जटिल मस्तिष्क ट्युमर उपचार सम्भव

पुरुषोत्तम घिमिरे /जनस्वास्थ्य सरोकार, काठमाडौँ || प्रकाशित मिति :2019-02-11 05:14:47

प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाले नेपालमा पहिलोपटक ब्रेन ट्यूमरलगायत सफल न्युरो सर्जरी सेवा सुरु गर्नुभएको हो । सन् १९८९ मा बेलायतबाट ट्रेनिङ सकेर फर्किएपछि प्रा.डा.देवकोटाले वीर हस्पिटलमा युनिट नै खोलेर न्युरो सर्जरी सेवा सञ्चालनमा ल्याउनुभएको थियो ।
न्यूरोसम्बन्धि समस्याका धेरै सर्जरीहरु प्रा.डा. देवकोटाको हातबाट शुरु भएका थिए । यस बीचमा धेरै न्युरो सर्जन उत्पादन भए । उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलका कन्सल्टेन्ट न्युरो सर्जन डा. सुरज थुलुङ भन्नुहुन्छ—हामी तेस्रो पुस्ताका न्युरो सर्जन हो । न्युरो सर्जरी सेवा बिस्तारै नयाँ पुस्ताहरुमा हस्तान्तरण हुँदै आएको छ ।

बिनायन र मेलिग्नेन्ट गरी मस्तिष्क ट्युमर दुई प्रकारका हुन्छन् । शल्यक्रिया गरेर राम्रोसँग निकालिसकेपछि फेरि नआउने बिनायन ट्यूमर हो । यो ट्युमरको शुरुको अवस्था हो । एकपटक निकालिसकेपछि यो निको हुन्छ । विश्व स्वास्थ्य संगठनले पनि विनायन ट्युमरलाई ग्रेड वनमा वर्गिकरण गरेको छ । ग्रेड वनमा पहिलो र दोस्रो दर्जाका ट्युमर पर्दछन् । मेलिग्नेन्ट ट्युमर क्यान्सरमा परिणत हुने भएकाले यसले समस्या पार्नसक्छ । तेस्रो र चौथो दर्जाको मेलिग्नेन्ट ट्युमर हुन् । राम्रोसँग यसको शल्यक्रिया गरिसकेपछि रेडियोथेरापी र किमो दिनुपर्छ । यस प्रकारको ट्युमर केहि वर्षपछि पुनः पलाउने सम्भावना रहन्छ ।
विशेष परिस्थिति बाहेक अरु क्यान्सरजस्तो मस्तिष्क ट्युमर एक अंगबाट अर्को अंगमा सजिलै फैलँदैन । मस्तिष्कमा पाइने सामान्य ट्युमर शरीरका अन्य भागबाट उछिट्टिएर पुगेका हुन्छन् ।

मस्तिष्कसम्म ट्युमरका कण कसरी पुग्छन् ?
शरीरमा हुने रक्तसञ्चारमध्ये २० प्रतिशत मस्तिष्कमा सञ्चार भइरहेको हुन्छ । रक्तनलीहरुको माध्यमबाट ट्युमरका कण शरीरका विभिन्न भागबाट मस्तिष्कसम्म पुग्ने गर्छन् । धेरैजसो महिलाहरुमा फोक्सो, स्तन, थायराइड, ग्याँस्ट्रो इन्टेस्टाइन (जिआई), मिर्गौलाबाट मस्तिष्कमा ट्युमर पुगेको पाइएको छ । महिलामा बे्रस्ट क्यान्सरका कारण र पुरुषमा प्रोस्टेट क्यान्सरका कारण मस्तिष्कमा ट्युमर सर्नसक्छ । तर महिला र पुरुष दुवैमा फोक्सोबाट मस्तिष्कमा ट्युमर पुग्ने अनुपात उस्तै हुन्छ ।
मस्तिष्क ट्युमर के हो ?
शरीरमा अनावश्यक सेल वृद्धि हुने समस्याले ट्युमर गराउँछ । पहिलो र दोस्रो चरणको विनायन ट्युमर शल्यक्रिया गरेर निकालिसकेपछि फर्किने सम्भावना धेरै न्युन हुन्छ ।

