क्यान्सर विजेताहरु के भन्छन् ?

जनस्वास्थ्य सरोकार, काठमाडौँ || प्रकाशित मिति :2019-02-12 07:13:02

डोली गुरुङ्ग याक्थुम्बा, व्यापारी

डेढ वर्षअघिको कुरा हो । पहाड चढ्न गएको बेला पेटको कुनै भागबाट रगत लिकेज (रिसाब) भइरहेको अनुभव भयो । अस्पतालमा जाँच गर्दा हेमोग्लोबिनको मात्र ७ मा झरेको देखियो । डायग्नोसिसमा कोलोन (ठूलो आन्द्रा) क्यान्सरको शुरुको अवस्था देखियो ।
नेपालका डाक्टरलाई विश्वास गरेर नेपाल क्यान्सर हस्पिटलमा कोलोन क्यान्सरको शल्यक्रिया गरेँ । सुरुको अवस्थामा थाहा पाएर उपचार गरेका कारण म अहिले स्वस्थ्य छु । क्यान्सर रोग लाग्यो भन्दैमा लुकाएर हिड्नु पर्दैन भन्ने जानकारी दिलाउँछु ।
हुन त नेपाल बाहिर गएर क्यान्सर उपचार गर्न सक्थेँ । नेपालकै डाक्टर सक्षम छन् भने किन उपचारका लागि बाहिर जाने भन्ने लाग्यो । नेपालमा उपचार गरेका कारण मेरो परिवारका सबै सदस्याहरुबाट महत्वपूर्ण साथ र सहयोग पाएँ । विदेशमा गएको थिएँ भने सिमित व्यक्ति मात्र जान्थे ।
मलाई क्यान्सर वंशाणुगत कारण भएको हो । मेरो पुरै परिवारमा क्यान्सर थियो । मेरो आमा पनि क्यान्सरबाट नै बित्नुभएको थियो । त्यो बेला नयाँ प्रबिधि, मेडिसिन केही आएको थिएन । तर अहिले त मेरा लागि क्यान्सर नोथिङ (केहिपनि होइन) भयो । विकसित प्रविधिले क्यान्सरलाई पनि सामान्य रोगजस्तो बनाएको छ ।
क्यान्सर लाग्दैमा मरिँदैन । क्यान्सर लाग्दैमा डराउनु पनि पर्दैन । हामी आजका लागि जिउनुपर्छ । विगतमा म मोडलिङ पनि गर्थें । अहिले बिजनेस गर्छु । म आजको लागि जीउँछु । मलाई त्यसमा विश्वास लाग्छ । म भोलिका लागि सोच्दिनँ । मेरा दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । म देशबिदेशतिर घुम्छु र रमाइलो गरिरहन्छु ।
रोग लाग्दा किन लुकाउछन् मानिस ? मलाई अचम्म लाग्छ । आखिर किन लुकाउनु रोगलाई ? यो कुरा समाजिक सञ्जालमा पनि लेख्छु, के खानुपर्ने र कसरी जीउनुपर्ने भन्ने कुरा सबैले बुझ्नुपर्छ । मलाई किमो थेरापी दिएको बेलामा सामाजिक सञ्जालमा आफ्नो समस्या धेरै लेखेको छु । धेरैको म्यासेज पनि आएको थियो । रोगबारे ओेपन हुँदा धेरै मान्छेलाई हेल्प गर्न सकिने रहेछ । रोग लुुकाएर राख्यो भने कसैले पनि हेल्प गर्दैन । कोहि मानिस केहि रोग नलागे पनि मर्न सक्छ ।
अहिले सम्म पनि मैले अरुको सहयोगका लागि त्यति गर्न सकेको छैन । म चाहान्छु कि यदि मेरो मर्ने दिन नजिकै आएको छ भने अरुले मेरो बारेमा भन्दा हुन्छ किनकी मलाई बास्तविकता थाहा छ । मर्न देखि डराउनु हुँदैन । मलाई मृत्युदेखि डर लाग्दैन ।

