Logo
|
Tuesday 19th March 2024
Logo

epaper

अध्यात्मभित्र लुकेको समग्र स्वास्थ्य




‘म भन्दा कोही अघि जालान्’ र ‘म पछि पर्छु कि’ भन्ने हामीमा प्रतिस्पर्धाको नयाँ रोग सिर्जना गरिरहेका छौं । यो संसार नै एउटा घुमिरहने वृत्त एवं चक्र हो । यहाँ त अगाडि पछाडि भइरहन्छ ।

तुलना
तुलना गर्ने बानीले हामी सबैलाई चौतर्फी ढाकेको छ । बच्चाबच्ची हुर्काउँदा, आफ्नो काम, अध्ययन, जागिर आदिमा गर्ने तुलना निकै विकराल छ ।

तपस्या
दुःखलाई सहज रुपले भोग्ने विज्ञानलाई तपस्या भनिन्छ । सुख र दुःख दुवैले डर भयबाट मुक्त रहन र आफूभित्रको प्रेममा प्रतिष्ठित रहन पाठ सिकाउँछ ।

समस्या
स्वस्थ्य व्यक्तिमा पनि धेरै समस्या हुन्छ । मन, भावना, आत्मनिर्णय र आत्मबोधको समस्यालाई अध्यात्मले रोग मानेको छ । त्यसकारण अध्यात्मको दृष्टिकोणले शारीरिक स्वस्थ्यता वास्तविक स्वास्थ्य होइन ।

स्वास्थ्य
‘स्व’ र ‘अस्थ’ शव्दबाट स्वास्थ्य बनेको छ । ‘स्व’ भनेको आफूमा र ‘अस्थ’ भनेको स्थिर हुनु हो । आफूमा स्थिर हुने व्यक्तिलाई स्वास्थ्य भनिन्छ । यसैलाई आरोग्य भनिन्छ । आरोग्यको परिभाषा आफूमा स्थिर रहनुमा प्रतिनिधि हो ।
आफूभित्रको चेतना बाहिर दौडिन्छ अर्थात रोगतिर दौडिरहन्छ । मेरो मनमा कतै समस्या छ, मेरो चेतनामा कमी छ, म सफलता र असफलताको कुरा गरिरहेको छु, मैले के गर्ने ? कहाँ जाने ? भन्नेबारे मलाई थाहा छैन । यस्तो अवस्थामा आफूमा स्थिर रहन नसकेको बुझ्नुपर्छ ।
मेरो हृदयको भावनामा समस्या छ, जीवनमा प्रेम छैन, प्रेम व्यक्त गर्न र प्राप्त गर्न पनि सकिरहेको छैन, मैले प्रेमको आदान प्रदान गर्न सकिरहेको छैन भने मेरो जीवन चेतना बिग्रेको भावनाहरुमा जान्छ । मेरो जीवनमा के गर्ने र के गरेँ भने वास्तवमा मलाई आनन्द आउँछ, के गरेँ भने जीवनभर दुःख पाउँछु, यस्ता विषयहरुमा मलाई ज्ञान छैन भने मैले जे पनि गर्छु । त्यसले मलाई असन्तुष्टी दिन्छ ।

‘‘त्यसकारण शारीरिक, मानसिक, भावनात्मक र आत्मिक विश्वास लिएर हुने पूर्णता स्वास्थ्य हो ।’’

अध्यात्म पूर्ण इलाज हो । हाम्रा ऋषिमुनिहरुले रोग लाग्यो भने व्यक्तिको प्रवृत्ति, स्वास्थ्यको प्रकृति, पारिवारीक पृष्ठभूमि, व्यक्तिको खानपान कस्तो छ ? के काम गर्छ ? कति बजे सुत्छ र कतिबजे उठ्छ ? कस्तो कुरा बोल्छ ? के कुरा मन पराउँछ ? के मन पराउँदैन ? जस्ता कुरामा ख्याल गर्दथे । यी सबै कुराले व्यक्तिको आत्मिक, भावनात्मक, मानसिक र स्वास्थ्यको अवस्था बताउँछ । यसरी गरिने समग्र उपचारलाई आरोग्य भनिन्छ ।
अस्पतालका डाक्टरहरुले शरीरको कुनै एउटा भागमा उपचार केन्द्रित गरेका हुन्छन् । उनीहरुले बिरामीको चौतर्फी समस्या ख्याल गर्दैनन् । ऋषिमुनीहरुले गरेको स्वास्थ्यको परिकल्पना भिन्न प्रकारको छ । दशौं हजार वर्षसम्म पृथ्वीको पूर्वीय भू—भागमा त्यो परिकल्पनालाई लाखौं लाख व्यक्तिले प्रयोग गरे । फलस्वरुप अब व्यक्तिको जीवनमा आरोग्य उभियो, स्वास्थ्य उभियो अर्थात स्वास्थ्यको एउटा महायुग चलिरह्यो । परिवार, शिक्षालगायतका कुरामा सन्तुलन ल्याउन स्वास्थ्यको प्रभाव धेरै छ ।

