Logo
|
Saturday 27th April 2024
Logo

epaper

दृष्टि दोषः एक महामारी

लेजर सर्जरीबाट पनि ठीक गर्न सकिन्छ दृष्टि दोष



केशव आचार्य, दृष्टि विशेषज्ञ

आँखामा पावरको कारणले दृष्टि धमिलो हुने समस्या दृष्टि दोष हो । यो सबै उमेर समूहका मानिसमा देखिने र सुधार गर्न सकिने अन्धोपना हो । हिजोआज पावर चश्मा लगाउने व्यक्तिहरूको संख्या बढिरहेको छ ।

कसरी देखापर्छ दृष्टि दोष ?

यसमा आँखाको अगाडिको भाग (कोर्निया) देखि पछिल्लो भाग (रेटिना) सम्मको लम्बाइ (एक्जियल लेन्थ) को प्रमुख भूमिका हुने गर्छ । औषत लम्बाइ भन्दा लामो देखिएमा मायोपिया (आँखामा टाढाको दृष्टि धमिलो) हुने गर्दछ । त्यसैगरी औषत लम्बाइ भन्दा सानो भएमा हाइपरमेट्रोपिया (आँखामा नजिकको धमिलो देखिने) हुने गर्छ ।

आँखाको नानी (कोर्निया) को सतहमा भएको असमानताका कारण एस्टिगमाटिजम नामक दृष्टि दोष देखिने गर्दछ जसमा कुनै पनि वस्तु हेर्दा बाङ्गो देखिने वा छाँया लागेजस्तो देखिन्छ । यसका साथै आँखाको लेन्स र आँखाको नानी (कोर्निया) को पावर तलमाथि हुँदा पनि दृष्टिदोष देखिनसक्छ ।

दृष्टिदोषका लक्षण

दृष्टि दोष भएका व्यक्तिरूमा टाढा नजिकको वस्तु धमिलो देखिने, आँखामा टेढोपना हुने, आँखा तथा टाउको दुख्ने, आँखा सानो बनाइ हेर्न खाज्ने, बारम्बार आँखामा आनो आउन सक्छ ।

दृष्टि दोष कतिको खतरा छ ?

समयमा उपचार गरी उचित पावरको चश्मा लगाउन ढीला भएमा अल्छी आँखा हुने खतरा रहन्छ । दृष्टि धमिलो भइरहन्छ । प्रविधिको विकास सँगै अल्छी आँखा भएकाहरूलाई भिजन थेरापीमार्फत दृष्टि सुधार गर्न सकिन्छ । तर यो उपचारको लागि धेरै समय लाग्न सक्छ । त्यसैले बेलैमा उचित पावरको चश्मा लगाउनुपर्ने आवश्यकता पर्छ । अहिले साना नानीबाबुहरूमा मायोपिया महामारीको रूपमा देखापरेको छ । यसमा दृष्टि धमिलो हुनुका साथै आँखाको पर्दामा आउने सामान्य प्वालदेखि पर्दा च्यातिनेसम्मको खतरा हुन्छ । त्यसैले हरेक वर्ष आँखा जँचाउन जरूरी पर्छ ।

के दृष्टि दोष रोक्न सकिन्छ ?

धेरैजनाको प्रश्न हुन्छ आँखामा पावर लाग्नबाट जोगाउन सकिन्छ ? तर पावर लाग्नबाट जोगाउन नसके पनि पावर बढ्नबाट जोगाउन भने सम्भव छ ।

आँखामा देखिने माइनस पावर जसलाई मायोपिया भनिन्छ । यो सँधै बढ्ने क्रममा हुन्छ । प्राय २० देखि ३० वर्षको उमेरसम्म बढिरहनसक्छ । तर जति माथि गयो यसले निम्त्याउने खतरा त्यति नै बढ्छ । मायोपिया कन्ट्रोल प्रविधिबाट बढ्दो माइनस पावरको गति कम गर्न सकिन्छ ।

के कस्तो उपचार सम्भव छ ?

दृष्टि दोषको सबैभन्दा सरल उपचार चश्मा हो । चश्मालाई श्रृंगार भन्दा पनि औषधिको रूपमा हेर्नुपर्छ । चिकित्सकको सल्लाह बमोजिम नियमित चश्माको जाँच गराउन पनि महत्वपूर्ण हुन्छ । कन्ट्याक लेन्स दृष्टि दोषको अर्को उपाय हो ।

चिकित्सकको सल्लाह बमोजिम जाँच गराई आफूलाई मिल्ने लेन्स लगाउन जरूरी पर्छ । यस अलवा सम्बन्धित चिकित्सकको जाँच र सुझाव अनुसार लेजर सर्जरी गरेर पनि दृष्टि दोष ठीक गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्