एक ठाउँमा भएको क्यान्सर अन्तिम अवस्थामा पुग्न थालेपछि शरीरका विभिन्न भागमा फैलिन्छ । एक ठाउँको क्यान्सर अर्को अंगमा सरेको अवस्थालाई अन्तिमको टर्मिनल स्टेज भनिन्छ ।

अस्पतालका कन्सल्टेन्ट न्युरो सर्जन डा. शिखर श्रेष्ठका अनुसार, मस्तिष्कमा धेरै रगत आपूर्ति हुने भएकाले अन्तिम चरणका कलेजो, फोक्सो, छाला, प्रोस्टेट, पेटको आन्द्राको ट्युमर मस्तिष्कसम्म पुग्ने गर्छ । अन्तिममा क्यान्सरका कण जाने ठाउँ मस्तिष्क हो ।मस्तिष्कमा पाइने प्राय अधिकांश मेलिग्नेन्ट (नराम्रो) ट्युमर शरीरका अन्य भागबाट आएका हुन्छन् । कतिपय अवस्थामा मस्तिष्कमा आफैं उत्पन्न भएको ट्युमर पनि हुन्छन् । टर्मिनल स्टेजका बिरामी धेरै समय नबाँच्ने भएकाले धेरै हाइफाइ उपचार गरेर पनि केही हुँदैन । यस्ता बिरामा कुल औषत आयु लम्याउन सक्ने सम्भावना पनि कम हुन्छ ।
मस्तिष्कमा आफैं उत्पन्न भएका सामान्य ट्युमर राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ । अन्तिम चरणका बिरामी बिरामी ९ देखि १२ महिना सम्म मात्र बाँच्न सक्छन् । शरीरका हरेक अंगबाट आउने ट्युमर फरक फरक हुन्छन् । मस्तिष्कको झिल्लीबाट आएको ट्युमर राम्रो ट्युमरमा गणना हुन्छ र राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ । मस्तिष्कलाई सपोर्ट दिने सेलमा आएको ट्युमर नराम्रो ट्युमरमा गणना हुने कन्सल्टेन्ट न्युरो सर्जन डा. शेखरको भनाइ छ ।
बिरामीको आयु
सबै ट्युमर क्यान्सर हुन सक्दैनन् भन्ने बुझ्न जरुरी छ । ट्युमर क्यान्सर भएका बिरामीहरुलाई जतिसुकै राम्रो उपचार गरेपनि आयु बढाउन सकिदैन । सबै ट्युमरले ज्यान लिदैनन् । हड्डी र मस्तिष्क बीचको झिल्लीमा भएको पहिलो चरणको ट्युमर राम्रोसँग निकालेको अवस्थामा बिरामीलाई जीवनभर कुनै समस्या हुँदैन । ब्रेन ट्युमरको शल्यक्रिया गरेका बिरामी बाँच्न सक्छ ? भनेर ओपिडीमा आउने धेरैको जिज्ञासा हुन्छ । मस्तिष्क ट्यूमरको शल्यक्रिया गरेपछि पक्षघात हुने भ्रम पनि छ । डा. शिखर भन्नुहुन्छ—यो गलत धारणा हो ।

मस्तिष्क ट्युमर भएका हरेक बिरामी मर्दैनन् । शुरुको अवस्थाका मस्तिष्क ट्युमर शल्यक्रियापश्चात् जीवनभर फर्किदैनन ।

अस्पतालका अर्का कन्सल्टेन्ट न्युरो सर्जन डा. प्रत्युस श्रेष्ठ भन्नुहुन्छ—हामीले पाँचवर्षको बच्चा देखि ८० वर्षको बृद्धसम्मेको मस्तिष्क ट्युमरको सफल शल्यक्रिया गरेका छौँ ।बाल्यावस्थामा राम्रोसँग मस्तिष्क ट्युमर निकालेका धेरै बालबालिकाहरु सामान्य जीवनयापन गरिरहेका छन् । प्रा.डा. देवकोटाले धेरै अघि शल्यक्रिया गरेर ट्युमर निकालेका बालबालिकाहरु अहिले पनि हामीसँग फलोअपमा छन् । डा. देवकोटाले सिकाएका हामी चेलाहरु जटिल मस्तिष्क ट्युमरको शल्यक्रिया गरेर बिरामी बचाउन सफल भएकोमा निकै खुशी छौं ।

