Logo
|
Friday 26th April 2024
Logo

epaper

आई.सी.यू. र सेप्सिसमा सरकारी सहुलियतको आवश्यकता



निमोनिया, इन्फेक्सन, पोलिट्रमालगायत विभिन्न कारणले शरीरका महत्वपूर्ण अंगहरु फेलिएर भएका बिरामीहरुलाई चिकित्सक र नर्सको टिम मिलेर २४ सै घण्टा निगरानीमा राखेर उपचार गर्ने विधा क्रिटिकल केयर मेडिसिन हो । सन् २०१६ मा गरिएको एक अध्ययनले ७५ प्रतिशत निजी र ९५ प्रतिशत सरकारी अस्पतालहरुमा आई.सी.यू. सुविधा नभएको देखाएको छ ।
चुनौति
एक सय क्षमता वेड भएको अस्पतालमा न्यूनतम पनि १ देखि ३ आई.सी.यू. वेड हुन जरुरी हुन्छ । यो अस्पतालको प्रकृतिमा भर पर्छ । जनरल अस्पतालको तुलनामा ट्रमा र कार्डियाक सेन्टरहरुमा आई.सी.यू. वेड धेरै चाहिन्छ । काठमाडौं उपत्यकामा ८० प्रतिशत आई.सी वेड रहेका छन् । सन् २०१६ सम्मको तथ्यांक हेर्दा उत्यकाका ७५ प्रतिशत अस्पतालहरुमा आई.सी.यू. छैन । कतिपय अस्पतालहरुमा आई.सी.यू. भएपनि भेन्टिलेटर छैनन् । यो अविकसित मुलुकहरुको प्रमुख समस्या हो । हरेक अस्पतालमा न्यूनतम पनि प्रत्येक आई.सी.यू. बेडमा एक भेन्टिलेटर र एक जना बिरामीका लागि एकजना नर्स आवश्यक पर्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ । क्रिटिकल केयर मेडिसिनको सुविधा नपाएर धेरैको ज्यान गइरहेको वर्तमान अवस्थामा यो सेवालाई सर्वसाधारणको पहुँचभित्र ल्याउन जरुरी छ । यसमा सुधारको त्यतिकै जरुरी छ । आई.सी.यू. युनिट स्थापना गर्न खर्चिलो छ । सुविधासम्पन्न एउटा आई.सी.यू.वेडका लागि करिब ३० लाख सम्म खर्च हुन्छ । यो हस्पिटलको सबैभन्दा महँगो युनिट हो । त्यसैले बिरामीका लागि पनि बढि खर्चिलो हुने गरेको छ ।
सहुलियतका कुरा
क्रिटिकल केयर र सेप्सिसका बिरामीलाई सरकारले खासै चासो दिएको छैन । सेप्सिसले शरीरको इम्युनिटी (रोगसँग लड्ने क्षमता) सिस्टमलाई अनियमति गराएर महत्वपूर्ण अंगहरु फेलिएरको अवस्थाम पु¥याउँछ । क्यान्सर र मुटुरोगले भन्दा पनि बढि बिरामी सेप्सिसले मार्ने गरेको छ । हाम्रोजस्तो अल्पविकसित देशहरुमा यसबाट हुने मृत्युदर ३० देखि ५० प्रतिशतसम्म छ । सेप्सिसलाई समयमा पत्ता लगाएर उपचार गर्नुपर्छ । सेप्सिसबाट बच्ने उपायाबारे जनचेतना व्यापक फैलाउन जरुरी छ । यसका साथै क्यान्सर, मुटु, मिर्गौला रोगीहरुको उपचारका लागि दिएको सहुलियत जस्तै आई.सी.यू. स्थापनाका लागि पनि राज्यले अनुदानको व्यवस्था गर्नुपर्छ ।
विडम्बना के छ भने कमजोर आर्थिक अवस्था भएका बिरामीका परिवारले आई.सी.यू.मा राखेर उपचार गर्न नसकेपछि अस्पतालबाट डिस्चार्ज माग्छन् । त्यसपछि गरिब बिरामी मर्नुको विकल्प हुँदैन । त्यसैले पैसाको कारण बिरामीले उपचार नपाउने दिन सरकारले आउन दिनहुदैँन । नेपालमा प्रतिदिन आई.सी.यू. खर्च १५ देखि २० हजार रुपियाँ भन्दा बढी नै हुन्छ । औषधि त्यतिकै महँगो हुन्छ ।

(डा. लाखे नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका अध्यक्ष हुनुहुन्छ । उहाँ बी एण्ड बी अस्पतालको चिफ कन्सल्टेन्ट फिजिसियसनका रुपमा विगत १९ वर्षदेखि कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्