Logo
|
Tuesday 16th April 2024
Logo

epaper

‘आफैं जाँचौं स्तन क्यान्सर



एक अनुसन्धानका अनुसार प्रत्येक २ मिनेटमा १ महिला स्तन क्यान्सरको सिकार हुन्छन् । नेपालमा १ लाखमा वार्षिक ४ महिलाको स्तन क्यान्सरकै कारण मृत्यु हुन्छ । बेलैमा पत्ता लागे उपचार सम्भव भए पनि लोकलाजकै कारण रोग लुकाउँदा यो रोगको समस्या जटिल बनेको हो । 

क्यान्सर लागे/नलागेको घरैमा पत्ता लगाउन सकिने भए पनि सामान्य हेलचेक्रयाइँले गर्दा मृत्युको मुखसम्म पुग्नुपर्छ । हरेक वर्ष अक्टोबरलाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा विश्वव्यापी विविध कार्यक्रम गरी मनाइन्छ । नेपाल स्तन क्यान्सर फाउन्डेसनले पनि पोखरामा ‘पिंक रिबन पैदलयात्रा’ गरेको छ । स्तन क्यान्सरविरुद्ध सचेतना जगाउन शनिबार आयोजित पैदलयात्रामा हजार बढी गुलाबी रंगका टिसर्ट लगाएका युवती सडकमा ओर्लिए । ‘क्यान्सर पत्ता लगाऔं, उपचारमार्फत रोकौं र रोगीको सहायता गरौं’ भन्दै पैदलयात्रीले पोखरा परिक्रमा गरे ।

पोखरा सभागृहबाट सुरु र्‍याली न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पुन: सभागृहमै पुगेको थियो । पैदलयात्राका सहभागीले सभागृह परिसरमा जुम्बा नृत्य पनि प्रस्तुत गरे । फाउन्डेसनकी अध्यक्ष डा. सुजिता हिराचनले स्तन क्यान्सरबारे सर्वसाधारणमा पर्याप्त जानकारीको अभाव रहेको बताइन् । ‘बर्सेनि स्तन क्यान्सरका बिरामी बढ्दै गएका छन्,’ उनले भनिन्, ‘त्यसैले यसबारे पर्याप्त जानकारी गराउन जरुरी छ ।’ नेपालमा हरेक वर्ष ५ हजारका दरले स्तन क्यान्सरका बिरामीमा बढिरहेको उनले जानकारी दिइन् । स्तन क्यान्सरको सुरुवाती लक्षण आफैंले थाहा पाउने सकिने भएकाले बेलैमा रोग पत्ता लाग्न सक्ने उनले जनाइन् । ‘ठूलो ऐनाअगाडि उभिएर आफ्नो दुबै हात कम्मरमा राखेर स्तनको आकार, रङ, सुन्निएको छ/छैन हेर्नुपर्छ,’ स्तन क्यान्सर पत्ता लगाउने विधि सुनाउँदै उनले भनिन्, ‘यदि स्तन सुन्निएको, रङ परिवर्तन तथा मुन्टा स्तन तिरै फर्केको भए तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।’ बेलैमा रोग पत्ता लागे चिकित्सकको निगरानीमा निको हुने उनले कार्यक्रममा बताइन् ।

महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखमा हुने क्यान्सर पछि धेरै हुनेमा स्तन क्यान्सर हो । आधुनिक जीवनशैली, खानपान, अत्यधिक चिन्ताजस्ता कारणले स्तन क्यान्सरको जोखिम बढेको कार्यक्रममा सहभागीले बताए । पदयात्रामा सहभागी शान्ति उदासले महिलाले रोग लुकाएर बस्नेभन्दा पनि खुलस्त भएर कुराकानी गर्नुपर्नेमा जोड दिइन् । यस्ता सचेतनामूलक कार्यक्रमले सर्वसाधरणलाई स्वास्थ्यप्रति जागरुक हुन प्रेरित गर्ने उनी बताउँछिन् ।

फाउन्डेसनका अनुसार अक्टोबरभर सर्वसाधारणले स्तन क्यान्सरबारे धेरैभन्दा धेरै सचेत होऊन् भन्ने लक्ष्य राखिएको छ । नेपालमा चौथोपटक आयोजना भएको सचेतनामूलक पैदलयात्रा पोखरामा पहिलोपटक भएको हो ।कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्