Logo
|
Saturday 20th April 2024
Logo

epaper

एचआइभीको शंका भए औषधि निःशुल्क



अब एचआइभी संक्रमणको शंका लागेमा तत्कालै चिकित्सकसँग सल्लाह गरी देशका विभिन्न ठाउँमा रहेका एआरटी सेन्टरबाट औषधि सेवन गर्न पाइन थालेको छ । सरकारले एचआइभी संक्रमण भएको प्रमाणित भएका व्यक्तिलाई एआरटी उपचार दिन सुरु गरेको लामै समय भयो । तर, एचआइभी सर्ने जोखिमयुक्त काम गरेर संक्रमणको डर भएका व्यक्तिले पनि औषधि खान पाउने व्यवस्था सुरु भएको हालै मात्रै हो।

‘सरकारले त्यस्ता व्यक्तिलाई पनि औषधि दिन मिल्ने नीति ल्याएको भर्खर हो । हामीसँग औषधि पनि आएको छ । तर, यसका बारेमा जानारी नभएर होला कोही माग्न भने आएका छैनन्,’ भरतपुर अस्पतालमा रहेको एचआइभी उपचार गर्ने एआरटी सेन्टरका प्रमुख डा।उन्नत श्रेष्ठले भने । डा।श्रेष्ठका अनुसार यो औषधि सामान्य व्यक्तिले माग्दैमा पाउने होइन । तर एचआईभी संक्रमणको खतरा हुने काम गरेकाहरूलाई भने दिइने उनले बताए।

‘जस्तै कोही व्यक्ति संक्रमित छैन तर उसले यौन सम्पर्क गर्ने साथी भने एचआइभी भएको छ । त्यस्तो व्यक्तिले औषधि खाएका संक्रमण हुने खतरा कम हुन्छ । हामी त्यस्तालाई पनि औषधि दिन्छौं,’ डा। श्रेष्ठले भने । खास गरेर समलिंगी यौन व्यवहार गर्नेहरूलाई यस्तो औषधि दिने गरेको उनले जानकारी दिए । तर, औषधि खाँदैमा एचआइभी सर्दै नसर्ने भन्ने ग्यारेन्टी चाँही नहुने उनले बताए । यसले संक्रमणको दर भने घटाउँछ।

त्यस्तै संक्रमितको सम्पर्कमा आएर आफूलाई पनि संक्रमण भयो कि भन्ने आशंका गर्नेलाई पनि औषधि दिने नीति बनेको डा। श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पहिला संक्रमितको उपचारमा संलग्न चिकित्सकले यस्तो औषधि खान्थे । उपचार गर्दा औजारले काट्ने घोच्ने गरेमा चिकित्सकले सुरक्षित हुन भन्दै लिने गरेको औषधि अब अन्य सर्वसाधरणले पनि पाउँछन्।’

बलात्कारमा परेका महिलालाई समेत यस्तो औषधि दिने व्यवस्था भएको उनले बताए । ‘संक्रमितले नै बलात्कार गरेको हुन सक्छ । त्यस्तो बेला पीडितलाई संक्रमण नहोस भन्नका लागि औषधि दिने व्यवस्था बनेको छ’ डा।श्रेष्ठले भने । संक्रमणको जोखिम हुने काम गरेको ७२ घन्टाभित्र चिकित्ससँग सम्पर्क र सल्लाह गरेर औषधि खानु पर्छ । लगातार २८ दिन औषधि खानु पर्ने डा। श्रेष्ठले बताए।

एड्स हेल्थ केयर फाउण्डेशन ९एएफएच० नामक अन्तराष्ट्रिय संस्थाको सहयोगमा सन् २००७ देखि भरतपुर अस्पतालमा एआरटी सेन्टर सुरु भएको हो । त्यसयता गएको सेप्टेम्बर ३० सम्म सो सेन्टरमा एक हजार चार सय ६९ जना एचआईभी संक्रमितले नै नाम दर्ता गराएका छन् । तीमध्ये सात सय ४८ जनाले सोही केन्द्रबाटै अहिलेसम्म नियमित औषधि खाँदै आएका छन्।

