाई धेरै गम्भिरताका साथ लिनुभयो । मस्तिष्क मृत्यु सम्बन्धि घोषणा कसरी गर्ने ? कार्यविधि र मस्तिष्क मृत्यु घोषणा भइसकेपछि अंगदान कसरी गर्न सकिन्छ ? भन्ने कार्यविधि र दान गरेको अंग कसले पाउँछ ? आदि इत्यादि व्याख्या गरेर मस्तिष्क मृत्युसम्बन्धि ऐन निर्माण भयो । त्यसपछि बनेको मस्तिष्क मृत्युबाट प्राप्त हुने अंगदान सम्बधि नियमावलीमा कुन अंग, कसरी वितरण गर्ने, मस्तिष्क मृत्यु भएकोे ब्यक्तिको अंग कसरी निकाल्ने ? कानुनी प्रक्रिया कसरी पूरा गर्ने ? र कस्तो किसिमले अंग वितरण गर्ने ? लगायतका विषयमा केन्द्रित रहेर स्पष्ट मापदण्ड बनाइएको छ ।
अहिले मिर्गौला र कलेजो प्रत्यारोपणको स्पस्ट मापदण्ड बनिसकेको छ । मुटु, फोक्सो र प्याँक्रियाजको मापदण्ड बनाउन बाँकी छ ।

मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपणसम्बन्धि नियमावली एवं मापदण्ड तत्कालीन स्वास्थ्यमन्त्री गगन कुमार थापाले संसदबाट पास गराउनुभएको हो । यो नियमावली पास गराउन मन्त्री थापा अहोरात्र खट्नुभएको थियो । यसरी मस्तिष्क मृत्युसम्बन्धि नियमावली पास भएको पर्सिपल्ट नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण गर्न धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा. पुकार र उहाँको टिम सफल भयो ।
त्यो प्रत्यारोपण मस्तिष्क मृत्युबाट नभई स्वस्थ ब्यक्तिबाट प्राप्त भएको कलेजोको प्रत्यारोपण थियो । त्यसको ३ महिनापछि अर्थात २०७४ साल बैशाख ३० गते केन्द्रमा निर्देशक डा. पुकार र उहाँको टिम मस्तिष्क मृत्यु भएका एक जना व्यक्तिको दुई वटा मिर्गौला झिकेर २ जना व्यक्तिलाई पुनर्जीवन दिन सफल भयो । त्यससँगै प्राप्त भएको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने कोशिश गरिएको थियो । तर कलेजो ग्रहणकर्ताले मृत्यु भएको व्यक्तिको कलेजो प्रत्यारोपण गर्न मानेनन् । पछि उनलाई आफ्नै छोरीको आधा कलेजो काटेर प्रत्यारोपण गरिएको थियो ।

यो सम्पूर्ण यात्रामा डा. पुकारको बेलायतमा बस्दा प्रत्यारोपण गरेको अनुभव मुख्य थियो । बेलायतमा रहँदा टिमसहित डा. पुकार मिर्गौला, कलेजो, प्याँक्रियाज प्रत्यारोपण गर्ने अंग झिक्न रातारात न्युक्यासलबाट हवाइजहाजबाट आयरल्याण्डसम्म पुग्नुहुन्थ्यो । कहिलेकाँही एम्वुलेन्सबाट नजिकको शहरमा जाने गर्नुहुन्थ्यो । यसरी मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग निकालिसकेपछि सेन्ट्रल को—अर्डिनेटिङ बडीलाई अंग आउनेबारे खवर गर्नुहुन्थ्यो । सेन्ट्रल को—अर्डिनेटिङ बडीले मापदण्ड अनुसार वितरण गर्ने डा. पुकार बताउनुहुन्छ । बेलायतमा एउटा टोलीले अंग निकाल्ने र अर्कोले प्रत्यारोपण गर्ने काम सम्पन हुन्थ्यो । यसरी २४ सै घण्टा सक्रिय रुपमा मस्तिष्क मृत्युबाट भएको अंग प्रत्यारोपण गर्ने व्यवस्था भएको डाक्टर पुकार बताउनुहुन्छ ।