जीवनशैली
स्वास्थ्य विज्ञानलाई शरीरको अंग केन्द्रित नगरेर जीवनशैलीसँग दाज्न जरुरी छ । म पर्याप्त निद्रा लिन्छु कि लिन्नँ ?, पर्याप्त व्यायाम गर्छु कि गर्दिन ?, पोषणयुक्त भोजन गर्छु कि गर्दिनँ ?, दैनिक कति पानी पिउँछु ?, म मा सकारात्मक सोच आउँछन् कि आउँदैन ? भविष्यतिर ध्यान दिँदा आघात जन्मिन्छ कि डर ? जस्ता कुरामा ख्याल गर्न जरुरी हुन्छ । जीवनशैलीबाट जीवनको आनन्द लिन सक्नुपर्छ । यद्यपी जीवन न स्वास्थ्य हो, न रोग, जीवन त आनन्द र खुशीयाली हो । म खुशीसँग बाँच्न सक्छु भने त्यो परम स्वास्थ्य हो ।

‘‘खुशी भन्दा ठूलो स्वास्थ्य छैन । आफूभित्रको आनन्द भन्दा ठूलो औषधि होइन । खुशीयालीबाट शरीरमा चाहिने सबै सकारात्मक रस र हर्मोन तत्वहरु जन्मिन्छन् । त्यसैले सकारात्मक हर्मोन जन्माउने उपाय खोज्नुपर्छ । रिसाउँदा शरीरमा नकारात्मक रसहरुको जन्म हुन्छ र बिस्तारै रोगको जन्म हुनथाल्छ । आज म रिसाइरहेको छु भने भोलि म रोगी हुनसक्छु ।’’

म मा रोग कहाँबाट आयो ? आफूभित्रको आत्म गुफामा क्रोधको अनुभूतिले मन र शरीरमा रोगको ठूलो समस्या जन्माउँछ ।
अध्यात्मको प्रारुप नै व्यक्तिलाई रोगी हुनबाट बचाउन भएको हो । त्यसैले आजदेखि मैले सकारात्मक जीवनशैली अपनाउन थालेँ, सकारात्मक बन्न थालेँ, सकारात्मक रसहरु जन्माउन थालेँ भने म भित्र जन्मिन थालेका रोगहरु पनि बिस्तारै निको हुन थाल्छन् । त्यसैले यसप्रति निकै ख्याल गर्नुपर्छ ।
सबैसँग राम्रो सम्बन्ध बनाउनुपर्छ । आफ्नो तर्फबाट सम्बन्धमा प्रेमको लगानी गर । अरुले के गर्छन् भन्ने ख्याल नगर । मैले कसैलाई पनि सम्झिदा प्रेम, सकारात्मक सोच र मैत्रीपूर्ण भावले सम्झिन सक्ने बनुँ । सम्बन्धलाई ठीक ठाउँमा राख्ने बित्तिकै आधाभन्दा बढी रोग जीवनमा लाग्न नसक्ने अवस्था बन्छ । जब सम्बन्ध ठीक हुन्छ, सम्बन्धसँग सम्बन्धित सबै रसहरु ठीक हुन थाल्छन् । सम्बन्धले भावना ठीक ठाउँमा आउँछ र जीवनमा उल्लास र उमंग ल्याउँछ ।
साधारण व्यक्तिले १० वर्षमा जे काम गर्न सक्छ, उत्तम सम्बन्ध भएको व्यक्तिले एकै वर्षमा त्यो काम गर्नसक्छ । सम्बन्ध ठीक भएमा व्यक्तिको उत्पादनशीलता ठीक हुन्छ । सम्बन्ध ठीक भएमा व्यक्तिको जीवनशैली अत्यन्तै सकारात्मक हुन्छ ।
भोजन
आरोग्य अथवा स्वास्थ्यको महत्वपूर्ण आयाम भोजन हो । अध्यात्मले भोजनलाई २ भागमा वर्गिकरण गरेको छ । एउटा प्रेमले जन्मिएको भोजन र अर्को डर क्रोध र हिंसाले जन्मिएको भोजन । अध्यात्मको प्रस्ताव नै के छ भने प्रेमले जन्मिएको भोजन चाहे थोरै किन नहोस् त्यसले अपार आनन्द दिन्छ । अर्कोतिर हिंसा, डर र क्रोध छ भने व्यक्तिलाई त्यसले कहिल्यै पनि सकारात्मक परिणाम दिँदैन । त्यसकारण अध्यात्म भन्छ—‘तिम्रो थालमा प्रेमले बनेको भोजन छ कि हत्या, हिंसा र क्रोधले बनेको भोजन छ हेर ।’

