Logo
|
Friday 26th April 2024
Logo

epaper

भक्तपुर क्यान्सर अस्पतालमा विशेषज्ञ डाक्टर थपिदैँ



क्यान्सरको भरपर्दो उपचारका लागि स्थापना भएको भक्तपुरको दूधपाटीस्थित च्यारिटेवल ‘भक्तपुर क्यान्सर अस्पताल’ मा विशेषज्ञ डाक्टरहरु थप गर्दै बिरामीलाई अझ भरपर्दो सुविधा उपलब्ध गराउने कार्य शुरु भएको छ ।
पुराना र नयाँ गरी दैनिक करिब ३ सय भन्दा बढी क्यान्सर बिरामीले बहिरङ्ग सेवा लिँदै आएको भक्तपुर क्यान्सर हस्पिटलमा दैनिक करिब ४ वटा भन्दा बढी क्यान्सरसम्बन्धि मेजर अपरेशन हुने गरेका छन् ।
बिरामीले छिटो र भरपर्दो उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीर अस्पतालबाट एमडी गरी भारतको नयाँ दिल्लिस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट मेडिसिन अंकोलोजीमा डिएम गरेका डाक्टर कमल सोतिलाई हालै मात्र अस्पतालले भित्र्याएको छ ।
सरल, मिजास र बिरामीलाई आफ्नै बुबाआमाजस्तो व्यवहार गर्ने डा.सोति आफ्नो विधामा निकै अब्बल छन् ।
यसैगरी युकेको लन्डनस्थित रोयल मार्सदेन अस्पतालमा अध्ययन गरेका रेडियो अंकोलोजिष्ट डा. उज्वल चालिसे थप स्पेशलाइज तालिमपछि केहिदिनमा अस्पताल ज्वाइन गर्दै गर्दैछन् भने केही दिनमा अस्पतालमा कार्यरत रेडियो अंकोलोजिष्ट डा.नविनकाजी बज्राचार्य थप अध्ययनका लागि लन्डनको सोही अस्पतालमा जाँदैछन् । यी दुवै डाक्टर फर्किएपछि अस्पतालले अझ थप उचाई लिने अस्पतालका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ‘इश्वर’ ले बताउनुभयो ।
यसैगरी अस्पतालमा नयाँ प्रविधि भित्र्याउनका लागि अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषी केश नारायण श्रेष्ठ अमेरिकाको न्युयोर्क, क्यालिफोर्नियालगायतका विभिन्न राज्यमा रहेका अत्याधुनिक क्यान्सर अस्पतालहरुमा पुगी उनीहरुसँग सहकार्य आदानप्रदानका लागि सम्झौदा गर्दैछन् ।
हाल भक्तपुर क्यान्सर हस्पिटलमा ४५ जना चिकित्सकहरुले क्यान्सर उपचार सेवा प्रदान गर्दै आएका छन् ।
पाँच वटा अपरेशन थियटर रहेको अस्पतालमा २ वटा अत्याधुनिक मोडुलर ओटी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्