मिना तुलाधर, नारायणस्थान/ बुढानिलकन्ठ, कम्र्फोट हाउजिङ

यो कुरा नौ वर्ष अघिको हो । त्यतिबेला मलाई क्यान्सर हुन्छ भन्ने थाहा नै थिएन । सुरुमा म नुहाउन जाँदा आफ्नो देब्रे स्तनमा गिर्खा भेटेँ । घरमा म एकदमै सक्रिय र बिहानदेखि बेलुका सम्म काममा ब्यस्त हुने भएकाले थाहा पाएर पनि शुरुमा जँचाउन गइँन । यसलाई यतिकै छोड्नुहुन्न भनेर १५ दिन पछि त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जमा मेमोग्राम गर्न गएँ । डाक्टरले रिपोर्ट राम्रो नआएकाले भिडियो एक्सरेका लागि सिफारिस गर्नुभयो । त्यतिबेला सम्म पनि मलाई क्यान्सर छैन भन्ने लागेको थियो । आत्तिएको पनि थिइनँ ।
जब क्यान्सर पहिचान भयो । शुरुमा त मैले केही सोच्नै सकिन । शुरुमा कति पटक रोएँ । आफूले आफूलाई नियन्त्रण नै गर्न सकेको थिइनँ । म अब भोली नै मर्छु जस्तो लाग्थ्यो । तर वास्तवमा यस्तो होइन रहेछ । क्यान्सरलाई समयमा नै उपचार गरे निको हुने रोग रहेछ ।
म अहिले स्वस्थ छु । मैले अहिले काउन्सिलिङ गर्दै आएको छु । पहिला हाम्रो पालामा क्यान्सर लाग्ने बित्तिकै मान्छे मर्छ भन्ने जनविश्वास थियो । तर सही उपचार पाएमा निको हुने रोग रहेछ भन्ने कुरा म आफैंले पनि अनुभव गरेकी छु ।
म अहिले यस्तै जनचेतना फैलाउने काम गर्छु । म नेपाल क्यान्सर हस्पिटलमा हप्ताको एकचोटी आएर काउन्सिलिङ गर्छु । काउन्सिलिङ नपाउँदा मानिसहरु डिप्रेसन (अवसाद) मा जाने गर्छन् । मरिने पो हो कि भन्ने पीर पर्छ । त्यसकारण क्यान्सर पिडित बिरामीलाई काउन्सिलिङको निकै जरुरत पर्छ ।
क्यान्सर निको भएका बिरामीले जीवनशैली परिवर्तन गनुर््पर्छ । तनाव बिल्कुल लिनहुन्न । सकारात्मक सोच्नुपर्छ । मैले मेरो जीवनशैली नै परिवर्तन गरेँ । मलाई अहिले क्यान्सर भएपछि १० वर्ष बाँचेको पनि धेरै बाँचे जस्तो अनुभूति हुन्छ । त्यसकारण उमेरले ३० वर्ष नाघेका महिलाहरुले पाठेघरको जाँच र मेमोग्राम अवश्य गराउनुर्छ भन्ने सन्देश दिन चाहन्छु । मलाई रोग लागेकै कारण अरु दिदीबहिनीहरुलाई क्यान्सर रोगबारे आफ्नो अनुभव भन्न र सुनाउन पाएकोमा गर्व महसुस गरेकी छु ।
कतिपय मान्छेमा पापीलाई क्यान्सर हुन्छ भन्ने अन्धविश्वास छ । अनि रोगलाई लुकाउँछन् । पहिला म हाउजिङमा बस्न जाँदा सबैले थाहा पाउँछन् कि भन्ठानेर जान मन लागेको थिएन । म आफैले पनि यी कुरा भोगेको छु । मलाई पनि अरुले पापी नै भन्छन् होला जस्तो लागेको थियो । तर यो सबै झुटा हो । यस्ता अन्धविश्वासको पछि नलाग्न सबैलाई अनुरोध गर्दछु ।
अहिले क्यान्सर मधुमेह लगायतका अन्य रोग जस्तै सामान्य भइसक्यो । तपाइलाई रोग लाग्यो भनेर आत्तिनुपर्दैन । समयमा नै उपचार गरे निको हुन्छ । पाठेघर र स्तनको क्यान्सर महिलाहरु आफैंले थाहा पाउन सक्छन् । ४० वर्ष भएपछि हरेक वर्ष एक पटक मेमोग्राम गराउनुहोला । अहिले हामीले क्यान्सर सर्भाभर ¥याम्प सोमा भाग लियौं । दुलहीको पोशाकमा क्यान्सरलाई जितेर सक्रिय भएको सन्देश दियौं ।