‘मैले नेपालमा त्यहि रोल मोडल अर्थात कार्वनकपि गर्न खोजेको हो’—डा. पुकारले भन्नुभयो । यसका लागि तत्कालिन स्वास्थ्य सचिव डा.प्रविन मिश्र र चिकित्सा महाशाखा प्रमुख डा. तिर्थराज बुर्लाकोटीले धेरै सहयोग गरेको डा. पुकार स्मरण गर्नुहुन्छ । त्यो बेला स्वास्थ्यमन्त्री खगराज अधिकारी हुनुहुन्थ्यो । ‘संसदबाट ऐन पास गराउन समितिकी तत्कालीन अध्यक्ष रञ्जु झाको ठूलो भूमिका छ । नियमावली पास गर्न तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाको ठूलो भूमिका र सहयोग भयो । उहाँले रातारात नियमावली पास गराउन महत्वपूर्ण भूमिका खेल्नुभयो । ’ डा. पुकार बताउनुहुन्छ ।
मस्तिष्क मृत्यु निर्धारण समितिमा डा. तिर्थराज वुर्लाकोटीको अध्यक्षतामा १० जना ब्यक्तिको सहभागिता रहेको थियो । त्यसमा प्रा. डा. उपेन्द्र प्रसाद देवकोटा, डा. वसन्त पन्त, डा. ब्रम्ह देव झा, डा. मोदनाथ मरहठ्ठा, डा. भगवान कोइराला, डा.डिवी शाह, डा. पवन सुल्तानीया, डा.जगदीश अग्रवाल र कानुनको तर्फबाट इन्दिरा दाहाल हुनुहुन्थ्यो ।
सन् २००८ डिसेम्भर १२ मा पहिलोपटक बीर अस्पतालमा प्रा. डा. विजय कुमार शर्मा (वरिष्ठ सर्जन) तथा डाक्टर पुकार र उहाँको टिम मिर्गौला प्रत्यारोपण गर्न सफल भएको थियो । त्यसमा नेफ्रोलोजी विभागबाट प्रा. डा. रजनी हाडा, डा. राजेन्द्र अग्रवाल, डा. अनिल बराल, एनेस्थेसिया विभागबाट प्रा. डा. ब्रमहदेव झा, तत्कालिन निर्देशक डा. प्रविन मिश्र लगायतले महत्वपूर्ण सहयोग गर्नुभएको थियो । यस कार्यमा भारतबाट अल इन्डिया इन्स्टिच्युटका डा.सन्दिप गुलेरिया र वेलायतका डाक्टर डेविड टल्वटको सहयोग रह्यो । त्यसअघि सन् २००४ मा मिर्गौला प्रत्यारोपणको कोशिस भएपनि यसले सफलता प्राप्त गर्न सकेको थिएन ।
पूर्वाधारलगायतका विभिन्न समस्याको बाजजूद पनि बीरमा ४ वर्षको अवधिमा धिमा गतिमा ९९ जनाको मिर्गौला प्रत्यारोपण गर्दा डाक्टर पुकार र उहाँको टिम ९९ प्रतिशत सफलता हात पर्यो । त्यहि कारण डा. प्रविन मिश्र स्वास्थ्य मन्त्रालयमा सचिव भएर आएपछि उहाँकै अवधारणामा भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने कार्य अघि बढेको हो । त्यसको जिम्मा डा. पुकारलाई दिइयो ।
डा.पुकार वेलायतबाट नेपाल फर्किदा स्वास्थ्यमन्त्रीमा गिरिराजमणि पोखरेल हुनुहन्थ्यो । गिरीराजमणि पोखरेलले नेपालमा अंग प्रत्यारोपण सेवा विस्तार गर्न आफूलाई बोलाएको डा. पुकारले खुलासा गर्नुभयो । पोखरेल मन्त्री भएलगत्तै बीरमा प्रत्यारोपण गर्ने जिम्मा पाएको डा.पुकार बताउनुहुन्छ । त्यो बेला अहिलेका प्रधानमन्त्री केपि शर्मा ओली परराष्ट्र मन्त्री हुनुहुन्थ्यो । उहाँले पनि नेपाल फर्किएर प्रत्यारोपण गर्न डाक्टर पुकारलाई आग्रह गर्नुभएको थियो । केन्द्र स्थापना गर्नेमा तत्कालीन स्वास्थ्य मन्त्री राजेन्द्र महतो महत्वपूर्ण भूमिका रह्यो ।
