Logo
|
Saturday 27th April 2024
Logo

epaper

जोर्नी सुन्निने, दुःख्ने र अरठ्ठ हुने गठीया बाथ



के तपाईंलाई जोर्नी सुन्निने, दुःख्ने र अरठ्ठ हुने समस्या छ ? यदि भएमा यो गठीया बाथ हुनसक्छ । गठीया बाथ अटोइम्युन दीर्घकालीन रोग हो । मानव शरीरमा भएको रक्तकोषिकाले आफ्नै शरीरका मिर्गौला, जोर्नी, रगत लगायतका विभिन्न अंगहरुलाई नष्ट गर्ने समस्या अटोइम्युन रोग हो ।

यो बच्चादेखि हरेक उमेर समुहका मानिसलाई हुनसक्छ । मुख्यतः उमेरले ५० वर्ष नाघेका मानिसहरुलाई यो रोगले बढि सताउँछ ।
पुरुषको तुलनामा महिलालाई गठीया बाथ हुने खतरा तीन गुणा बढि हुन्छ । यो महिलाहरुमा हर्मोनल परिवर्तन बढी हुने कारण हो । अहिलेसम्म गठीया वाथ हुने ठोस कारण पत्ता लाग्न सकेको छैन । तर वंशाणुगत, हर्मोनल परिवर्तन र संक्रमणले खतरा बढाउन सक्छ । परिवारको कुनै सदस्यलाई गठीया वाथ भएमा अन्य सदस्यहरुलाई पनि हुने बढी खतरा हुन्छ । तर आमाबाबुबाट छोराछोरीमा सिधै आउँदैन र यो सरुवा रोग पनि होइन । धुम्रपानले गठीया बाथलाई बढाउँछ । त्यसैले यो रोग लागेका बिरामीले धुम्रपान गर्नुहुँदैन ।

संकेत र लक्षण
सुरुको अवस्थामा बिहान उठेपछि जोर्नी अरठ्ठ भएर हात मुठ्ठी पार्न गाह«ो हुन्छ । घाम लाग्न थालेपछि समस्या बिस्तारै आफैँ ठीक हुँदै जान्छ । कसैकसैलाई बिहानीपख ज्वरो र शरीर अरठ्ठ भएको अनुभव हुनसक्छ । तर बिस्तारै दिन छिप्पिदै गएपछि आफैंं सजिलो हुन्छ ।
समयमा उपचार नगरेमा हात र खुट्टाका स–साना जोर्नी सुन्निने, दुःख्ने, बिहानीपख मुठ्ठी राम्रोसँग बन्द गर्न नसक्ने समस्या बढ्दै जान्छ र अन्तमा जोर्नीहरु बांङ्गो भइदिन्छन् । एकपटक जोर्नी बाङ्गिसकेपछि सीधा बनाउन सकिँदैन । बाथले मेरुदण्ड, करङ, मुटु, फोक्सो र आँखालाई पनि असर गर्नसक्छ ।
डायग्नोसिस
बाथ धेरै प्रकारका हुने भएकाले गठीया बाथको उपचार बिरामीको लक्षण अनुसार गर्नुपर्छ । लक्षण अनुसार इएसआर (ESR), सिआरपी (CRP), र्युमाटोइड फ्याक्टर (RF), एन्टि सिसिपिए, एन्टिबडि (ACPA) टेस्ट गरिन्छ । एक्स—रे र जोर्नीको अल्ट्रासाउन्डबाट पनि बाथ भएनभएको पत्ता लगाउन सकिन्छ ।
बाथ दीर्घकालीन रोग भएकाले निर्मुल हुँदैन । तर औषधि सेवन गरेर नियन्त्रणमा राख्न सकिन्छ । यसबाट बाथले गर्नसक्ने थप क्षति न्युनिकरण हुन्छ ।
बाथले विशेषगरी जोर्नीलाई आक्रमण गर्छ । रोग पहिचान गरी समयमा औषधि उपचार नगरेमा जोर्नी बाङ्गीदै जाने र जोडिने सम्भावना धेरै हुन्छ । कतिपय अवस्थामा आँखालाई असर गरी स्ल्केरोमलेसिया (आँखाको सेतो भागमा घाउ हुने), फोक्सोमा जाली पर्ने र मुटुमा पानी जम्ने समस्या हुनसक्छ ।
उपचार
रोग पहिचान भइसकेपछि शुरुको अवस्थामा सम्बन्धित डाक्टरसँग सल्लाह लिएर एन्टी ¥युमेटिक औषधि शुरु गर्नुपर्छ । यस्ता औषधि लामो समयसम्म खानुपर्छ । यी औषधिले बाथलाई नियन्त्रण गर्छ । औषधि खानेबित्तिकै दःुखाई कम हुँदैन । यसका लागि दुईदेखि तीन महिनासम्म पनि लाग्नसक्छ । त्यसैले सुरुको दु्इ महिना पेनकिलर तथा स्टेरोइट औषधि दिइन्छ । यसले छोटो समयका लागि दुखाइ कम गर्छ ।
रेक औषधिको साइडइफेक्ट हुन्छ । औषधिको साइडइफेक्ट हेर्न र औषधिको मात्रा मिलाउन बिरामी नियमित रुपमा चिकित्सकको फलोअपमा बस्नुपर्छ । यसका साथै रगत, कलेजो र मिर्गौलाको कार्य परीक्षण गरिरहनुपर्छ ।

