Logo
|
Friday 26th April 2024
Logo

epaper

जनताको स्वच्छ खानेपानीको अधिकारलाई सुनिश्चित गरिन्छ : मन्त्री मगर



 

 खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले नेपालका हिमश्रृंखलाबाट बग्ने पानीलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सकिने बताउनुभएको छ ।

पोखरामा वितरित खानेपानीको मर्दी मुहान शुद्धीकरण परियोजनाद्वारा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ सेतीमर्दी दोभानमा निर्मित शवदहन गृहको आज यहाँ आयोजित हस्तान्तरण तथा वृक्षरोपण कार्यक्रममा उहाँले हिउँ पग्लेर बगेको सिधै पिउन सकिने पानी राम्रो मूल्यमा बिक्री गर्न सकिने बताउनुभयो ।

मन्त्री मगरले संविधानको मौलिक हकमा व्यवस्था भएअनुरुप जनताको स्वच्छ खानेपानीको अधिकारलाई सुनिश्चित गर्न मन्त्रालयले कार्ययोजना बनाएर अघि बढिरहेको बताउँदै विश्वको दोस्रो जलस्रोतको धनी मुलुक नेपालमा अहिले पनि पानीको सही सदुपयोग हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री मगरले मर्दीखोलास्थित खानेपानीको मुहान निरीक्षण पनि गर्नुभएको थियो भने सोही स्थानमा चाँपका बिरुवासमेत रोप्नुभएको थियो ।

परियोजनाअन्तर्गत सेती नदी र मर्दी खोलाको विभिन्न तीन स्थानमा करिब रु ३५ लाखको लागतमा निर्माण सम्पन्न गरिएका शव दाहगृह, शौचालय र प्रतिक्षालयलगायतका संरचना आजै उपभोक्ता समितिलाई हस्तान्तरण पनि गरियो ।

कूल लागतको ५० प्रतिशत पोखरा महानगरपालिका, खानेपानी संस्थानको ४० प्रतिशत र पोखरा उद्योग वाणिज्य संघको १० प्रतिशत लगानीमा सम्पन्न भएको कार्यक्रम संयोजक यदु अधिकारीले जानकारी दिनुभयो ।

पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले खानेपानी मुहान शुद्धीकरणको यो प्रयास सराहनीय भएको बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखराको खानेपानी शुद्धीकरणका लागि प्रयास भएको बताउँदै स्वस्थ तथा स्वच्छ खानेपानी आपूर्तिका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्