प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिने
विश्व स्वास्थ्य संगठनका अनुसार, नसर्ने रोगका कारण ६२ प्रतिशत नेपालीको मृत्यु भइरहेको छ । त्यसमा मुटु, मिर्गौला, क्यान्सर, चोटपटक, आदि रहेका छन् ।
यसरी अंग फेल भएर मर्ने मानिसको संख्या अत्याधिक बढेको छ । प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने अनुमान गरिएको छ । १ हजार जनाको कलेजो फेल हुने अनुमान छ । कति जनामा मुटु र फोक्सो फेल हुन्छ भन्ने अनुमान गर्न सकिएको छैन । नेपालमा ३० लाख मधुमेही रहेका छन् । उनीहरुमा प्याँक्रियाज प्रत्यारोपण गरेर सयौंको मधुमेह निको पार्न सकिने डा.पुकारको विश्वास छ ।
केन्द्रमा बार्षिक रुपमा २ सय भन्दा बढी जनाको मिर्गौलालगायतका अंग प्रत्यारोपण गर्न सक्ने क्षमता छ । माग ३ हजार छ भने आपूर्ति २ सय मात्र छ । माग र आपूर्तिबीच ठूलो खाडल (ग्याप) छ । त्यसैले अधिकांश मिर्गौला फेल भएका व्यक्तिलाई बचाउन मस्तिष्क मृत्यु भएको अंग नै प्रयोग गर्नुपर्छ । दुर्घटनाबाट काठमाडौमा हुने १ हजार जनाको मस्तिष्क मृत्युबाट २ हजार मिर्गौला प्राप्त गर्न सकिन्छ । १ हजार वटा कलेजो आउँछ । यसलाई सहि सदुपयोग गर्न सकेको अवस्थामा मस्तिष्क मृत्यु भएको व्यक्तिको अंगबाट नेपाललाई प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिने डा.पुकारको भनाइ छ । यसको लागि देशको ७ वटै प्रदेशमा अंग प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यमा सरकारलाई सघाउन डा. पुकार र उहाँको टिम तत्पर रहेको छ ।
अंगदान गर्दाको फाइदा
ड्ड मस्तिष्क मृत्यु भएकाहरुबाट प्राप्त खेर जाने अंगबाट अर्को व्यक्तिलाई पुनर्जीवन दिन सकिन्छ ।
ड्ड चिकित्सा विज्ञानको अध्ययनमा स्वस्थ्य व्यक्तिहरुमा तथ्यांक हेर्दा मिर्गौला दान नगर्नेहरुको तुलनामा मिर्गौलादाता धेरै बाँचेको पाइएको छ । मिर्गौला दान गर्ने व्यक्तिको धेरै जाँचपड्ताल गरिने र नियमित फलोअपमा राखिने उनीहरु स्वस्थ्य रहन्छन् र दीर्घजीवी हुन्छन् ।
अंगदानमा फाइदै फाइदा छ । डराउनुपर्ने कुनै कारण हुँदैन । आफ्नै परिवारमा म्याच गर्ने व्यक्तिको अंग दिन उत्तम हुन्छ । यदि म्याच नभएको अवस्थामा हाम्रो नयाँ कानूनमा २ वा २ भन्दा बढी परिवार बीच साटासाट गर्ने पिएर एक्स्चेन्ज को पनि व्यवस्था छ । जस्तोः एउटा परिवारमा ग्रुप ए दाता र बी ग्रहणकर्ता बीच म्याच नभएमा अर्को परिवारमा ठ्याक्कै उल्टो ए ग्रहणकर्ता र बी दाता छ भने साटासाट गर्न पाइन्छ ।

    Comment Here!