डीप सिटेड ट्युमर
डा. शिखरका अनुसार, डीप सिटेड ट्युमरको शल्यक्रिया एक आपसमा छलफल गरेर टिममा बसेर गरिन्छ । मस्तिष्कको भित्री कोर भागमा रहेको ट्युमरलाई डिप सिटेड ट्युमर भनिन्छ । झिल्लीबाट आउने म्यानिन्जियोमा ट्युमर अलि सुपरफिसियल ठाउँमा हुने ट्युमर हो । ट्युमर जति गहिराइमा छ त्यति नै नसालाई माइक्रोस्कोपबाट हेरेर केलाउँदै निकाल्नुपर्छ । उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालमा हरेक प्रकारका मस्तिष्क ट्युमरको शल्यक्रिया र उपचार गर्न सम्पूर्ण टिम सक्षम छन् ।

सफलदर
विश्वभर नै हेर्ने हो भने डिप सिटेड ट्युमरको अपरेशनको सफलदर ८० देखि ८५ प्रतिशत छ । कन्सल्टेन्ट न्युरो सर्जन डा. सुरेश भन्नुहुन्छ—न्युरो अस्पतालमा यसको सफलता अन्तर्राष्ट्रिय लेवलको छ । हरेक महिना हामी एक सय जतिको मस्तिष्कको शल्यक्रिया गर्दछौं । त्यसमा १० देखि १५ प्रतिशत शल्यक्रिया ब्रेन ट्युमरको हुने गर्छ । यसका लागि आवश्यक पर्ने सम्पूर्ण अत्याधुनिक प्रविधि उपलब्ध छ ।
कन्सल्टेन्ट न्युरो सर्जन डा. सुरेशका अनुसार, समस्या चाँडो पहिचान भएमा सफल उपचार हुन्छ । कतिपय अवस्थामा बिरामीको उमेर, ट्युमरको अवस्था, ट्युमर रहेको स्थान, बिरामीको चेतनाको स्तर आदि कारणले ट्युमरको सफल उपचार हुने नहुने भन्ने कुराको निक्र्यौल गर्छ ।
लक्षण र उपचार
फ्रन्टल, पेरिटल, टेम्पोरल र ओसिपिटल लोब गरी मस्तिष्कलाई चार भागमा छुट्याएर हेरिन्छ । मस्तिष्कमा हरेक अंगका आ—आफ्नै केन्द्र रहेका हुन्छन् । ति केन्द्रहरुमा ट्युमर भएको अवस्थामा आँखा धमिलो देख्ने, शरीर पोल्ने, हातगोडा नचल्ने, बिहान उठ्दा वान्ता हुने, टाउको धेरै दुःख्ने, हातखुट्टा काम्ने हुनसक्छ । लक्षणको आधारमा ट्युमर रहेको भागमा डायग्नोसिस गरेर समस्या पहिचान गरिन्छ । सोही आधारमा उपचार छनोट गरिन्छ । उपचारका क्रममा कसैलाई सर्जरी त कसैलाई रेडियोथेरापी एवं कसैलाइ किमोको जरुरत पर्नसक्छ । यस प्रकारको समस्याको पहिचान सिटी स्क्यान वा एमआरआइबाट हुन्छ ।

बुझ्नुपने कुरा के हो भने टाउको धेरै दुखेमा ब्रेन ट्युमर नै हुन्छ भन्ने हुँदैन । त्यसमा रेड फ्ल्याग अफ साइन हुन्छ । माइग्रेन र सामान्य रुघाखोकीमा पनि टाउको दुःख्नसक्छ ।

तर टाउको दुःखे लगतै व्यक्तिलाई मिर्गी (छोप्ने) हातगोडा कमजोर हुँदै जाने, आँखा कमजोर हुने, कतिपय महिलामा महिनावारी गढबढ भइरहने, कसैलाई बिहान उठ्ने बित्तिकै उल्टी आउने हुनसक्छ । त्यसैले विशेषज्ञ चिकित्सकको सुझाव अनुसार आवश्यक उपचार गर्ने निर्णय लिनुपर्छ ।

    Comment Here!