कस्तो अवस्थामा शल्यक्रिया गर्ने ?
म ३३ वर्षीय महिला हुँ । म अहिले गर्भवती छु । म पहिलोपटक आमा बन्दै छु । नियमित स्वास्थ्य परीक्षणको क्रममा डाक्टरले मलाई शल्यक्रिया गरी बच्चा जन्माउनुपर्ने अवस्था आउनसक्ने बताउनुभएको छ । मलाई डर लागिरहेको छ । कुन कुन अवस्थामा बच्चा जन्माउन अप्रेशन गर्नुपर्छ ? कुन कुन अवस्थामा पर्दैन ? डाक्टरको उचित सल्लाहको आशमा छु । —जानुका सुवेदी,नेपालगञ्ज/बाँके
बच्चा पाउने बाटो साँगुरो भए, साल पाठेघरको मुखमा टाँसिएको भए, बच्चा तेर्साे भएर बसेको भए, पहिले दुई वा दुईभन्दा बढी पटक शल्यक्रिया गरी बच्चा पाएको भए योजनाबद्ध शल्यक्रिया गरी बच्चा जन्माइन्छ । गर्भावस्थामा या प्रसव व्यथाको बेला जतिबेला पनि आमा या बच्चा या दुवैलाई खतराको कुनै संभावना देखापर्न थाले तुरुन्त गरिने शल्यक्रियालाई आकस्मिक शल्यक्रिया भनिन्छ । यस्ता अवस्थाहरुमा अचानक बच्चाको मुटुको ढुकढुकी कम हुनु, प्रसव व्यथा प्रगति नहुनु, अचानक योनिबाट रगत बग्न थाल्नु, उच्चरक्तचाप भएको गर्भवती बेहोस हुनु, सालको नली बाहिर झर्नु आदि हुन् । शल्यक्रिया गरी बच्चा पाएको महिलाले लिनुपर्ने सावधानीहरुमा सफा बस्ने, घाउ, फोहोर नपार्ने, प्रोटिन र भिटामिन सी भएको खानेकराहरु जस्तै—गेडागुडी, दूध, माछामासु र कागती सुन्तला आदि खाने रहेका छन् । घाउ बढी दुख्न थाले घाउबाट पानी वा पिप बग्न थाले, ज्वरो आए, पिसाबको समस्या भए चिकित्सकको सल्लाह लिने । धेरै दिनसम्म सुतिनराख्ने, छिटो छिटो हिँडडूल गर्न थाल्ने । यदि बच्चा पाउने प्राकृतिक बाटो साँगुरो छैन, बच्चा उल्टो वा तेर्सो बसेको छैन, साल उपयुक्त ठाउँमा नै टाँसिएको छ र अन्य कुनै शल्यक्रिया नगरी नहुने अवस्था छैन भने सबैभन्दा राम्रो प्राकृतिक बाटोबाट बच्चा पाउनु राम्रो मानिन्छ । प्राकृतिक बाटोबाट जन्मिदा १२ देखि १८ घण्टासम्म व्यथा लाग्ने हुन्छ । यो अवधिमा बच्चा पाठेघरबाट बिस्तारै प्राकृतिक बाटोबाट संघर्ष गर्दै जन्मिन्छ । यसरी जन्मिएका बच्चा शल्यक्रिया गरेर पाएका बच्चा भन्दा बलिया हुन्छन् । आमालाई पनि प्राकृतिक बाटोबाट बच्चा पाउँदा प्रसव व्यथा खप्नु परेपनि यो पीडाले मातृत्वको बोध गराउँछ । शल्यक्रिया गरेर बच्चा जन्माएको महिलाहरु शल्यक्रियापछि जुन दुःखाई र अफ्टयाराहरु सहनुपर्ने हुन्छ, त्यसको तुलनामा प्रसव व्यथा निकै कम हुन्छ ।