‘‘अध्यात्म भन्छ—‘चौकोमा हेर भोजन कसरी पाकिरहेको छ ? ’ त्यसमा आगो कस्तो प्रकारले बलेको छ ? भोजनमा कस्ता कुरा मिसाइएको छ ? यद्यपी सबैभन्दा महत्वपूर्ण कुरा हो चौकामा कस्तो व्यक्तिले भोजन बनाइरहेको छ । प्रेमले भरिएर बनेको भोजन बडो पोषिलो हुन्छ ।’’

तिमीले आहार, बिहार र विचारलाई ध्यान देऊ भन्ने अध्यात्मको सन्देश हो । तिमी स्वस्थ्य रहनु छ भने तिम्रो मनमा नकारात्मक विचार आइरहेका छन् कि त्यसलाई त्याग । निरन्तर तिमी जे सोच्दछौं त्यतातिर ध्यान देऊ । तिमीसँग भएको नकारात्मक वृत्तिले समाजलाई पनि खान्छ । त्यसकारण जीवनको समग्रता, उठबस, क्रियाकलाप हेर्नुपर्छ । मनमा पवित्र भावनाहरु आउन् भन्ने कल्पना गर्नुपर्छ । सबै कुराको अन्तिम परिणाम शरीर नभई व्यक्तिको मन हो । पश्चिमेली चिकित्सा विज्ञानले सबै कुराको अन्तिम परिणाम स्वस्थ्य शरीर मान्दछ भने अध्यात्मले यी सबै प्रयासहरुको अन्तिम परिणाम स्वस्थ्य मनलाई मान्दछ ।
मनमा हृदय र आत्मा पनि आउँछ । अध्यात्मका लागि शरीर मात्र नभएर नदेखिने कुरा महत्वपूर्ण हुन्छ । अध्यात्मका लागि । स्वास्थ्यका लागि नदेखिने कुरा महत्वपूर्ण हुन्छ ।
त्यसकारण आयुर्वेद एवं पूर्वी चिकित्सा शास्त्रहरुमा हृदय र आत्मा जोडिएको मन पाइन्छ । शरीर केन्द्रित त न्यून छन् ।
हामीलाई लाग्ने ९० प्रतिशत भन्दा बढी रोग मनमा पहिला बन्दछन् अनि त्यहाँबाट सर्छन् । यो कुरा विज्ञानले पनि स्वीकार गरेको छ । त्यसैले मनमा सुन्दर विचार र भावनाहरु रोपौं । मन प्रेमले भरिएको होस् । मनको देखिने रुप शरीर हो । मन शरीरको नदेखिने रुप हो । मनमा सुन्दर भावना जन्मिएमा शरीर सुन्दर बन्न समय लाग्दैन । शरीर निरोगी बन्छ । शरीरले मनको अनुगमन गर्छ । मनलाई पछ्याउँछ । मनले कहिल्यै पनि शरीरको अनुगमन गर्दैन । यसरी अध्यात्मले समग्र स्वास्थ्यको विज्ञान दिन्छ ।

प्रतिक्रिया दिनुहोस्