Logo
|
Saturday 27th April 2024
Logo

epaper

जानीराखौँ लसुनको औषधीय गुण



हाम्रो घरको भान्छामा सानातिना रोगहरुलाई निको पार्ने प्रशस्त औषधिहरु छन् । तर यसका बारेमा हामीमध्ये धेरैलाई राम्रो जानकारी छैन । त्यसैले साना तिना रोग लाग्नेबित्तिकै पनि चर्को मूल्य तिरेर हामी औषधिहरुनै प्रयोग गर्छौ । स्वास्थ्यसम्बन्धि क्षेत्रमा काम गर्ने केही विज्ञहरुले पनि महँगो स्वास्थ्यसेवा र औषधिले जनस्वास्थ्यमा नकारात्मक असर पारेको महसुस गरेर सस्तो र सुलभ रुपमा उपलब्ध हुने औषधिको खोजीगर्न थालेका छन् ।

 

आउनुस् जानौँ लसुनको औषधीय गुण
लसुनमा किटाणुहरुलाई मार्ने बिशेष तत्व हुन्छ भन्ने कुरा अमेरिकी वैज्ञानिकहरुले आफ्नो अनुसन्धान बाट देखाएका छन् । लसुनमा शरीर भित्र रहेका कीटाणुलाई मार्ने ततव मात्र हैन शरीरमा बढीमात्रामा रहेको एक प्रकारको बोसो(कोलेस्ट्रोल) कम गर्ने तत्व पनि हुन्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा बढी हुदाँ मुटुका बिभिन्न रोग लाग्छन् । शरीरमा कोलेस्ट्रेलको मात्रा घटाउन लसुनको उपयोगिता सिद्ध भईसकेको छ ।
यसैले मुटुका रोगीहरुको निम्ति औषधि र बिशेष प्रकारको भोजनको सल्लाह दिँदा डाक्टरहरुले दिनहुँ लसुन खाने सल्लाह पनि दिन्छन् । यसै गरी उच्च रक्तचापका बिरामीलाई पनि नियमित औषधि सेवन गर्ने, दैनिक रुपमा शारीरिक व्यायाम गर्ने, मानसिक तनाव आदिबाट मुक्त रहने तथा भोजनमा परिवर्तन गर्नुका साथै लसुन खाने सल्लाह दिइन्छ ।लसुनमा एक बिशेष प्रकारको तेल हुन्छ जसबाट एक प्रकारको गन्ध आउने गर्छ । धेरै मानिस उक्त गन्ध मन नपरेर लसुन खादैनन् । तर त्यही गन्धयुक्त तेलमानै औषधीय गुण हुन्छ । लसुनमा रहेको तेलले बोसो घटाउन र उच्च रक्तचापलाई कम गर्नमा ठूलो मद्धत पु¥याउन सक्छ । लसुनमा हुने अनेकौ गुणहरुले नै आयुर्वेदमा यसलाई सर्वोषधि भनिन्छ ।
आजकल पश्चिमी समाजमा लसुनको प्रयोगमा जोड दिन थालिएको छ । लसुनको गन्ध धेरैलाई मन नपर्ने भएकाले लसुनबाट औषधीय तत्व निकालेर क्यापसुल बनाएर बेच्न थालिएको छ । भारतमा गार्लिक पल्स भनेर लसुनलाई औषधि बनाएर बेचिन्छ । यसमा लसुनको गन्ध नआउने भएकाले यसको प्रयोग धेरैले गर्छन । पेट खराब भएको बेलामा लसुन हालेको जाउलो बनाएर खाने चलन हाम्रो समाजमा अझैपनि भेटिन्छ । लसुनमा भएको बिशेष तेलले पेटमा भएका कीटाणुलाई पनि नष्ट पार्छ ।

लसुनमा भएको तेलले रोग सँग लड्ने क्षमता पनि बढाउँछ , जसलाई शरीरको प्रतिरोधात्मक शक्ति भनिन्छ । यो प्रतिरोधात्मक शक्ति शरीरमा कम हुँदा हामीलाई रुघाखोकी लागिरहने समस्या हुन्छ । रुघाखोकी लागेका बेलामा लसुनको सुप बनाएर खाने चलन युरोपमा छ । शरीरको बाहिरी अंगमा घाउ निको पार्न पनि लसुनको प्रयोग गरिन्छ । दोस्रो विश्वयुद्धताका रसियाली डाक्टरहरुले युद्धमा घाइते भएका सिपाइहरुको घाउ निकोपार्न लसुनको लेप प्रयोग गरेका थिए । त्यस बेला एन्टीबायोटिकको भर्खर मात्र आविष्कार भएको थियो र यसको प्रयोग आमरुपमा भइसकेको थिएन ।
रुसका वैज्ञानिकहरुले १ सय ५० ओटा वनस्पतिमा अनुसन्धान गर्दा लसुन र प्याजमा शक्तिशाली एन्टीबायोटिक भएको पाएका थिए । आजभन्दा दुई सय वर्ष अघि नै प्याजमा पनि औषधीय गुण छ भन्ने कुरा पत्ता लागेको थियो । लसुनमा झै प्याजमा पनि विशेष प्रकारको तत्व हुन्छ, जसले शरीरलाई रोग सँग लड्ने शक्ति दिन्छ । प्याजमा रहेको विशेष प्रकारको गन्धले रुघा लागेको बेलामा नाक खोल्न पनि मद्धत गर्छ । कतिपय युरोपेली मुलुकहरुका बासिन्दाहरु जाडोको बेलामा नाक खोल्न प्याज काटेर सुध्ने गर्छन । लसुन र प्याजमा भएको विशेष तत्वले पखाला रोक्न पनि मद्धत गर्छ । पखाला लागेको बेलामा दही, लसुन र प्याजको मिश्रण अलिअलि गर्दै दिनमा तीन चार चोटी ख्वाउनु उचित हुन्छ ।
माथि भनिएका उपयोगिताबाहेक प्याजले कफनाश गर्ने काम पनि गर्छ । प्याजको यही गुणलाई थाहा पाएर स्पेनवासीहरुले यसबाट विशेष प्रकारको घरेलु औषधि बनाएर प्रयोग गर्ने गर्छन् । यसका निम्ती प्याजलाई पातलो पारेर काटिन्छ र ती टुक्राहरुलाई सात आठ घण्टासम्म महमा डुवाएर राखिन्छ । त्यसपछि महमा डुवाइएको प्याजलाई निचोर्दा जुन रस आउँछ, त्यसमा कागतिको रस हालेर एक एक चम्चा दिनमा चार पाँच चोटी खाइन्छ । स्रोतः एजेन्सी

प्रतिक्रिया दिनुहोस्