Logo
|
Friday 26th April 2024
Logo

epaper

किन गर्ने कपाल दान ?



मोरङ केराबारीका बिकेन कालिकोटे जन्मदिनको अवसर पारेर  कपाल दान गर्न काठमाडौँ आए । सुन्दा अनौठो लाग्न सक्छ, तर उनले केकको सट्टा कपाल काटेर जन्म दिन मनाए ।

‘क्यान्सर पीडित जो किमोथेरापी गराइरहनुभएको छ, उहाँहरुको कपाल झरेको हुन्छ । मैले यो कपाल उहाँहरुका लागि दान गरेको हुँ । बिकेनले भने ।  बिकेनले जस्तै कैयन युवायुवतीले यसरी नै कपाल दान गरेका छन् ।

मायाज ब्युटि पार्लरकी गीता गिरीका अनुसार कपाल दान गर्न धेरै टाढाटाढाका मानिसहरु आउने गरेका छन् । एउटा ‘विग’ अर्थात नक्कली कपाल बनाउँन ३ महिना लाग्छ । सरदर दश जनाको कपालबाट एक जनाका लागि विग बन्छ ।

गिरी भन्नुहुन्छ — ‘तपाई पनि इच्छुक हुनुहुन्छ भने कपाल दान गर्न आउन सक्नुहुन्छ । हाम्रो प्रयासमा तपाइले पनि सहयोग गर्न सक्नुहुनेछ । एउटा सानो सहयोगले कसैलाई खुशी मिल्न सक्छ ।’

कपाल गुमाएका क्यान्सर पीडितलाई खुसी दिन र जीवन जीउनका लागि प्रेरणा प्रदान गर्न लामो कपाल दान गर्न सम्बद्ध अभियानकर्मीले आव्हान गरेका छन् ।

दान गरिएको कपालले कपाल झरेका पीडितमा विद्यमान निराशा अन्त्य र आत्मविश्वास बढ्ने उनीहरूको विश्वास छ ।
कपालकै कारण बिरामी डिप्रेसनमा जान सक्छ ।

नक्कली कपाल लगाएर भए पनि बिरामी बाहिर निस्कन सक्छन् । बाहिर हिँडडुल र आफ्नो काम समेत गर्न सक्ने भएकाले नक्कली कपालको महत्व रहेको कोसिस नेपालका अध्यक्ष सृजना सिल्पकारको भनाइ छ ।

उहाँ भन्नुहुन्छ — ‘कृपया आफ्नो कपाल खेर नफाल्नुहोस् । दान गरेमा तपाईको कपाल खेर जाँदैन । बिरामीहरुले पनि खुशीको अनुभुति गर्नेछन् ।

दान गरिने कपाल कम्तीमा १० इन्चको हुनुपर्छ । जसले गर्दा उनीहरूका लागि ‘विग’ अर्थात् नक्कली कपाल बनाउन सकियोस् ।

काठमाडौँ लगायत विभिन्न शहरहरूमा कपाल दान गर्ने प्रचलन बढेको भएपनि पीडितहरू भने यसबारे अनभिज्ञ देखिएका छन् ।
तर केही संघसंस्थाहरूले भने कपाल दान गर्न चाहनेहरूलाई सामाजिक सञ्जालको माध्यमबाट एकत्रित पार्न सफल भएका छन् ।

के ३३ हेयर होटलका प्रबन्धक अर्चना पन्त श्रेष्ठका अनुसार कपाल नभएका मानिस आएपछि सबैभन्दा पहिले कति ठाउँमा कपाल लगाइदिनुपर्ने हो, त्यसको नाप लिइन्छ ।

सामान्यतया क्यान्सरका बिरामीलाई किमोथेरापी दिएपछि पुरै टाउकाभरी लगाउनुपर्ने हुन्छ । यो कपाल एक–एकवटा जालीको प्वालमा एक–एकवटा छिराएर बुन्नुपर्ने भएकाले यसका लागि सबैभन्दा बढि समय लाग्ने उहाँको भनाइ छ ।बीबीसिनेपाली

प्रतिक्रिया दिनुहोस्