Logo
|
Tuesday 19th March 2024
Logo

epaper

विश्व मस्तिष्क ट्यूमर दिवस २०१८, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ



आज विश्व मस्तिष्क ट्युमर दिवस । मस्तिष्क ट्यूमरबारे धेरैलाई कौतुहलता हुनसक्छ । हरेक वर्ष ८ जुनलाई विश्व मस्तिष्क दिवसका रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना विश्वभर मनाउने गरिन्छ । ट्यूमर र मस्तिष्क क्यान्सर ट्यूमरबारे जनतालाई जागरुक बनाउने यसको प्रमुख उद्देश्य हो । यसै सन्दर्भमा वीर अस्पतालका वरिष्ठ न्यूरोसर्जन डा.राजिव झा र ग्रान्डी इन्टरनेशनल हस्पिटलका अर्को वरिष्ठ न्यूरो सर्जन डा. अमित थापासँग कुराकानीमा आधारित रहेर जनस्वास्थ्य सरोकारका लागि सन्देश श्रेष्ठले  रिपोर्ट तयार पार्नुभएको छ ।

 

शारीरिक असन्तुलन, वान्ता हुनु, दृष्टि धमिलो हुनु, टाउको दुख्नु जस्ता कुरालाई अक्सर हामी सामान्य मान्छौँ तर, कतिपय अवस्थामा यस्ता लक्षण ब्रेन ट्युमरको समस्या पनि हुन सक्ने चिकित्सकहरु बताउँछन् ।
ट्युमर विभिन्न खालका हुन्छन् । वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन डा.राजीव झाका अनुसार, मानव मस्तिष्कमा विनायन ट्यूमर, क्यान्सर ट्यूमर, मेटास्टेटिक ट्युमरलगायतका समस्या देखिने गर्छ । यस्ता ट्यूमरले आ—आफ्नै प्रकारका लक्षण देखाउने डा. झाको भनाइ छ । विनायन ट्यूमरअन्तर्गत पिट्युटरी ग्रन्थीको ट्युमर, न्युरोमास, क्रानियोफ्यारिन्जियोमास, पाइलोसाइटिक एस्ट्रोसाइटोमास पर्दछन् । डा. झा भन्नुहन्छ—‘ मस्तिष्कमा दवाव पर्दा यस प्रकारको समस्या देखिनसक्छ ।’ यसैगरी क्यान्सर ट्युमर मस्तिष्क र केन्द्रीय स्नायु प्रणालीमा सिमित हुन्छ । यसअन्तर्गत उच्च र निम्न श्रेणीका एस्ट्रोसाइटोमास, ओलीगोडेन्ड्रोग्लायोमास, इपेन्डियोमास र मिश्रित ग्लाइयोमास, मेडुलोब्लास्टोमास र ग्लियोब्लास्टोमास पर्छन् । यसैगरी पेट, स्तन, मिर्गौला र फोक्सोमा देखिएका क्यान्सर मस्तिष्कसम्म पनि पुग्नसक्छ । यसलाई मेटास्टेटिक मस्तिष्क ट्युमर भनिन्छ ।

ग्रान्डी इन्टरनेसनल हस्पिटलका वरिष्ठ न्युरो सर्जन डा. अमित थापा मस्तिष्कमा १ सय भन्दा बढी ट्यूमर हुने बताउनुहुन्छ । उहाँ भन्नहुन्छ—‘मस्तिष्कको कुन भागमा ट्युमर छ भन्ने आधारमा लक्षण देखिन्छन् ।’ उहाँका अनुसार, क्यान्सरको उपचार गर्दा विकीरणका कारण मस्तिष्कको ट्यूमर हुनसक्छ । साथै परिवारका कुनै सदस्यमा रोग भएमा अर्को पुस्तामा पनि देखिन सक्ने सम्भावना रहन्छ ।’

मस्तिष्कमा बढेको ट्यूमरको धेरैले ख्याल गरेको पाइँदैन । अन्य रोगको जस्तै माइग्रेन, पेट दुखाइ, वाकवाकी लाग्ने जस्ता समस्याले पनि मस्तिष्क ट्यूमरको लक्षण बताइरहको हुन्छ ।
वरिष्ठ न्युरो सर्जन डा. झा भन्नुहुन्छ— ‘मस्तिष्कमा हुने ट्यूमरले पनि पक्षघात गराउनसक्छ । कोहीमा शारीरिक असन्तुलन, छारे रोग र नियमित टाउको दुखिरहने समस्या हुनसक्छ । तर टाउको दुख्दैमा ट्युमर हुन्छ भन्ने पनि हुँदैन ।’ यदि कुनै जटिल र नयाँ समस्या देखिएमा तुरुन्त चिकित्सक वा सम्बन्धित डाक्टरसँग सम्पर्क गर्नुपर्ने चिकित्सकहरुको आग्रह छ ।

वरिष्ठ न्युरो सर्जन डा.अमित थापाका अनुसार, मस्तिष्कमा जमेको पानीको प्रवाहमा मस्तिष्कको ट्युमरले अवरोध गर्दछ र यसबाट मस्तिष्कमा दवाब पर्नसक्छ जुन अवस्थालाई ‘हाइड्रोसेफालस’ भनिन्छ । यो अवस्था विशेषगरी नवजात शिशुमा देखिन्छ र कहिलेकाहीँ वयस्कमा पनि देखिनसक्छ । 

मस्तिष्क ट्यूमर पहिचानका लागि सीटीस्क्यान, एमआरआई, एमआरएस, एसपीईटी स्क्यान, पेट स्क्यान, मेरुदण्डमा सानो प्वाल पारेर गरिने शल्यक्रिया, सर्जिकल बायोप्सी र विभिन्न रगत परीक्षण गरिन्छ ।
बिनाइन र क्यान्सर ट्युमर दुवै खतरा हुन सक्छन् । तर शल्यक्रिया गरेर निकालेपछि बिनाइन ट्युमरको अपेक्षित नतिजा राम्रो हुने डा. झाको भनाइ छ ।
कम उमेरको व्यक्तिमा भएको मस्ष्तिक ट्यूमरको शल्यक्रिया गर्दा नतिजा अपेक्षित आउने बताउँदै वरिष्ठ न्यूरो सर्जन झा भन्नुहुन्छ—एकपटक उपचार गरे पनि कुनै ट्युमर पुनः देखा पर्नसक्छ त्यस्तो अवस्थामा फेरि सर्जरी, रेडियोथेरापी वा केमोथेरापी दिनुपर्छ ।’ ट्युमरको प्रकार, आकार, ट्युमरको स्थान, बिरामीको उमेर, स्वास्थ्य अवस्था आदिले शल्यक्रियाको सफलतातामा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
चिकित्सकले स्नायुहरूलाई बचाएर मस्ष्तिकको ट्युमर निकाल्ने काम गर्दछन् ।

मस्तिष्कको ट्युमरको मुख्य उपचार सर्जरी, रेडियोथेरापी र केमोथेरापी नै हो । यस्तो उपचार कुनै एक अथवा संयुक्त रुपमा गर्न सकिन्छ । न्युरो सर्जन डा. झाका अनुसार, मस्तिष्कको ट्युमर निश्चित भएपछि मात्र उपचार शुरु गरिन्छ । ट्युमर निकाल्नु, यसको बृद्धिमा कम गर्नु र यसका लक्षणहरूलाई कम गर्नु नै उपचारको मुख्य उद्देश्य मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्