Logo
|
Wednesday 27th November 2024
Logo

epaper

स्तन क्यान्सरको उपचार नेपालमै



धेरैले आज पनि क्यान्सर रोगलाई मृत्युसँग दाँज्छन् । क्यान्सर शब्द सुन्दा जति भयानक लाग्छ, त्यति डराउन आवश्यक नरहेको चिकित्सकहरू बताउँछन् ।

स्तन क्यान्सर रोग विशेषज्ञ डा। कपेन्द्रशेखर अमात्य भन्छन्, ‘समयमै उपचार नगर्दा यो रोग मृत्युको कारण बन्न पुगेको हो, पहिलो चरणमै उपचार गरे पूर्ण निको हुन्छ ।’ अधिकांश क्यान्सर रोगी नेपालको उपचारमा विश्वास नगरेकै कारण उपचारका लागि बढी भौंतारिरहेको उनले बताए । ‘अहिले यसको सम्पूर्ण उपचार नेपालमै सम्भव छ, बिरामीको भने भारततिर मात्रै आकर्षण छ । कति बिरामी उताको उपचारबाट सन्तुष्ट नभएपछि मात्रै नेपालमा उपचारका लागि आउँछन्,’ उनले भने, ‘यसबारे प्रचारप्रसार आवश्यक छ ।’

काठमाडौं नारायणस्थानकी मीना तुलाधार स्तन क्यान्सरकी बिरामी हुन् । उनले आफूलाई ८ वर्षअघि क्यान्सर भएको सुनाइन् । ‘नुहाउँदा छातीमा केराउको गेडोजस्तो गिर्खा भेटाए । क्यान्सरको शंका लाग्यो, उतिखेरै मृत्यु नजिकिएको महसुस गरें,’ तुलाधारले भनिन् । महाराजगन्जको त्रिवि शिक्षण अस्पतालमा मेमेग्रामपछि उनको शंका विश्वासमा बदलियो । उनलाई स्तन क्यान्सर भएको रहेछ । रोगबारे थाहा हुनासाथ उनले उपचारका लागि भारतको दिल्ली जाने तयारी गरिन् । ‘एक त क्यान्सरको उपचार हुन्छ भन्ने मलाई थाहै थिएन, अर्को नेपालमा सम्भव होला भन्ने त मैले सुनेको पनि थिइनँ,’ उनले भनिन् । दिल्लीमा गएर उनले स्तनको शल्यक्रिया गरिन् । उपचार खर्च ३० लाख लागेको पनि उनले सुनाइन् । उनी भन्छिन्, ‘नेपालमै उपचार हुन्छ भन्ने जानकारी नहुँदा आर्थिक भार त पर्‍यो नै ।’

नेपालमा सरकारले क्यान्सर रोगीको उपचारमा १ लाख रुपैयाँ अनुदान दिने गरेको छ । महँगै अस्पतालमा उपचाररशल्यक्रिया गरे पनि ५ लाखमा उपचार हुने चिकित्सकहरू बताउँछन् । क्यान्सर रोग विशेषज्ञ डा। सुदीप श्रेष्ठ भन्छन्, ‘बिरामीले नेपालमै उपचार गर्ने वातावरण सिर्जना गर्न सरकारले अभियान चलाउन आवश्यक छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष प्रत्येक १ लाखमध्ये ८ महिलामा स्तन क्यान्सर देखापर्छ । जसमध्ये ६ जनाको मृत्यु हुने संगठनको तथ्यांक छ । नेपालको सरकारी तथ्यांकअनुसार हरेक २२ महिलामध्ये एक जना स्तन क्यान्सरबाट पीडित छन् । विकसित मुलुकहरूमा ५० उमेर कटेका महिलामा स्तन क्यान्सर देखिन्छ । तर, नेपाललगायत विकासोन्मुख मुलुकका महिलामा भने ४० वर्षकै उमेरमा यो रोग लाग्ने गरेको डा। श्रेष्ठ बताउँछन् ।

स्तन क्यान्सर के कारणले हुन्छ भन्ने यकिन अझै हुन सकेको छैन । तर, ५ प्रतिशतलाई भने वशांणुगत कारण देखापरेको डा। अमात्य बताउँछन् । ‘यो रोग ठूलो होइन, रोगबारे मानिसहरूको धारणा नै गलत छ, ‘उनले भने, ‘स्तन महिलाको सौन्दर्यसँग पनि जोडिएकाले उनीहरू शल्यक्रिया गर्न डराउँछन्, कति काटेर फाल्न मान्दैनन् ।’ स्तन क्यान्सर निवारणका लागि नयाँ प्रविधि भित्रिएसँगै अब क्यान्सरबाट पीडित महिलाले स्तन काटेर फाल्नुपर्ने समस्या सुल्झिएको छ ।

‘विश्वभर स्तन बचाऊ’ अभियान चलिरहेको छ । शल्यक्रिया गरी स्तन काटेपछि अधिकांशलाई मानसिक रोगले समात्ने गरेको डा। अमात्य बताउँछन् । ‘यसका लागि धेरै पैसा खर्चेर विदेश जानु पनि पर्दैन, नेपालका केही अस्पतालले यो सेवा सुरु गरिसकेका छन्,’ उनले भने । ४० वर्ष कटेका महिलाले नियमित स्तन परीक्षण गराउनुपर्ने चिकित्सकहरू सुझाउँछन् । स्तनको रङ र आकारमा परिवर्तन हुनु, मुन्टोबाट तरल पदार्थ बग्नु या स्तन वरिपरि गाँठागुठी देखा पर्नु क्यान्सरका लक्षण हुन् ।कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्