सरकारले हतोत्साही गरेको गैरसरकारी अस्पताल सञ्चालकहरुको भनाइ
गैरसरकारी अस्पताल सञ्चालकहरुले सरकारले आफूहरुलाई निजी स्वास्थ्य संस्था सो—सरह व्यवहार गरेर हतोत्साही गरेको भन्दै दःुख व्यक्त गरेका छन् । उनीहरुले सेवा मूल्यको आधारमा अस्पतालमा रोग डायग्नोस्टिक र उपचारका लागि ल्याइने मेडिकल उपकरण आपूर्तिमा सहुलियत दिँदै आएको सरकारले अहिले भन्सार र ट्याक्स लगाएर हतोत्साही गरेको बताएका छन् । उनीहरुले यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पुन सहुलियत दिनुपर्नेमा जोड दिएका छन् । एसोसिएसन अफ नन गभर्मेन्ट हस्पिटल (एन्घोस) नेपालको १४ औं बार्षिक साधारण बैठकमा एन्घोसका अध्यक्ष भरत प्रधानले संस्था नविकरणमा समस्या, सुरक्षाको अभाव, रजिष्ट्रेसनमा समस्या भएको जानकारी दिनुभयो । कार्यक्रममा एन्घोसका महासचिव वरिष्ठ नेफ्रोलोजिष्ट डा. ऋषीकुमार काफ्लेले सरकारले नयाँ संस्था खोल्न र भएका पुराना गैरसरकारी अस्पतालहरुलाई प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनीले अहिले अस्पतालहरुमा शुल्क संरचनामा मनोमानी भएको बताउनुभयो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका नेता एवं संसदको स्वास्थ्य तथा शिक्षा समितिका सदस्य योगेश भट्टराईले गैसरकारी अस्पतालहरुको समस्या समाधानका लागि आफू लागिपर्ने आवश्वासन दिनुभयो ।