Logo
|
Friday 26th April 2024
Logo

epaper

हाँस्‍नेले सम्झन्छ पढेका कुरा



स्वस्थ र सिर्जनशील हुने अनेक उपायहरूमध्ये एक साधारण र सस्तो माध्यम हो हाँसो। हाँसो हेर्दा सामान्य जस्तो लाग्छ। तर यसको महत्त्व भने धेरै ठूलो छ। हामीले आनन्दित भएर मस्तसँग हाँस्न सके हाम्रो शरीरमा भएका धेरै हर्मोनहरू सक्रिय भई विभिन्न किसिमका काम गर्न थाल्नेछन्। ती हर्मोनले हाम्रो शारीरिक, मानसिक, बौद्धिक र आध्यात्मिक विकास र विस्तार गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

‘जहाँ हास्यो त्यहाँ नास्यो’ भन्ने पुरानो रुढिवादी परम्परागत सोचबाट प्रभावित हामीलाई अहिले पनि दिल खोलेर हाँस्न गाह्रो भएको छ। किनभने हामीलाई थाहा नै छैन कि हाँसोले हाम्रो शरीर र मनमा कस्तो प्रभाव पार्छ भनेर।

नियमित रूपमा राम्ररी हाँस्न सकियो भने हाम्रो मस्तिष्कमा इन्डोरफिन भन्ने अत्यन्त महत्त्वपूर्ण रसायन सक्रिय हुनेछ। यसको प्रभावले शरीर स्वस्थ हुनुको साथै अध्ययनमा मन लगाउँछ। पढेको कुरा सम्झन सजिलो हुन्छ। मानसिक तनाव हुँदैन र अन्य धेरै फाइदाहरू पनि हुन्छन्। हाम्रो शरीरमा हुने धेरै रसायनहरूमध्ये इन्डोरफिन एउटा महत्त्वपूर्ण रसायन हो। यसको सक्रियताले मानिसको रोग प्रतिरोधक शक्तिमा वृद्धि गर्नेछ, दुखाइ कम गर्नेछ।

विदेशतिर आजकाल हास्य क्लबहरू द्रुतगतिमा विकास हुँदै आएका छन्। हास्य क्लबहरूमा गएर पाँचदेखि १५, २० मिनेटसम्म मस्तले हाँस्ने र त्यसपछि स्नान गरी आफ्नो काममा बस्ने गर्छन्। यसो गर्दा नवीनता, जोस, जाँगर, सिर्जनशीलता आदि बढेको महसुस भएको पाइएको छ। हास्य विधामा अमेरिकालगायत विभिन्न देशहरूमा नयाँ अनुसन्धानबाट नियमित हाँस्ने मानिसमा धेरै फाइदा भएको रिपोर्टहरू प्रकाशनमा आएका छन्।

हाँसोबाट हुने फाइदाहरू

– अध्ययन गरी सिक्न सक्ने र सम्झन सक्ने क्षमतामा वृद्धि गर्नेछ।

-यसले निद्रामा सन्तुलन ल्याउँछ र गहिरो निद्रा लाग्न सहयोग गर्दछ।

-सिर्जनशीलता, शरीरमा लचकता, नवीनता आदिमा फाइदा पुर्‍याउँछ।

-यसले मुटु, फोक्सो, कलेजो, फियो, प्यान्क्रियाज, आमाशय, आन्द्रादेखि मस्तिष्कसम्म मालिस गराएर ती सम्पूर्ण अंगहरूलाई सक्रिय र स्वस्थ राख्ने गर्छ।

-रक्तसञ्चार राम्ररी गराउँछ। शरीरलाई स्फूर्ति, जागरिलो, फूर्तिलो बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ।

-यसले सदा सकारात्मक बनाई काममा जोस, जाँगर र प्रफुलित बनाउनेछ।

– हाँसोको अगाडि संसारका सबै पोषक तत्त्व हल्का लाग्नेछ। हाँसोले शरीरका कोष कोषमा कम्पन पैदा गर्छ जसको कारण जीवन शक्ति सक्रिय हुन्छ।

-धेरै शारीरिक परिश्रम गरेको मानिसले १५ मिनेट मज्जाले हास्यो भने उसलाई तुरुन्त प्रशस्त आराम मिल्नेछ।

– हाँस्नाले शरीर हल्का हुन्छ, मानसिक विकृति घट्छ, स्वास्थ्यमा दीर्घजीवन प्राप्त हुनेछ। जो मानिस २४ घण्टामा ३०, ३५ मिनेट हास्छ उसलाई औषधि तथा डाक्टरको कमै आवश्यकता पर्दछ।

-हाँसोले सुतेको आन्तरिक ऊर्जालाई जगाई बाह्य शरीरको धरातलसम्म ल्याइदिन्छ। त्यसबाट मानिस आन्तरिक रूपमा सिर्जनशील र बाह्य रूपमा सामथ्र्यवान् हुन जान्छ।

(योगगुरु केदार खड्काको पुस्तक ‘स्वस्थ जीवन जिउने कला’ बाट साभार)

प्रतिक्रिया दिनुहोस्