Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपालमा क्यान्सरका बिरामी पुरुष भन्दा महिला धेरै



काठमाडौं । नेपालमा क्यान्सर रोगका बिरामी पुरुषभन्दा महिला धेरै भेटिएका छन् । हाल ५६ हजार १३ जना क्यान्सरका बिरामी उपचाररत छन् ।

Cancer-cellभरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलले विश्व स्वास्थ्य संगठनको सहयोगमा नौ वर्ष लगाएर गरेको अध्ययनमा क्यान्सरका बिरामी पुरुषभन्दा महिला बढी भेटिएका हुन् । अध्ययनअनुसार उपचाररतमध्ये पुरुष २६ हजार एक सय आठ (४६.६ प्रतिशत) र महिला २९ हजार नौ सय पाँचजना (५३.४ प्रतिशत) छन् ।

भरतपुर क्यान्सर अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानांगले विकसित देशमा पुरुषमा बढी देखिए पनि नेपालमा महिला नै बढी भेटिएको बताए । महिलामा कम उमेरमै बिहे गर्ने तथा धेरै बच्चा जन्माउँदा पाठेघरको मुखको क्यान्सर हुने गरेको उनको भनाइ रहेको नयाँ पत्रिकामा खबर छ ।

जंकफुड, चिल्लो पदार्थको बढी सेवनले स्तन क्यान्सर देखिने गरेको पाइएको पनि प्रधानांगले बताए । पुरुषमा सबैभन्दा बढी देखिने फोक्सोको क्यान्सरमा धूम्रपान नै प्रमुख कारण भएको उनको भनाइ छ । यसबाहेक मुखको क्यान्सर, घाँटीको क्यान्सर, मिर्गाैलाको क्यान्सर, पिसाबथैलीको क्यान्सर बढी देखिनुमा सुर्तीजन्य पदार्थ सेवन प्रमुख कारक रहेको पाइएको छ ।

अध्ययनबाट मुख्य रूपमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आमाशयको क्यान्सर, रगतको क्यान्सर, घाँटीको क्यान्सर, दिसा गर्ने नलीको क्यान्सर र पिसाब थैलीको क्यान्सर देखिएको छ । ‘विकसित देशका पुरुषमा फोक्सो, आमाशय, प्रोस्टेट क्यान्सर र महिलामा स्तन, पाठेघरको मुख, कोलोन/रेक्टम क्यान्सर बढी देखिन्छ,’ प्रधानांगले भने, ‘हाम्रो अध्ययनले पनि पुरुषमा फोक्सो र आमाशयको र महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर बढी भएको देखाएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्