गर्भावस्थामा गठीया बाथ
कतिपयलाई बाथ भएको बेला गर्भवती हुन सकिन्छ कि सकिदैन भन्ने खुल्दुली पनि हुनसक्छ । गठीया वाथले गर्भवती हुँदा त्यति खराब गर्दैन । तर मिथोट्रेक्जिट र लफ्लुनोमाइड औषधि खाइरहेको अवस्थामा गर्भवती हुन मिल्दैन । यो औषधिले पेटको बच्चालाई हानी गर्नसक्छ । त्यसकारण गर्भवती हुनुभन्दा ३ देखि ६ महिनाअगाडि नै मिथोट्रेक्जिटलाई परिवर्तन गरेर चिकित्सकको सल्लाहमा कम डोजको औषधि प्रयोग गर्नुपर्छ ।
त्यसैले वाथ भएको बेला बच्चा जन्माउने तयारी भएमा डाक्टरको सल्लाह लिनुपर्छ । गर्भावस्थामा बच्चालाई असर नपर्ने खालका हाइड्रक्सिक्लोरोकुइन र सल्फासालजिन जस्ता औषधिको प्रयोग गर्नुपर्छ । यदि बाथ बढेको अवस्थामा डाक्टरको सल्लाह लिएर लो डोजमा स्टेरोइड औषधि चलाउन मिल्छ ।

बिरामीलाई सल्लाह
बिरामीले सुरुमै लक्षण पत्ता लगाउन सक्नुपर्छ । यदि लक्षण देखिएमा हेलचक्र्याई गरेर बस्नुहुँदैन । बिरामी सचेत हुनुपर्छ र समयमै डाक्टरलाई भेटेर औषधि सेवन गर्नुपर्छ । डाक्टरको पे्रस्क्रिप्सन भन्दा बाहेक अन्य औषधि प्रयोग गर्नहँदैन ।
गठिया बाथका बिरामीले चिसोबाट बच्नुपर्छ । धुम्रपान गर्न हुँदैन र अरुले खाएको धुँवाबाट टाढा बस्नुपर्छ । तर खाना बार्नुपर्दैन ।
(डा. श्वेता नकर्मी काठमाडौंको रातोपुलस्थित नेशनल बाथरोग सेन्टरमा पूर्णकालीन समय बसेर सेवा प्रदान गरिरहनुभएको छ ।)

प्रतिक्रिया दिनुहोस्