Logo
|
Thursday 18th April 2024
Logo

epaper

बाढीले माइती घर बगाएपछि सुत्केरीको विजोग



 

अप्रेसन गरेर माइती बसेकी ममता एक्कासि बबई नदीको बाढीमा परेर अलपत्र परिन्। पोषिलो खाने र स्याहार सुसार पाउने बेलामा माइती घर बाढीले बगाएपछि उनी शिविरमा रात काट्न बाध्य भइन्। आफू बिरामी त थिइन् नै माइतीका सबै परिवार बिरामी भएपछि उनी थप पीडामा छिन्।

गुलरिया नगरपालिका ११ इन्द्रपुरस्थित गुलरिया—नेपालगन्ज सडकखण्डमा त्रिपालमुनि दिन गुजार्दै आएकी ममता भन्छिन्, ‘म त बिरामी नै थिएँ। बाढीका कारण घरका सबै परिवार बिरामी छन्।’ उनले बहिनीलाई देखाउँदै थपिन्, ‘दुई दिनदेखि ज्वरो आएर सुतिरहेकी छे।’

शिविरमा बस्नेहरू मात्र होइन बाढीसँग संघर्ष गरी घर फर्केकाहरू पनि बिरामी पर्न थालेका छन्। गुलरिया नगरपालिकास्थित सूर्यगौडी निवासी फातिमाले भनिन्, ‘दुई रात छिमेकीको छतमा बसेर ज्यान त जोगायौं, पानी पिउन पाएनौं। केही नलागेपछि बाढीकै पानी पिउनुपर्‍यो।’ टाउको माथिबाट धेरैपटक हेलिकोप्टर ओहोरदोहोर गर्‍यो। हात हल्लाएर पानी माग्यौं तर हाम्रो चित्कार कसैले सुनेन।’
बबई नदीको बाढीले घरबारविहीन भएकाहरू यतिखेर विभिन्न स्थानमा अस्थायी शिविरमा बस्दै आएका छन्। एक त वर्षात्को महिना त्यसमा पनि बाढी आएको अवस्था। यस्तो अवस्थामा धेरै शिविरका पीडित बिरामी पर्न थालेका छन्। जिल्ला दैवी प्रकोप उद्धार समिति बर्दियाका अनुसार बर्दियाका २८ स्थानमा अस्थायी शिविरमा बाढीपीडित बस्दै आएका छन्।

बर्दियाको गुलरिया, ठाकुरबाबा, बाह्रबर्दिया, मधुवनलगायत राजापुर नगरपालिकाका विभिन्न विद्यालय, सरकारी कार्यालय, सडक र सामुदायिक भवनमा बाढीपीडित रात गुजार्दै आएका छन्। समितिका अनुसार ७ सय ८६ घरका ४ हजार ७७० जना विस्थापित अस्थायी शिविरमा बस्दै आएका छन्।

शिविरमा हिलो, फोहर, लामखुट्टेलगायत दूषित पिउने पानीका कारण पनि एक्कासि रोग देखा परेको चिकित्सकले बताएका छन्।जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक सुनिल पाण्डे भन्छन्, ‘जनस्वास्थ्यका हिसाबले संक्रमणकालीन अवस्था भएकाले सबैजना सजग हुनु जरुरी छ।’

उनले भने, ‘हामीले बिरामी भएका स्थानमा स्वास्थ्य शिविरमार्फत उपचार गरेका छौं। आवश्यक औषधिलगायत महामारीजन्य प्रकोप हुन नदिन सतर्क अवस्थामा छौं।ुबाढीका समयमा मरेका जनावर, मानिसलगायत बगेर आउने र पिउने पानीमासमेत कीटाणु हुने भएकाले संक्रमणको समस्या बढी रहन्छ।

उनले थपे, ‘सरसफाइमा ध्यान दिँदै पिउने पानी उमालेर, पिउस मिसाएर स्वच्छ बनाई पिउनुपर्छ।’ सबैले सरसफाइमा ध्यान नदिए महामारीसमेत फैलिन सक्नेतर्फ पाण्डेले सचेत पारे।
स्रोतः अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्