‘अरुले पनि नखाएको भन्ने होइन । दर्ता यहाँ भए पनि पायक पर्ने जिल्लामै गएर औषधि खाने गरेका कारण संख्या कम देखिएको हो,’ एएफएच नेपालका वरिष्ठ क्षेत्रीय परियोजना कोअर्डिनेटर कृष्णहरि सापकोटाले भने । पहिला संक्रमित हुँदैमा एआरटी सुरु गरिदैनथ्यो । रगत परीक्षण गरी सीडीफोर भन्ने तत्वको मात्रा हेरर कम भएमा मात्रै औषधि दिने गरिन्थ्यो । तर अहिले त्यसो नगरी परीक्षणबाट प्रमाणित हुनेलाई तत्कालै दिइन्छ।

‘यो औषधि बाँचुन्जेल लगातार खानु पर्छ । संक्रमित भएको प्रमाणित भएपछि अरु थप केही परीक्षण नगरी औषधि सुरु गर्न सकिन्छ । तर औषधि नियमित खाने बनाउन व्यक्तिलाई हामी लामो समय परामर्श दिने गर्छौ,’ सापकोटाले भने । डा।उन्नत श्रेष्ठका अनुसार औषधि लगेर नियमित नखाए त्यस्ता व्यक्तिबाट अरु संक्रमित भएमा नयाँ संक्रमित व्यक्तिलाई एआरटीले काम गर्दैन । त्यसैले निकै सावधानी अपनाउनु पर्छ।

देशका ६८ ठाउँमा एआरटी सेन्टरहरु छन् । यी सेन्टरमा गएपछि सबै खालका औषधि मात्रै नभएर परीक्षण सेवा पनि निःशुल्क उपलब्ध हुने डा। उन्नत श्रेष्ठले जानकारी दिए । सुईबाट लागू औषध लिने व्यक्ति, महिला यौनकर्मी, यौनकर्मीका ग्राहक, समलिंगी यौन कार्यमा संलग्न व्यक्ति र कामका लागि देश विदेश ओहरदोहर गर्ने व्यक्ति एचआइभी संक्रमणको जोखिममा छन्।

असुरक्षित यौन व्यवहार र संक्रमितले प्रयोग गर्ने छाला छेड्ने औजार प्रयोग गर्दा एचआइभी सर्ने खतरा हुन्छ । पहिलापहिला यसलाई डर लाग्दो रोगको रूपमा लिने गरिन्थ्यो । एचआइभी भएका व्यक्तिलाई समाजले हेला र घृणा गर्दथे । तर, अहिले अवस्था निकै परिवर्तन भएको २२ वर्षअघि एचआइभी नियन्त्रणको क्षेत्रमा सक्रिय भएका चितवन जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत रामहरि न्यौपानेले बताए । ‘एचआइभी संक्रमण भयो भने त्यो मान्छे चाँडै मर्छ । धेरै बाँचे १० वर्ष हो भन्ने जमाना पनि थियो । उपचारै छैन भनिन्थ्यो । तर अहिले अवस्था अर्कै छ । २२ वर्षअघि मैले काम गर्दा फेला परेका संक्रमित अझैसम्म समान्य जीवन बाँचेकै छन् । औषधि भने नियमित खानुप¥यो,’ न्यौपानेले भने । नेपालमा ३२ हजार सात सयभन्दा धेरैलाई एचआइभी संक्रमण भएको अनुमान छ।

तर परीक्षण गरेर एचआइभी भएको प्रमाणित भएकाहरू सन् २०१६ सम्म १८ हजार एक सय ३० जना मात्रै रहेको एएफएचका कृष्णहरि सापकोटाले जानकारी दिए । यो देशभरको संख्या हो । उनका अनुसार तीमध्ये १३ हजार ६९ जनाले एआरटी सेवा लिएका छन् । तर नियमित औषधि खाने ११ हजार तीन सय १८ जना मात्रै छन् । औषधि खान थालेको छ महिनापछि भाइरसको अवस्था के छ भन्ने परीक्षण हुन्छ।

औषधि खान थालेकामध्ये सात हजार जनाले यस्तो परीक्षण गरेको सापकोटाको भनाइ छ । तीमध्ये अधिकांश संक्रमितमा भाइरसको अवस्था नियन्त्रणमा रहेको पाइएको थियो । सरकारले जोखिममा रहेको समुहमा परीक्षण गर्ने, परीक्षणबाट एचआईभी संक्रमित भएको भेटिएमा उपचार सुरु गर्ने र सन् २०३० सम्म एचआइभीलाई निमूल बनाउने योजना बनाएको सापकोटाले जानकारी दिए । नागरिकन्यूजबाट

प्रतिक्रिया दिनुहोस्