Logo
|
Thursday 25th April 2024
Logo

epaper

डा केसीको स्वास्थ्य गम्भीर हुँदै, वार्ता सकारात्मक



चिकित्सा शिक्षा र सेवामा सुधारका माग राखी ११ दिनदेखि आमरण अनशन बसिरहेका प्रा डा गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच आइतबार भएको वार्ता निष्कर्षमा पुग्न नसके पनि सकारात्मक भएको छ ।

डा केसीका सातवटै मागका विषयमा वार्तामा विस्तृत छलफल भएको जानकारी दिँदै केसी पक्षबाट वार्तामा सहभागी डा वाईपी सिंहले भने, ‘दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा गइरहेको छ, यस्तै ‘स्पिरिट’ कायम रहे एकरदुई दिनमै कुनै टुंगोमा पुग्न सकिन्छ ।’

डा केसीको मुख्य माग चिकित्सा शिक्षा विधेयक प्रमुख दलहरूबीच असमझदारीका कारण संसदबाट पारित हुन सकेको थिएन । उक्त विधेयकलाई सहमतिमा अध्यादेशका रूपमा जारी गर्ने विकल्पबारे छलफल भएको सरकारी वार्ता टोलीका एक प्रतिनिधिले जनाए ।

‘हामीले चिकित्सा शिक्षा विधेयकलाई हालको बदलिएको परिस्थितिमा वैकल्पिक रूपमा कसरी अघि बढाउन सकिन्छ भन्नेबारे समेत विस्तृत छलफल गर्‍यौं,’ ती सरकारी अधिकारीले भने, ‘मेडिकल कलेजले सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी लिन नपाउनेलगायत जनसरोकारसँग जोडिएका मागमा दुवै पक्षबीच धेरै सकारात्मक छलफल भएको छ ।’

डा केसीका अर्का प्रतिनिधि डा अभिशेकराज सिंहका अनुसार सरकारी टोलीले आइतबारको वार्तामा भएको सहमतिअनुसार गृहकार्य गरेर प्रस्तुत भए सोमबारको वार्ता निर्णायक हुन सक्छ । अर्को वार्ता सोमबार बिहान १० बजे हुने जानकारी उनले दिए ।

यता, ११ दिनदेखि १३ औं आमरण अनशनमा रहेका डा केसीको स्वास्थ्य गम्भीर बन्दै गएको चिकित्सकहरूले बताएका छन् ।

डा केसीलाई जुनसुकै बेला आकस्मिक अत्यावश्यक स्वास्थ्य उपचार चाहिन सक्ने अवस्थाको आकलन गरेर चिकित्सकहरू तम्तयार अवस्थामा छन् ।

अक्सिजनको सहारामा रहेका डा केसीलाई बोल्दा रिंगटा लाग्ने, पसिना आउने समस्यासँगै रक्तचापमा समेत कमी देखिएको छ ।

डा केसीको रगतमा क्याल्सियमको मात्रा निकै कमी देखिएपछि मुटुको चाल बिग्रन सक्ने सम्भावनासमेत बढेको छ । क्याल्सियमको सम्बन्ध मुटुको चालसँग हुने भएकाले उनको स्वास्थ्यलाई नजिकबाट अवलोकन गरिरहेका चिकित्सकहरू थप चिन्तित छन् ।

रगतमा सेतो रक्तकणिकाको संख्या ३ हजारभन्दा कम भएपछि डा केसीलाई भविष्यमा हुन सक्ने जटिल संक्रमणको जोखिमसमेत अत्यधिक वृद्घि भएको छ ।कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्