Logo
|
Thursday 2nd May 2024
Logo

epaper

डा केसी सरकार वार्ता अवरुद्ध



अनशनरत डा गोविन्द केसी पक्ष र सरकारबीचको वार्ता सकारात्मक रूपमा अघि बढेको बताइरहेका बेला एक्कासी अवरुद्ध भएको छ। सहमतिका लागि पछिल्लो दुई दिनदेखि सक्रिय डा केसी पक्ष र सरकारी टोलीले आ—आफ्ना अडान नछाडेपछि मंगलबार वार्ता अवरुद्ध भएको हो। सरकारी वार्ता टोलीका सदस्य एवं निमित्त शिक्षा सचिव डिल्ली रिमालले आफूहरू दिनभर वार्ताका लागि प्रतीक्षा गर्दा पनि डा केसी पक्ष वार्ताका लागि नआएको बताए।

डा केसी पक्षका डा अभिषेक सिंहले भने मौखिक रूपमा माग पूरा गर्न सरकारी पक्ष सहमत भए पनि सहमति कार्यान्वयनका लागि कुनै लिखित ‘ग्यारेन्टीु नपाएकाले वार्ता अघि बढ्न नसकेको बताए। ‘सोमबार राति दुवै पक्षबाट तयार पारिएको सहमतिको ड्राफ्टलाई डा केसीले अस्वीकार गर्नुभयोु, डा अभिषेकले भने, ‘उहाँले आफ्ना मागबारे स्पष्ट पार्न सरकारी वार्ता टोलीलाई मंगलबार अनशनस्थलमै बोलाउनुभएको थियो। तर, उहाँहरू आउनुभएन, त्यसैले वार्ता रोकिन पुग्यो।
डा केसीसँग यसअघि भएको सम्झौताअनुसार एमबीबीएस तहको शुल्क कार्यान्वयन गर्न र त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट खोसेको अधिकार फिर्ता गर्ने विषयमा सरकारले ‘ग्यारेन्टीु गर्न नमानेकाले वार्ता अवरुद्ध भएको केसी पक्षको आरोप छ।

माफियासँगको मिलेमतोमा अर्बौको चलखेल गरेको भन्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजू र डिन राजेन्द्र कोजूलाई बर्खास्त गर्नुपर्ने र अनियमिततापूर्वक धेरै शुल्क तोक्ने तथा खाली भवनलाई एमबीबीएसको सम्बन्धन दिने त्रिवि पदाधिकारीहरू बर्खास्त गर्नुपर्ने डा केसीको माग कार्यान्वयनबारे प्रधानमन्त्रीसँग छलफल गर्न आवश्यक रहेको भन्दै सरकारी टोली पन्छिएको आरोप डा केसी पक्षले लगाएको छ। डा केसीका अन्य माग कार्यान्वयनका लागि सरकार तयार भएको छ।

डा केसीले माथेमा प्रतिवेदन तथा आफ्ना सुझावअनुरूप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने मुख्य माग राखेर १३ औं पटक अनशन थालेका थिए। विधेयक पेस नगरी संसद् अधिवेशन सकिएपछि उनको माग ओझेल परेको छ।

डा केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन(अध्यापन सुरु गर्न बजेट व्यवस्था गर्नुपर्ने, कैलाली, दाङ, डोटी,डडेल्धुरा, धनुषा,महोत्तरी, उदयपुर, पाँचथर र
तेह्रथुमलगायत ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अगाडि बढाउन माग अघि सारेका छन्।

सरकारले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने भन्दै डा केसी पटकपटक अनशन बस्दै आएका छन्। अहिलेको अनशनमा डा। केसीको स्वास्थ्य अवस्था सबैभन्दा नाजुक भएको डा अभिषेकले बताए। अन्नपूर्णपोष्ट

प्रतिक्रिया दिनुहोस्