इन्दिरा प्रधानाङ्ग, शान्तिनगर/ नयाँबानेश्वर, काठमाडौं

मलाई ११ वर्षअघि स्तनको क्यान्सर भएको थियो । त्यो बेलासम्म मलाई स्तन क्यान्सरबारे केही थाहा थिएन । कार्यालयमा नारी पत्रिकामा स्तन क्यान्सरको लेख पढ्दै थिएँ । मेरो स्तनमा पनि एउटा गिर्खा त छ तर दुख्दैन । यो त पत्रिकामा दिएको लक्षणसँग ठ्याक्कै मिल्न आयो भनेर साथी साथी कुरा ग¥यौँ । स्तनको गिर्खा साथीलाई पनि देखाएँ । अब एकचोटी देखाउनुप¥यो भन्ने लाग्यो । मेरो कार्यालय र भक्तपुर क्यान्सर अस्पताल १० मिनेटको फरकमा थियो । टिफिन समयमा जँचाउन गएँ । जाँच गरियो । भोलि नै रिर्पोट आयो । रिपोर्टमा क्यान्सर देखियो । मलाई विश्वास नलागेर पुनः अर्को अस्पतालमा पनि जाँच गराएँ । त्यहाँको जाँचमा पनि क्यान्सर नै देखायो । यसरी मैले ३ पटकसम्म जँचाएँ । तर सबैको रिपोर्टमा क्यान्सर देखियो । यसबाट म छाँङ्गाबाट खसेजस्तो भएँ । भारतको राजीवगान्धी क्यान्सर हस्पिटलमा जाने भनेर आईसीमा पैसा पनि साटँे । एकचोटी यहीँको डाक्टरसँग सल्लाह लिनुपर्ला भनेर डा. सुदिपलाई भेटेँ । त्यतिबेला उहाँ ओम अस्पतालमा काम गर्नुहुन्थ्यो । उहाँले अहिले सबैकुरा यहि छ किन बाहिर जानु भन्नुभयो । विदेशमा बिरामी आफन्त सबैलाई दुःख हुन्छ पैसा धेरै खर्च हुने बताउनुभयो । त्यसपछि मैले भक्तपुर क्यान्सर अस्पतालमा नै स्तनको शल्यक्रिया गरेँ ।
म अहिले एकदमै ठिक छु । त्यो बेला मलाई एकदमै दुःख लागेको थियो । किमो दिँदा संक्रमण भएको थियो । एकदमै ज्वोरो आउँथ्यो । ६ चोटी किमो दिएपछि बिस्तारै ठीक हुँदै आएँ ।
मेरो परिवारमा सासुआमा, दुइछोरा र श्रीमान हुनुहुन्छ । त्यो बेला मेरो चारजना साथीलाई मात्र मलाई स्तन क्यान्सर भएको भन्ने थाहा थियो । म कार्यालयबाट ४ महिना छु्ट्टी लिँदाँ अरु कसैलाई थाहा थिएन । मैले कसैलाई नभन्न आग्रह गरेको थिएँ । आफैलाई ग्लानी महसुस हुन्थ्यो । मनमा धेरै कुरा खेल्थ्यो ।
तर अहिले त मैले क्यान्सर सर्भाभर ¥याम्प सोे मै भाग लिएँ । म क्यान्सर निको भइसकेको बिजेता हुँ । समयमा पत्ता लागेमा पुरै निको हुन्छ । केही पीर लिनुपर्दैन । रोग लुकाउनु हुँदैन भन्ने सन्देश दिन चाहन्छु । पहिला लुकी लुकी बस्ने म अहिले सबैसँग क्यान्सर रोगबारे खुलेर बोल्छु । समयमा उपचार गरेर क्यान्सर जित्न सकेकोमा म धेरै खुसी छु । यसबाट मलाई गौरव महसुस हुन्छ ।

    Comment Here!