Logo
|
Friday 26th April 2024
Logo

epaper

एक सय ९१ लाई कृतिम खुट्टा वितरण




दुर्घटनामा परेर खुट्टा गुमाएका १९१ अपाङ्गता भएका व्यक्तिलाई मारवाडी सेवा समितिले कृतिम खुट्टा वितरण गरेको छ ।

गत वर्ष साउनदेखि अहिलेसम्म उनीहरुलाई कृतिम खुट्टा वितरण भएको समितिले बताएको छ । सकेसम्म आर्थिकरुपमा विपन्न व्यक्तिलाई छनोट गरेर कृतिम खुट्टा वितरण भइरहेको अर्थाेपेडिक प्राविधिक हरिराम बोगटीले बताउनुभयो । सम्पर्कमा आएका अधिकांशलाई कृतिम खुट्टा दिइए पनि आफैँ खर्च गरेर हाल्न नसक्नेलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

गौशाला स्थित धर्मशालामा नियमित रुपमा यो सेवा जारी छ भने समितिले कतिपय जिल्लामा शिविर गरेर कृतिम खुट्टा प्रदान गर्दै आएको पनि उहाँले बताउनुभयो ।

“कतिपय ठाउँमा अपाङ्गता भएका व्यक्तिले हामीकहाँ आउने माध्यमका बारेमा जानकारी नहुन सक्छ”, उहाँले भन्नुभयो, “त्यस्ता व्यक्तिलाई हामीले त्यही पुगेर पनि कृतिम खुट्टा दिइरहेका छौँ ।”

‘खुट्टा भए वैशाखी किन’ भन्ने नाराका साथ समितिले गत वर्षदेखि कृतिम खुट्टाको वितरण थालेको मारवाडी परिषद्का पूर्वसंयोजक गोपाल बजाजले बताउनुभयो । आर्थिकरुपमा विपन्न व्यक्तिलाई कृतिम खुट्टा वितरणसँगै पहिले कृतिम खुट्टा राखेका व्यक्तिको परीक्षण गरिएको समितिले बताएको छ । मारवाडी सेवा समितिअन्तर्गतका विभिन्न संस्था मिलेर यसका लागि आर्थिक स्रोतको व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एक महीनामा १५ वटासम्म कृतिम खुट्टा वितरण गर्ने उद्देश्यले हामीले यो कार्यक्रम शुरु गरेका थियौँ ।”

नेपालमा घुँडामुनिसम्मको कृतिम खुट्टाको रु ४० देखि ५० हजारको हाराहारीमा र घुँडामाथिको झण्डै रु एक लाखसम्म पर्छ ।रासस

प्रतिक्रिया दिनुहोस्