Logo
|
Thursday 18th April 2024
Logo

epaper

धमाधम राजीनामा दिँदै अस्पताल विकास समिति अध्यक्ष



स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि उठ्न अस्पताल विकास समितिका अध्यक्षहरूले धमाधम पदबाट राजीनामा दिन थालेका छन् । पाँच महिनाअघि ठूलै शक्ति प्रयोग गरेर अस्पताल विकास समितिको अध्यक्ष भएकाले जनप्रतिनिधि बन्न पदबाटै राजीनामा दिन थालेका हुन् ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि देशभरबाट शुक्रबारसम्म पाँचजनाले राजीनामा दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा। भोलाराम श्रेष्ठले अहिलेसम्म पाँचजनाले राजीनामा दिएको बताए । अध्यक्ष पदमा भन्दा जनप्रतिनिधिमा बसेर काम गर्दा विकास गर्न सकिने उद्देश्यले राजीनामा दिएको हुन सक्ने उनको भनाइ छ । ‘आजसम्म पाँचजनाले राजीनामा दिइसकेका छन्, अझै दुई दिन बाँकी रहेकाले बढ्न सक्ने सम्भावना छ,’ श्रेष्ठले भने ।

जनप्रतिनिधि भएर सेवा गर्न राजीनामा
महाकाली अञ्चल अस्पतालका अध्यक्ष भोजराज बोहराले जनताबाट निर्वाचित जनप्रतिनिधि भएर विकासमा लाग्न राजीनामा दिएको बताए । ‘म पाँच महिना अस्पताल विकास समितिको अध्यक्ष भएर काम गर्ने अवसर पाएँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘छोटो समयमा केही सुधारका काम भएका छन् । यसले मात्रै पुगेन, त्यसैले वेदकोट नगरपालिकाको समग्र विकास गर्न राजीनामा दिएको हुँ ।’ बोहरा कांग्रेसबाट वेदकोट नगरपालिकाको मेयरमा लड्ने भएका छन् । आफूले कुनै आग्रह–पूर्वाग्रहका आधारमा राजीनामा नदिएको उनले बताए ।

भोजपुर जिल्ला अस्पतालका अध्यक्ष गजेन्द्र कार्कीले पनि गाउँपालिका अध्यक्षको टिकट पाएपछि पदबाट राजीनामा दिएका छन् । अरुण गाउँपालिकाको अध्यक्षमा टिकट पाएपछि कार्कीले पदबाट राजीनामा दिएको बताए । आफूले तीन महिना मात्रै अस्पताल विकास समितिको अध्यक्ष भएको बताउँदै कार्कीले भने, ‘कुनै सुधारको काम गर्न नपाउँदै पदबाट राजीनामा दिनुपर्यो ।’ –नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्